काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोल्नुभएको छ । बिहीबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूको उपस्थितिमा भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यक्रम भनिए पनि राजनीतिक गतिविधि अघि बढाउन भण्डारीले सम्पर्क कार्यालय खोल्नुभएको हो ।
भण्डारी समूहले थापागाउँमा चार तले भवन भाडामा लिएको छ । झण्डै तीन दशकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारी समूहले पनि कार्यालय खोलेको हो । पूर्वराष्ट्रपति भण्डारीनिकट एक नेताले भने, ‘२०४८ सालमा मदन भण्डारीले काठमाडौंमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्ने तयारी हुँदै छ ।’
मदन भण्डारी फाउन्डेसनकै प्रयोग गरेर नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक गतिविधि अघि बढ्ने योजना बनाउनुभएको छ । त्यसका लागि भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’समेत गठन भएको छ । त्यसैको माध्यमबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने पूर्वराष्ट्रपति भण्डारीको योजना छ ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक गतिविधिप्रति पार्टी संस्थापन पक्ष रुष्ट छ । पछिल्लो केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । यस्तै, केन्द्रीय कमिटीले भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णयसमेत गरेको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीले एमालेको असहयोगका बीच पार्टीभित्र राजनीतिक गतिविधि सञ्चालन गरिरहेका बेला तीनजना पदाधिकारीले साथ दिएका छन् । अध्यक्ष केपी ओलीको मातहतको कमिटीका तीन पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले साथ दिएका हुन् ।
भण्डारीले बिहीबार सम्पर्क कार्यालय उद्घाटन गर्न काठमाडौंको थापागाउँमा आयोजना गरेको कार्यक्रममा पोखरेल, ज्ञवाली र पाण्डे सहभागी भएर पूर्वराष्ट्रपतिसँगै भएको सन्देश प्रवाह गर्नुभएको छ । नेता ज्ञवाली र पाण्डेले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीति गर्न रोक लगाउन नहुने धारणा राखेका थिए । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि भण्डारीलाई साथ दिँदै आउनुभएको छ । मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको थियो ।
म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन : विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी गर्नुभएको छ । अहिले एमाले के न हो भन्ने परिरहेको भन्दै उहाँले ब्राण्डजस्तै बनाउन खोजिएको टिप्पणी गर्नुभयो । माले र माक्र्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत माक्र्सवादी लेनिनवादी (एमाले) भएको उल्लेख गर्दै भण्डारीले भन्नुभयो, ‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत माक्र्सवादी, लेनिनवादी हो । कम्युनिष्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुण्ड्यायो । हामी माक्र्सवाद, लेनिनवाद मान्छौं भनेका हौँ । माक्र्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र माक्र्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत माक्र्सवादी लेनिनवादी भएको हो । अहिले एमाले भनेको एउटा ब्राण्डजस्तो भएको छ । खासमा नेपाल कम्युनिष्ट पार्टी ।’ भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको स्पष्ट पार्नुभयो । पार्टीले आफूलाई रोक्न खोजे पनि निरन्तर काम गरिरहने उहाँको भनाइ छ ।
राज्य संयन्त्र प्रणालीमा सञ्चालन नभएको टिप्पणी
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरू जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । आफूले अहिले दलहरूले गरेका काम कारबाहीबारे सबै कुरा नजिकबाट हेरिसकेको उल्लेख गर्दै भण्डारीले भन्नुभयो, ‘राजनीतिक दलहरूले देशमा सुशासन प्रवद्र्धन गर्नुपर्ने हो । संस्थागत हिसाबले सिष्टम र प्रणालीमा जान सकेका छैनन् । राज्य संयन्त्र पनि प्रणालीमा सञ्चालनमा हुन सकेका छैनन् ।’ पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको समेत टिप्पणी गर्नुभएको छ । संसद नै निरीह थलो बनेर बसिरहेको टिप्पणी गर्दै भण्डारीले भन्नुभयो, ‘पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर, संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन ।’
अध्यक्ष ओलीप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलको आक्रोश
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विषयमा अनेक टीका टिप्पणी हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ । जननेता मदन भण्डारी र उहाँले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद प्रतिकूलताहरूसँग लडेर उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘यो विचारलाई क्षतिग्रस्त हुनेगरी कुराहरू उठाउन सक्छन् । हामीले यो चिजलाई ख्याल गरिएन, अब गर्नुपर्छ । विचार कुन जगमा उभिएको छ । कुन पृष्ठभूमिमा उभिएको हो ख्याल गर्नुपर्छ । जुन बेला विचारको प्रखरताको झण्डा बोकेको त्यसबेलादेखि नै झाँगिँदै आयो । उहाँको सामिप्यता पाएर यो अवस्थामा आयो ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि मदन भण्डारी फाउन्डेसनलाई ठगीखाने भाँडो बनेको आरोप लगाउनुभएको थियो । वरिष्ठ नेता पोखरेलले जबजको पक्षमा उभिरहँदा कुनै पनि बेला सामना गर्नुपर्ने चुनौतीका बारेमा हेक्का राख्नुपर्ने र यदि त्यो हेक्का नराखे दुर्घटना हुनसक्ने चेतावनी दिनुभएको छ ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र