नवलपरासी (पश्चिम) । बर्दघाट नगरपालिका वडा नम्बर ६ का किसान उमानाथ चौधरी मल नपाएर चिन्तित हुनुहन्छ्न । उहाँ मात्रै होईन अहिले मल नपाएर पश्चिम नवलपरासीका धेरै किसानहरु चिन्तित छ्न् ।
"रातभर लाइनमा बसे पनि आवश्यक मल पाइएन", यो किसानहरुको दैनिक गुनासो बनेको छ । खेतीपातीको सिजनमा आवश्यक पर्ने मल नपाएर किसानहरुले खेतमा पसिना साटेर माटो जोते पनि उर्वरको कमीले उत्पादन घट्ने चिन्ता उनीहरुको साझा व्यथा बनेको छ ।
नवलपरासीका किसानहरुले लामो समयदेखि मल अभावका कारण सास्ती खेपिरहेका छन् । कतिपय किसानहरु बिहानदेखि बेलुकीसम्म लाइनमा उभिन बाध्य छन्, तर हात खाली फर्किनुपरेको छ । "कसैले पनि हाम्रो समस्या गम्भीरतापूर्वक सुनेनन्, यति ठूलो संकट हुँदा पनि पहल गर्ने कोही थिएन," चौधरीले दुःख पोख्नु भयो ।
तर, पछिल्लो केही दिनयता किसानको पीडा सुन्ने आवाज बलियोसँग उठेको छ । जनप्रतिनिधिहरुप्रति आलोचना बढेपछि केहि जनप्रतिनिधिहरु सक्रिय बन्न पुगेका छन् । जिल्लाका स्थानीय तहका प्रमुख, पालिकाका प्रतिनिधि र प्रदेश सभासद्हरुले कृषि सामग्री कम्पनीको भैरहवा कार्यालय र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमै पुगेर पहल गरेका बिहीबार नवलपरासीमा थप मल भित्रिएको छ ।
कति मल आयो?
बिहीबार दिउँसोसम्म ८३ मेट्रिक टन युरिया र ८४ मेट्रिक टन डिएपी नवलपरासीमा ल्याइएको कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख ताराप्रसाद खनालले जानकारी दिनुभयो।
खनालकाअनुसार हालसम्म प्रदेश कार्यालयले ३ सय १५ मेट्रिक टन युरिया मल पठाउने प्रतिबद्धता जनाएको छ । सोमध्ये ८३ मेट्रिक टन नवलपरासी आइपुगेको छ भने बाँकी २३२ मेट्रिक टन क्रमशः आउने तयारीमा छ । "यो मल अन्य जिल्लालाई तोकिएको कोटाबाट काटेर नवलपरासी पठाइएको हो," खनालले भन्नुभयो।
पालिकामा कोटा वितरण
प्रदेश कार्यालयले पठाएको मललाई कृषि सामग्री कम्पनीले कोटा तोकेर सम्बन्धित पालिकामा पठाएको छ ।
रामग्राम नगरपालिका - ६१.५५० मेट्रिक टन
सुनवल नगरपालिका – ४३.४०० मेट्रिक टन
बर्दघाट नगरपालिका – ४०.००० मेट्रिक टन
सरावल गाउँपालिका – ४४.५०० मेट्रिक टन
पाल्हीनन्दन गाउँपालिका – ३३.८५० मेट्रिक टन
प्रतापपुर गाउँपालिका – ५१.१५० मेट्रिक टन
सुस्ता गाउँपालिका – ४०.५५० मेट्रिक टन
यसअघि साउन १९ गते २ सय १५ मेट्रिक टन युरिया आएको थियो, जसको ७० मेट्रिक टन अझै किसानको हातमा पुग्न बाँकी छ । सोका लागि सम्बन्धित ३ वटा सहकारीले रकम भुक्तानी गरिसकेको कम्पनी प्रमुख खनालले जानकारी दिनुभयो ।
किसानको गुनासो र राहत
युरिया र डिएपी मलको आपूर्ति भएपछि किसानहरुमा केही मात्रामा राहत महसुस भएको छ । तर, किसानहरुको भनाइ छ-"अहिले आएको मल पनि पर्याप्त छैन, खेतीमा प्रयोग गर्न सकिने मात्रामा तत्काल आपूर्ति हुनुपर्छ ।" सिजनमा आवश्यक मल नपाउँदा उत्पादन घट्ने मात्र नभई खेतीप्रति किसानको उत्साह समेत मारिने गरेको उनीहरुको गुनासो छ ।
नवलपरासीका किसानलाई तत्कालीन राहतका लागि ३ सय १५ मेट्रिक टन युरिया पठाइए पनि किसानहरुको दीर्घकालीन समस्याको समाधान भने अझै टाढा छ। खेतीपातीको सिजनमा हरेक पटक यस्तो हाहाकार नहोस् भन्ने सुनिश्चितता अझै कायम भएको छैन । कृषि नै प्रमुख पेसा रहेको यस जिल्लामा किसानको पीडा वास्तविक अर्थमा सुन्ने र समाधान गर्ने राज्यको दायित्व अझै पनि अपूरो छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच