भाद्रकृष्ण अमावास्यालाई कुशीऔंसी भनिन्छ । मासे नभस्यामावास्यां तस्यां दर्भोच्चयो मतः । अयातयामास्ते दर्भाःसन्नियोज्याः पुनःपुनः ।।
नभोमासस्य दर्शे तु शुचिर्दर्भान् समाहरेत् । अयातयामास्ते दर्भा विनियोज्याः पुनः पुनः ।। धर्मसि.सुधा(१४५)
भाद्रमासका औंसीका दिन काटेको कुश एक वर्षसम्म बासी हुँदैन, बारम्बार प्रयोग गर्न सकिन्छ । कुश काट्नुअघि तलका मन्त्रले प्रार्थना गरी कुश काट्नुपर्दछ । कुशाग्रे वसते रुद्रः कुशमध्ये च केशवः । कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनि ।। विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गजः । नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।। एवं मन्त्रं समुच्चार्य ततः पूर्वोत्तरामुखः । हूँफट्कारेण मन्त्रेण सकृच्छित्त्वा समुद्धरेत् ।। धर्मसि.सुधा(१४५)
यी मन्त्र पढेर पूर्वोतर मुख भएर ‘हूँफट्’ यो मन्त्र उच्चारण गर्दै एकपटक काटेर उखेल्नुपनि पर्दछ। किनकि धेरैजसो कार्यमा जरैसँगको कुशको प्रयोग गर्ने विधान छ । तर कुश थोरै हुने ठाँउमा कुश उखेलेर पुग्दैन, त्यसैले काट्नुपर्दछ । स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि । करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात् कुशमा ब्रह्मा, विष्णु र रुद्र तीनोटै देवता बसेका हुँदा स्नान, दान, जप, होम, स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएर मात्र गर्नुपर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ । यथा वज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा । त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम् ।।
इन्द्रको वज्र, विष्णुको चक्र र शिवको त्रिशूल जस्तै ब्राह्मणको पवित्र कुश सुरक्षा गर्ने हतियार जस्तै हुन्छ । जसले प्रयोग गर्नेलाई सुरक्षा दिन्छ। कुशको वर्गीकरण यस प्रकार छ : कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः । गोधूमा ब्रीहयो मुञ्जा दश दर्भाः सबल्लजाः ।। धर्मसि.सुधा(१४५) कुश, काँश, जौ, दुबो, उशीर (खस) कन्दुक (एक किसिमको तृण विशेष) गहुँ, धान, मूँज, बल्लज अर्थात् बाबियोसमेत गरी दश किसिमका कुशजाति मानिएका छन् । कुशाभावे तु काशाः स्युःकाशाःकुशसमाःस्मृताः । काशाभावे गृहीतव्या अन्ये दर्भा यथोचिताः ।। धर्मसि.सुधा (१४५) कुशको अभावमा काशलाई लिनुपर्दछ, किनकि काशलाई पनि कुशसमाना मानिएको छ । काशको पनि अभाव भएमा मात्र अरू दर्भहरू लिनुपर्दछ ।
बाबु हुनेले बाबुको मुख हेर्ने र बाबु नहुनेले तर्पण, पिण्डदानादि गरेर पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि समाजमा चली आएको छ । यसकारण आफ्नो सुरक्षा कवचका रूपका कुशको संरक्षण गरी यसदिन पूजागरी काटेर राख्ता वर्ष दिनसम्म बासी नहुने भएकाले यस दिन कुश काट्ने गरिएको हो । यस दिन कुश काट्ने गरिएको हुँदा यस दिनलाई कुशीऔंसी भन्ने परम्परा चलेको हो ।
कुशको उत्पत्तिका सम्बन्धमा उपर्युक्त ‘विरञ्चिना सहोत्पन्नः’ । यस वचनद्वारा ब्रह्माजीका साथमा कुशको उत्पत्ति भएको हो, भन्ने कुरा स्पष्ट हुन्छ । अर्को कुरा स्वस्थानी कथाका आधारमा जब जालन्धर दैत्यले लोकमा उपद्रव, अत्याचार मच्चायो, त्यसलाई नमारी अत्याचार शान्त नहुने भयो । अनि भगवान् शंकरजी जालन्धरसँग युद्ध गर्न लाग्नुभयो, तर उसकी पत्नी वृन्दा ज्यादै पतिव्रता भएकी हुँदा पतिव्रता धर्मका कारण उसलाई मार्न सक्नुभएन । अनि विष्णुले लोकको कल्याण गर्नका लागि जस्तो सुकै सजाय भोग्नुपरे पनि भोग्छु । तर जालन्धरलाई नमारी भएन, त्यसकारण उसलाई मार्न छल गरी म वृन्दाको पतिव्रता धर्म नष्ट गराउँछु । अनि तपाईँले जालन्धरलाई मार्न सक्नुुहुनेछ भनी भगवान् शंकरसँग सल्लाह गरी भगवान् विष्णुले जालन्धरको रूप धारणगरी वृन्दाको पतिव्रता धर्म नष्ट गरेपछि जालन्धरलाई शंकरले मार्नुभयो र लोकको कल्याण गर्नुभएको थियो ।
पछि विष्णुले छल गरी मेरो सतीत्व नष्ट गरेछन् भन्ने कुरा वृन्दाले थाहा पाएर । हे कपटी विष्णु तिमीले छल गरेर मेरो पतिव्रता धर्म नष्ट गरेछौं, त्यसकारण म पनि तिमीलाई श्राप दिन्छु सुन : तिमीले ढुंगो हुनुपरोस्, रूख हुनुपरोस् र झार घाँस भएर रहनुपरोस् भनेर श्राप दिइन् । पतिव्रताको श्राप विष्णुलाई लागेर ढुंगो हुनुपरोस् भनेकामा शालिग्राम, झार हुनुपरोस् भनेकामा तुलसी, रूख हुनुपरोस् भनेकामा पीपल र घाँस हुनुपरोस्, भनेकोमा कुशका रूपमा भगवान् विष्णु नै उत्पत्ति भएर रहनुभएको हो, भनिएको छ । त्यसकारण विष्णुको रूप भएको हुँदा कुश पवित्र मानिएको हो ।
अर्को कुरा भगवान्ले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न वराहको (बँदेलको) रूप लिई दैत्यलाई मारी पृथिवीको उद्धार गर्दा ठूलो परिश्रम परेको हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवामाथि विश्राम गर्न सुत्नुभएछ । वराह भगवान् सुत्नु हुँदा उहाँका केश झरेर त्यसबाट कुशको उत्पत्ति भएको हो भन्ने पनि पौराणिक उपाख्यानहरूमा पाइन्छ । यस्ता धेरै कथानकहरूबाट ब्रह्मा, विष्णु र रुद्र तीन देवता कुशमा रहनुभएको कुरा सिद्ध भएको हुँदा कुश पवित्र मानिएको र देवकार्य तथा पितृकर्यमा पनि कुशको आवश्यकता अपरिहार्य भएको कुरा शास्त्रमा वर्णित छ ।
यस दिन पितृहरूलाई तर्पण तथा पिण्डदान समेत गर्दा पितृहरू मुक्ति हुने र छोरा नातिहरूलाई यस लोकमा सुख, समृद्धि र परलोकमा समेत पुण्यप्राप्ति हुने भएकाले श्राद्ध तर्पण सिधादान गरी पितृकर्म गर्नुपर्दछ । बाबु हुनेले बाबुको मुख हेर्ने र बाबु नहुनेले तर्पण, पिण्डदानादि गरेर पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि समाजमा चली आएको छ । यसकारण आफ्नो सुरक्षा कवचका रूपका कुशको संरक्षण गरी यसदिन पूजागरी काटेर राख्ता वर्ष दिनसम्म बासी नहुने भएकाले यस दिन कुश काट्ने गरिएको हो । यस दिन कुश काट्ने गरिएको हुँदा यस दिनलाई कुशीऔंसी भन्ने परम्परा चलेको हो ।
कुनै अनुष्ठानमा सरिक भई काम गर्नुपर्दा शिखा बन्धन गर्न मिल्ने टुप्पी भएन भने दाहिने कानमा कुश झुण्डाई शिखाको काम लिने गरिन्छ । कपास, लुगाकपडा त्यागेका योगी तपस्वीहरू कुशबाट नै जनै तथा अनन्त निर्माण गरी धारण गर्ने गरेको पाइन्छ । दाह्री कपाल खौरनुपर्ने काममा यसरी खौरन अनुकुल नभएको खण्डमा कुशको पात डुलाई (कुशले काटी) खौरने कार्य पूरा भएको मानिन्छ ।
हाम्रो संस्कृतिमा कुशको प्रयोग विभिन्न काममा गरिन्छ । कुश सत्वगुणको प्रतिक पनि मानिन्छ । यसको धारणबाट सत्गुणको वृद्धि हुन्छ भन्ने विश्वास छ । कुशको औंठी लगाई कुश मिसिएको गुन्द्रीमा बसी जप–तप आदि अनुष्ठान कार्यमा सरिक हुँदा ऊर्जा शक्ति घनिभूत भई अनुष्ठान कर्ताको वरिपरिनै रहने हुँदा ऊर्जाशील व्यत्तित्व निर्माणमा सहयोग पु¥याउँछ भन्ने मान्यता छ । आजभोलि समाजमा यस दिनलाई बाबुको मुख हेर्ने पर्व मानेर टाढा भएका छोराछोरीहरूले पनि बाबुसँग भेटघाट गर्ने र आशीर्वाद लिने गरी मनाउने परम्परा पनि चलेको छ । हरये नमः । श्रीकृष्णार्पणमस्तु ।।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच