काठमाडौं । गठन भएको तीन वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू एकपछि अर्को गम्भीर विवादमा पर्न थालेका छन् । सहकारीको बचत रकम हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागारमै रहेका बेला एकपछि अर्को नेता गम्भीर विवादमा पर्न थालेका हुन् । सभापति लामिछाने यसअघि दोहोरो नागरिकताको विषयमा दोषी नै ठहर भएपछि उहाँको मन्त्री र सांसद पदसमेत गुमेको थियो । पासपोर्ट दुरुपयोगको मुद्दा अझै किनारा लाग्न सकेको छैन ।
रास्वपाबाटै उपसभामुख बन्नुभएकी इन्दिरा रानामगर अनधिकृत व्यक्तिलाई अमेरिकी भिसा लगाउन लेटरप्याडमा पत्र लेखेको पुरानो विवाद अहिले चर्किएको छ । उपसभामुख रानाले अमेरिकी दूतावासलाई २५ फेब्रुअरी २०२३ मा लेखेको पत्र एक वर्षअघि नै सार्वजनिक भएको थियो । पत्रसँगै आर्थिक लेनदेनका विषयसमेत बाहिर आएको थियो । सत्तारूढ दलहरूले उपसभामुख रानालाई पदबाट हटाउने तयारी गरिहँदा रास्वपाकै अर्को एक नेता नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई शुक्रबार प्रहरीले पक्राउ परेको हो ।
त्यसअघि गत चुनावलगत्तै सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड रुपैयाँको डिल गरेको अडियो बाहिरिएको थियो । गत चैत १५ गतेको राजावादी आन्दोलनसँग जोडेर प्रहरीले पक्राउ गरेका ४१ जनामध्ये एकजना रास्वपा सम्बद्ध नेतासमेत थिए । पुराना दलको कार्यशैलीको चर्को विरोध गर्दै सुशासन, भ्रष्टाचारमुक्त समाजको लोकप्रिय एजेण्डा बोकेर गत आमनिर्वाचन अघि (२०७९ असार ७ गते) रास्वपा स्थापना भएको थियो । स्थापना भएको ६ महिनामै २० सिट जितेर रास्वपाले परम्परागत दलमाथि चुनौती खडा गरेको थियो । तर, पार्टी स्थापनाको छोटो समयमै रास्वपा एकपछि अर्को विवादमा तानिँदै गएको छ । यता, पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल रविको आलोचना गरेकै कारण पार्टीबाट लखेटिनुभएको छ ।
थापा अमेरिकाबाट निष्कासित
रास्वपाका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापालाई केही दिनअघि मात्रै अमेरिकाले डिपोर्ट (निष्कासन) गरेको थियो । अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसिई)को हिरासतमा करिब पाँच महिना रहनुभएका थापा २०८२ साउन २२ गते राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको थियो । उहाँलाई ‘इमिग्रेसन जज’द्वारा नेपाल डिपोर्ट गर्ने निर्णय भएको थियो । सन् २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका उहाँ विमानस्थलमै समातिनुभएको थियो । उहाँलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले १९ गते आदेश दिएको थियो । सोहीअनुसार उहाँ डिपोर्ट हुनुभएको हो । अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका उहाँलाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाएको थियो । ब्युरोले आवश्यक जानकारीसम्बन्धी फाराम भर्न लगाएर उहाँलाई छाडिएको थियो । उहाँ सभापति लामिछानेका निकट र रास्वपालाई अमेरिकामा विस्तार गर्नेमध्येका एक मानिनुहुन्थ्यो ।
मन्त्री हुन दुई करोडको ‘डिल’
रास्वपाकै तत्कालीन समानुपातिकबाट सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न एक व्यवसायीसँग दुई करोड रुपैयाँ मागको अडियो सार्वजनिक भएको थियो । श्रेष्ठले सभापति लामिछानेका लागि दुई करोड मागेको खुलासा गरेपछि पार्टी र सांसदबाट हटाइएको थियो । २०७९ चैत ६ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र पार्टी समानुपातिक सांसद श्रेष्ठबीच दुई करोडको बार्गेनिङ भएको अडियो बाहिरिएको थियो । अडियो बाहिरिएर पार्टीले कारबाही गरेका कारण श्रेष्ठको राजनीतिमा छोटो समयमा पूर्णविराम लागेको छ । उक्त अडियोमा तत्कालीन सांसद श्रेष्ठले मन्त्री बन्न लामिछानेको ‘कोर टिम’लाई बुझाउन भन्दै प्रसाईंसँग दुई करोड रुपैयाँ माग्नुभएको थियो । आफू स्वास्थ्यमन्त्री बन्न लागेका कारण पार्टीलाई साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले दुर्गासँग बार्गेनिङ गर्नुभएको थियो अडियोमा सुनिन्थ्यिो । त्यसअघि श्रेष्ठमाथि पोखराको एक सहकारीको रकम हिनामिना गरेको आरोप थियो । पोखराको साथी किसान सहकारी संस्थामा अध्यक्षको जिम्मेवारीबाट पछि हट्दा झण्डै एक करोड रुपैयाँको हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको थियो ।
स्वीकृत नै नगराई उपसभामुख रानामगर १० पटक विदेश भ्रमणमा
उपसभामुख इन्दिरा रानामगर प्रतिनिधिसभाको उपसभामुख भएपछि १७ पटक विदेश गएर फर्किनुभएको थियो । उपसभामुखले सभामुखसमक्ष भ्रमण स्वीकृत गराएर विदेश जानुपर्ने व्यवस्था भए पनि राना मगरले सातपटक मात्र यस्तो व्यवस्था पालना गर्नुभएको खुलासा भएको छ । उहाँ १० पटक सभामुखसँग स्वीकृत नगराई विदेश भ्रमणमा गएको पाइएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले रानामगर उपसभामुख भएपछि विदेश भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले भन्नुभएको थियो, ‘उपसभामुखमा निर्वाचित भएपछि १७ पटक विदेश भ्रमणमा जानुभएछ । त्यसमध्ये कानुनअनुसार सात भ्रमण मात्रै सभामुखज्यूसँग स्वीकृत गराएर जानुभएको रहेछ । १० पटक स्वीकृत नै नगराएर जानुभएछ । जनप्रतिनिधिहरूको थलो सम्मानित सदनको नेतृत्व गर्ने व्यक्ति यसरी जाँदा आम नागरिकले कसरी बुझ्ने ? उहाँ कहाँ जानुभएको छ भन्दा के जवाफ दिने ? यही हो आचरण ?’
२०७९ माघ ७ गते उपसभामुख निर्वाचित रानाले २०७९ फागुनमा भिसा सहजीकरणका लागि नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र डेढ वर्षपछि बाहिर आएको थियो । २०८० साउनमा मात्र रानाको पत्र बाहिर आएको थियो । रानाको दल र संसद्सँग समेत सम्बन्धित नरहेका व्यक्तिको भिसा प्रक्रियाका लागि पदको दुरुपयोग भएको त्योबेला नेपाली कांग्रेसले विरोध गरेको थियो । पत्र लेखको अढाइ वर्षपछि सोही प्रकरणलाई लिएर सत्ता साझेदार दलले पुनः आचरण अनुकूल काम नगरेकामा प्रस्ताव दर्ताको तयारी थालेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कँडेल पक्राउ
रास्वपा नेता हरिप्रसाद कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको छ । कँडेललाई चितवनबाट पक्राउ गरी रूपन्देही ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिनुभयो । चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हो । उहाँले आफ्नो नामको अगाडि डाक्टर लेख्दै आउनुभएको थियो । रूपन्देही प्रहरीले गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कको एक होटेलबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना भारतीयलाई पक्राउ गरेको थियो । भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो । बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बताएपछि कँडेललाई पक्राउ गरिएको एसपी क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार पूर्वशिक्षकसमेत रहनुभएका कँडेल चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आउनुभएको छ । कँडेल यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर हुनुभएको थियो । पदमपुरको भीमोदय माविको प्रधानाध्यापक रहेको बेला अख्तियारमा उजुरी परेपछि उहाँ पदका लागि अयोग्य ठहर हुनुभएको थियो । यसैबीच, रास्वपाले कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिनुुभयो ।
थरिथरि काण्डबाट निस्कन नसकेका दलले नैतिकताको पाठ पढाउन मिल्दैन : डाँगी
रास्वपा सचेतक निशा डाँगीले अरू दलहरूले नैतिकताको पाठ पढाउन आवश्यक नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा थरिथरिका काण्डै काण्डबाट निस्कन नसकेका दलले नैतिकताको पाठ पढाउन नमिल्ने बताउनुभएको हो । नैतिकताको पाठ पढाउने दलहरूको तरिका परीक्षामा कहिल्यै पास नभएका विद्यार्थीले कसरी पास हुने भनेर सिकाएको जस्तो भएको तर्क गर्नुभयो । विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा मुछिएका दलहरूले नैतिकताको कुरा गर्नु हास्यास्पद भएको उहाँको भनाइ थियो । ‘थरिथरि काण्डै काण्डबाट निस्कन नसकेका दलले हामीलाई नैतिकताको पाठ पढाउन मिल्दैन,’ उहाँले भन्नुभयो, ‘यो त कस्तो भयो भने, परीक्षामा कहिल्यै पास नभएको विद्यार्थीले अरूलाई कसरी पास हुने भनेर तरिका सिकाएजस्तो भयो ।’ डाँगीले उपसभामुखलाई बिना कुनै ठोस प्रमाण र आधारमा केवल राजनीतिक प्रतिशोधका लागि हटाउन खोजिएको दाबी गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच