सामयिक नेपाली निबन्ध लेखनमा मौलिक शैलीको गोरेटो निर्माण गर्दै हिँडिरहेका प्रतिभा हुन् ज्ञानेन्द्र विवश । यिनी स्वनिर्मित शैलीमा दृढ छन् र लेखिरहेका छन् हरेक विषयका निबन्ध । यिनका निबन्ध पढ्दा नेपाली जीवनका मार्मिक स्पन्दनले हामीलाई छुन आउँछन् । सरल र काव्यमय भाषाको आकर्षक प्रस्तुति शैली यिनको विशेषता देखिन्छ । यिनी कलालाई रङको सट्टा भाषादिने र साहित्यलाई कलाको रोगनले सजाउने निबन्धकार हुन् । यिनी विशेषतःकला, जीवनी, संस्कृति, नियात्रा र निबन्धविधामा कलम चलाउँदै समकालीन साहित्यिक फाँटमा विचरण गरिरहेका सशक्त प्रतिभा हुन् ।
मध्यकालीन नेपालको कलाकौशल उर्वर थियो । नेपाल खाल्डो वा उपत्यकाका तीनै शहरमा कलात्मक मठमन्दिर बनाउने होडबाजी चल्थ्यो । दरबारका आसपास डबली, पाटीपौवा, धारा, देवस्थल आदि निर्माण गराएका हुन्थे । तिनलाई कलाकौशलको अद्वितीय नमुनाद्वारा सजाइएको हुन्थ्यो । यसै क्रममा मल्ल राजाहरूले दरबारमा सुन्दरीचोकहरू बनाएका थिए । जसको अस्तित्व आजपर्यन्त छ । नेपालका अधिकांश जिल्ला घुमिसकेका ज्ञानेन्द्र विवशले स्थान र व्यक्तिविशेष विषयमा निबन्ध लेखेका छन् जुन यस सङ्ग्र्रहमा पाइन्छ ।
निबन्धकार ज्ञानेन्द्र विवश आफैँ कलाकार र शब्दशिल्पी हुनाले यस्ता कुराहरूमा सचेत तथा सजग हुनुपर्छ । तर, कृतिमा राखिएका सबै रचनामा केही शब्दलाई चहकिलो पारिएको छ, जसले आँखा बिझाउँछ । भाषा प्रयोगको कोणबाट भने यिनको बेग्लै खुवी देखिन्छ । हरेकजसो रचनामा स्वनिर्मित भाषिकशैली पाउँदा पाठकले बेग्लै रसको आनन्द प्राप्त गर्छन् ।
प्रस्तुत ‘सुन्दरीचोक’ निबन्ध सङ्ग्र्रहमा तीसवटा निबन्ध समेटिएका छन् । विषयवस्तु र प्रस्तुतीकरणका आधारमा यी तीसवटै निबन्धहरू रोचक र मीठो भाषाशैलीमा लेखिएका छन् । यी निबन्धहरू प्रस्तुतिका हिसाबले आत्मसंस्मरणात्मक, यात्रात्मक, प्रतिवेदनात्मक आदि विविधतायुक्त छन् । सङ्ग्र्रहको पहिलो निबन्ध ‘सुन्दरीचोक’ हो र यसै शीर्षकबाट कृतिको नाम चयन गरिएको छ । यो निबन्ध पुरातत्व, इतिहास, कलाकौशल, संस्कृति, सभ्यता जस्ता कुराहरूले खँदिलो बनेको छ, जुन यिनको हरेकजसो निबन्धमा पाइने प्रवृत्ति हो ।
शीर्ष निबन्धको विषयलाई अघि बढाउने क्रममा निबन्धकारले पेटबोलीमा नै भनेका छन्, ‘इतिहास र दर्शनभन्दा पनि वैयक्तिक भावनाका भावहरू छन् । सुन्दरीचोकको वर्णन र विवरण....कुरा पनि आउँछ ।’ यहाँ उपत्यकाका तीनै शहरमा भएका ऐतिहासिक चोक र तिनको पुरातात्विक महत्व दर्शाउने चेष्टा भएको छ । साथसाथै वर्णन र विवरणमा यथेष्ट सूचनाको अनुशीलन तथा भावना र व्यक्तिगत अनुभूतिको अनुघुलन पनि छन् ।
निबन्ध ‘मृगतृष्णा’ मा आँखा–हेराइ, दृष्टिकोण र भावनात्मक संवेध्यता छ । भूकम्पको त्रासदीपूर्ण स्मरण छ । त्यसले ध्वस्त पारेको प्राचीन सम्पदा एवम् ऐतिहासिक स्मारकहरूप्रति चासो र चिन्ता व्यक्त छ । कर्मचारीका हैसियतले पुनर्निर्माणका क्रममा जनसाधारणलाई परेको सकस, अघिल्लोकै शृङ्खला जस्तो पारिवारिक, सामाजिक व्यवहार प्रष्ट्याउने स्मृति संलाप । चरा विषयक चित्रकलाकार र चित्रकलाप्रति सम्मान, इतिहासको विस्तृतीकरण, ग्यालरीमा भएको प्रदर्शनीको भावनात्मक संस्मरण । ‘भीरमौरीको शिकार’ मौरी, मह र त्ससको ऐतिहासिक महत्व, वर्तमानका चुनौतीहरू केलाउन सफल वैचारिक तथा भावनात्मक निबन्ध हो । स्वानुभूतिमा आधारित भावना, घरबासको महिमा ‘ओतमुनिको ओभानो’ मा प्रकट छ । ‘सङ्गीतसँग साक्षात्कार’ संस्मरण प्रतिवेदनमात्र लाग्छ ।
यस प्रकार आत्मसंस्मरणमा भाव र अनुभूतिको समुचित सन्तुलन कायम राख्दै निबन्धलाई यथेष्ट सूचनाप्रद बनाउन यिनले कुनै कसर बाँकी रहन दिएका छैनन् । यिनका निबन्धमा स्वानुभूतिको प्रतिनिधित्व छ । कुनै निबन्ध जानकारीमूलक प्रतिवेदन लाग्छन् । कतै भेलाको साक्ष्यभाव, कतै विकास निर्माणमा आइपरेका समस्या, बाधा-व्यवधानका कुरा, कतै कलाप्रदर्शनीबारेका मनोभावना, आफू सहभागी कार्यक्रमका रिपोर्ताज, वैयक्तिक विचार र चिन्तनमनन नै उल्लिखित निबन्धहरूमा पाइन्छन् ।
पुरातत्व, इतिहास, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनको हुट्हुटीलगायतका चिन्तन ज्ञानेन्द्र विवशका निबन्धमा छन् । यिनका हरेक निबन्ध तथ्यपरक तथा रोचक छन् । मानव र मानव जीवनको निकटता यिनका निबन्धमा पाइने मूल विशेषता हुन् । एकदेखि पाँच शब्दसम्मका शीर्षकहरूमा भावबद्ध यी निबन्ध स्वतन्त्रतापूर्वक लेखिएका मात्र छैनन्, शैलीगत निजत्व दर्शाउनसमेत सक्षम छन् । संस्मरणको मझेरीमा विश्लेषणात्मक टिप्पणी र प्रतिक्रियाको जलप दिँदै लेखाइमा मिठास भर्छन् यिनी ।
निबन्ध लेख्दा विवरण, क्रियाविहीन वाक्यको संयोजन, कतै काव्यिक भाषाको प्रयोग, कतै छोटो आयाम र कतै विस्तारित बयान जस्ता विविधा अपनाउन रुचाउने ज्ञानेन्द्र विवश ‘समकालीन निबन्ध र निबन्धका स्रष्टाहरूमा पृथक पहिचान बनाइरहेका छन् । यिनी वर्तमान समयमा निजात्मक निबन्ध रचनामा जाँगर चलाउने उत्साही युवा हुन् ।’ (नेपाली निबन्ध परिचय गोपीकृष्ण शर्मा, पृ.५१)
शैलीगत अन्तर मिश्रणमा यिनको रुचि देखिन्छ । ‘सुन्दरी चोक’ का कुनै कुनै रचना नियात्रा वा संस्मरणका बेग्लै पुस्तकमा हुँदा राम्रो हुन्थ्यो कि भन्ने पनि लाग्छ । प्रष्ट शैली छैन र पनि यिनका निबन्धमा भावना, विचार र विमर्श भरपुर छन् । यिनी जल्दोबल्दो समस्याको उठानमात्र गर्दैनन्, विचार प्रक्षेपणद्वारा निकास पनि खोज्छन् । साथै रचनामा अनुभूतिको रङ्गीन लवज दिनुलाई लेखकीय अभीष्ट मान्दै लेखिरहेका छन् । लेखिरहेका मात्र छैनन्, उत्कण्ठा र हुट्हुटी बोकेर साहित्य प्रेममा होमिएका छन् ।
साहित्यका सबै कृति समाजले स्वीकार्न सक्ने अवस्था हुँदैन । विषयवस्तुको नवीनता र आकर्षक प्रस्तुतीकरणले पनि पाठक तान्न सक्छ । पुस्तकमा भाषा र शैलीगत मनोहारिता अत्यावश्यक । सङ्क्षिप्त, सरल र सरसतासँगै युगबोध पनि प्रबुद्ध पाठकले खोज्ने कुरो हो । पुस्तकको शुद्धता र प्रभावकारी साजसज्जाले पनि पाठकहरू तानिन्छन् । निबन्धकार ज्ञानेन्द्र विवश आफैँ कलाकार र शब्दशिल्पी हुनाले यस्ता कुराहरूमा सचेत तथा सजग हुनुपर्छ । तर, कृतिमा राखिएका सबै रचनामा केही शब्दलाई चहकिलो पारिएको छ, जसले आँखा बिझाउँछ । भाषा प्रयोगको कोणबाट भने यिनको बेग्लै खुवी देखिन्छ । हरेकजसो रचनामा स्वनिर्मित भाषिकशैली पाउँदा पाठकले बेग्लै रसको आनन्द प्राप्त गर्छन् । अतः निबन्धको पृथक लेखनमा समीक्ष्य कृति ‘सुन्दरीचोक’ अब्बल मान्न सकिन्छ ।
नेपाली निबन्ध विधाले आधुनिक युगमा प्रवेश गरेर वस्तुमा मात्र होइन अभिव्यक्तिमा पनि नवीनतम् प्रयोगलाई आत्मसात गरेको छ । वस्तु अनुसारको भाषा, विचार अनुसारको शैली र परिवेश अनुसारको अभिव्यक्ति दिने प्रक्रिया जारी छ । यो प्रवृत्ति समकालीन साहित्यले नै अँगालिरहेको छ । शब्दगुम्फन, वाक्य गठन, भावसम्प्रेषण र अभिव्यक्ति कौशल आदिमा नयाँ–नयाँ आयाम थप्ने प्रवृत्ति निरन्तर छ । यात्रा, दर्शन, बौद्धिक, हृदयसंवेध्यता, वर्णन, विवरण आदि थुप्रै अनुहार लिएर आइरहेका विवशका निबन्धले साहित्यको श्रीवृद्धिमा मनग्गे योगदान पु¥याएको छ । यसै महायात्रामा अनवरत लागेका छन् निबन्धकार ज्ञानेन्द्र विवश । काभ्रेपलाञ्चोक






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर