काठमाडौं । वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा संक्रमण फैलिएको छ । वीरगञ्ज उपमहानगरका वडा वडामा हैजाका बिरामी भेटिन थालेका हुन् । पछिल्लो १० वर्षमा वीरगञ्जमा पहिलोपटक हैजाको प्रकोप देखिएको हो । गत शुक्रबारदेखि वीरगञ्जमा हैजाका संक्रमित भेटिन थालेका थिए । त्यसयता हैजा नियन्त्रण हुनेभन्दा महामारी (आउट ब्रेक)को रूप लिने संकेत देखिएको हो । सरकारले समयमै सजगता नअपनाएकै कारण हैजा महामारी (मेजर आउटब्रेक) देखिएको जनस्वास्थ्यविद् बताउँछन् । सुक्खाग्रस्त पर्सामा एक साताअघि पानी परेपछि वीरगञ्जमा पानीका स्रोतहरू दूषित थिए । दूषित पानी पिएकै कारण हैजा फैलिएको जनस्वास्थ्य विशेषज्ञहरूको आंकलन छ । यद्यपि, हैजा कसरी फैलियो ? भन्ने पुष्टि भइसकेको छैन ।
संक्रमितको संख्या निरन्तर बढिरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार साँझसम्म वीरगञ्जमा ७९ जना हैजाका संक्रमित बिरामी भेटिएका छन् । संक्रमण पुष्टि भएका सबै बिरामी वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा हुन् । शनिबार रातिसम्म ४२ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो ।
झाडापखाला र शंकास्पद हैजाका एक सयभन्दा बढी बिरामी विभिन्न अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरू थपिने क्रम जारी रहेको उहाँले बताउनुभयो । हैजाका बिरामी बढेपछि बल्ल विभिन्न वडाका धाराको पानीको नमुना संकलन गर्न थालिएको छ । जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा कोलिफर्मको परीक्षण हुँदै छ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सोमबार वीरगञ्ज परिचालित भएको हो । हैजाको अवस्था प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल सोमबार दिउँसो वीरगञ्ज पुग्नुभएको थियो ।
हैजा गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला हो । संक्रमण भएको एक दिनभन्दा कमदेखि पाँच दिन सम्ममा हैजाका लक्षणहरू देखापर्न सक्छन् । संक्रमितमध्ये करिब १ देखि २५ प्रतिशतमा मात्र लक्षण देखापर्छ । संक्रमितमध्ये ८० प्रतिशतमा सामान्य खालका लक्षणहरू देखापर्छन् भने करिब २० प्रतिशतमा कडा खालका लक्षणहरू देखापर्छन् । समयमै उपचार नभएमा संक्रमितको केही घण्टामै मृत्युसमेत हुनसक्छ ।
अस्पतालमा बिरामीको चाप
हैजा संक्रमित बढेसँगै वीरगञ्ज आसपासका अस्पतालमा बिरामीको चाप बढेको छ । नारायणी र तराई अस्पतालसहित नेसनल मेडिकल कलेज लगायतमा बिरामीको उपचार भइरहेको छ । त्यसैगरी, विभिन्न क्लिनिकमा पनि बिरामीको चाप बढेको छ । बिरामी बढेपछि हैजाको उपचारका लागि शैय्या र जनशक्ति दुवैको अभाव देखिएको अस्पतालले जनाएको छ । संक्रमितको संख्या बढेका कारण नारायणी अस्पतालमा नयाँ वार्ड खडा गरिएको छ । स्थानीय तह र प्रदेश तहबाट उपचार व्यवस्थापनमा सक्रियता अपनाइएको छ । हैजाको आशंका गरिएका तीन जनाको बिरामीको मृत्यु भएको छ । यद्यपि, उनीहरूको हैजाकै कारण ज्यान गएको पुष्टि भएको छैन ।
विज्ञ चिकित्सकसहित टोली परिचालन
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट विज्ञ चिकित्सकको टोली वीरगञ्ज पठाएको छ । टोलीले झाडापखाला र हैजाका बिरामीहरू उपचाररत अस्पताल र प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरिरहेको छ । यसैगरी, मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगञ्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू वीरगञ्जको नारायणी अस्पतालमा पठाएको छ । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको हो । नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक, १० जना परामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाएको छ । महामारी नसकिँदासम्म स्वास्थ्य कर्मचारीहरूलाई अत्यावश्यकबाहेक बिदा स्वीकृत नगर्ने निर्णय बैठकले गरेको थियो ।
डोर टु डोर टोली पठाएका छौँ : प्रमुख प्रशासकीय अधिकृत कर्ण
वीरगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अवस्था भयावह नै नभए पनि नियन्त्रणमा पनि नरहेको बताउनुभयो । तर, शनिबार र आइतबारको तुलनामा सोमबार अस्पताल भर्ना हुने बिरामीको संख्या केही घटेको उहाँले बताउनुभयो । हैजा नियन्त्रणमा संघदेखि प्रदेशसम्मका सरकार र स्वास्थ्य कार्यालयहरूले राम्रो साथ दिएको उहाँले बताउनुभयो । ‘अवस्था नियन्त्रणबाहिरै गयो भन्ने अवस्था छैन । तर, नियन्त्रणमा पनि आएको छैन । नयाँ नयाँ बिरामी आई नै रहेका छन् । तर, शनिबार र आइतबारको तुलनामा सोमबार केही घटेजस्तो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘सबैतिरबाट सहयोग पाएका छौँ । संघीय सरकार, प्रदेश र विभिन्न स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनबाट पनि सहयोग पाएका छौँ । स्वास्थ्य मन्त्रीज्यूले पनि कुनै बिरामीको उपचारमा केही कमी नहोस् भन्नुभएको छ । उपचारका लागि चाहिने जनशक्ति र सामग्री संघीय सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।’ हैजा नियन्त्रणका लागि महानगरले पनि तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो । ‘रोकथामका कामहरू भइरहेका छन् । महानगरपालिकाले २६ वटा टिम प्रभावित क्षेत्रमा पठाएको छ । डोर टु डोर टोली पठाएका छौँ,’ उहाँले भन्नुभयो ।
यसअघि वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले हैजा प्रभावित क्षेत्रमा जथाभावी औषधिजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिनुभएको थियो । परीक्षणका लागि सरकारले नै किट निःशुल्क उपलब्ध गराउने उहाँको भनाइ छ । वीरगञ्जमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।
तीनवटा कुरामा ध्यान दिए हैजा नियन्त्रणमा राख्न सकिन्छ : डा. पुन
संक्रमित खाना वा पानी सेवनका कारण हैजा फैलिने गरेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । उहाँका अनुसार सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले शैजा फैलिन मद्दत गर्छ । ‘हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ,’ उहाँले भन्नुभयो, ‘हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखापर्छन् ।’ मुख्यतः तीनवटा कुरामा ध्यान दिनसके हैजा नियन्त्रणमा राख्न सकिने डा. पुनले बताउनुभयो । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमनमा ध्यान दिनसके हैजा नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।
खानेपानीमा ढल मिसिएको र गाउँमा हैजाका बिरामी लुकेको आशंका छ : मन्त्री पौडेल
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीरगञ्ज महानगरपालिकामा फैलिएको झाडापखाला प्रकोप नियन्त्रणमा आएको देखिए पनि गाउँघरमै लुकेर बसेका बिरामी अझै हुनसक्ने आशंका गर्नुभएको छ । स्वास्थ्यमन्त्री पौडेलले सोमबार स्थानीय तह र स्वास्थ्य निकायसहित वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा अनुगमन गरेपछि यस्तो आशंका व्यक्त गर्नुभएको हो । हालसम्म वीरगञ्जको ११, १२ र १३ नम्बर वडालाई प्रभावित क्षेत्रको रूपमा पहिचान गरिएको छ । ती वडामा अस्पतालमा पुगेका बिरामीको संख्या बढी छ ।
‘यही वडाभित्र अझै घरमै लुकेर बसिरहेका बिरामी हुन सक्छन् भन्ने आशंका हामीले गरेका छौँ । त्यसैले अस्पताल आउन आग्रह गर्दै घरघरमै स्वास्थ्यकर्मी पठाइएको छ,’ मन्त्री पौडेलले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको संख्या पछिल्ला दुई दिनमा घटेको छ । उहाँले बिरामीको उपचारमा अभाव हुन नदिने बताउनुभयो । ‘अस्पतालमा नयाँ बिरामीको संख्या उल्लेख्य रूपमा नबढेको देखिन्छ, तर समुदायमा के छ भन्ने यकिन छैन । कतिपयले अस्पतालमा नआई घरमै बसेर उपचार गरिरहेका वा लक्षण लुकाइरहेका हुन सक्छन्,’ मन्त्री पौडेलले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अतिरिक्त जनशक्ति परिचालन मन्त्री पौडेलले बताउनुभयो । उनका अनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायका चिकित्सक र नर्सहरू स्थानीय स्वास्थ्यकर्मीहरूसँगै समुदायमा खटिएका छन् । नर्सिङ विद्यार्थीसमेत घर-घर गएर जनचेतना फैलाउने काममा सक्रिय छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर