नमागिएको सल्लाह :
काठमाडौं ज्ञानेश्वर क्षेत्रको भैरव मन्दिर पछाडिको गल्लीमा ढलान गरेको धेरै समय भएको थिएन, पानीको पाइप राख्न होला दुवैतर्फ तोडफोड गरेर हिँड्नै मुस्किल भएको छ । तीजको साइत पारेर मित्रपार्कको मूल सडक एकतर्फी बनाउने साइत जुराएछ, विद्युत् प्राधिकरणले । गौरीघाट क्षेत्रमा निरन्तर तोडफोड गरेर समस्यापूर्ण भएको त लामो समय भइसकेको छ । त्यो काम सम्पन्न हुने कुरामा संशय उत्पन्न भएको छ । जयवागेश्वरी क्षेत्रमा राम्रो अवस्थाका फुटपाथमा लाउने टायलहरू हटाएर भताभुंग पारेको देख्दा दिग्दार महसुस हुन्छ । मेलम्ची आयोजनाको पानी सञ्चालनमा आएको बेला पानीको दबाबले सयौं स्थानमा सडक भ्वाँङ पार्ने विषय कतै सुनवाइ नहुने स्थायी समस्या भइसकेको छ ।
अन्यत्रको त के कुरा गर्नु, दरबार मार्ग, असन, इन्द्रचोक क्षेत्रमा देखिने लथालिंगे विकासले हाम्रो देशलाई नै गिज्याइरहेको छ । बाटो अवरुद्ध छ भनेर नलेखेको कारण सवारी चालकले पाउने सास्तीसँग कसैलाइ वास्ता छैन । त्यसले गर्ने सडकजामको सास्तीको पिरलो त छँदैछ । अहिले काठमाडौं उपत्यकामा पेटी भत्काउने अभियान चलेको छ । भत्काएवापतको बिल भुक्तानी लिने निर्माण लथालिंग पार्ने पनि देशकै रोग हो । राजनीतिक कार्यकर्ता पाल्न भइरहेको संरचनाको आकारप्रकार, रंगरोगन बदलेर भोजन गर्नमा अहिले सत्तामा बसेका पार्टीहरूका कार्यकर्ता माहिर देखिएका छन् । जहाँ आफ्नो राजनीतिक वर्चस्व छ, त्यहाँ बढी घोटाला छ-कारण हो- प्रश्न गर्ने मानिसको तेजोबध गरिएको छ । यस्ता दृश्यहरू प्रतिनिधिमूलक हुन्, देशभरिको हाल यही हो ।
असारे विकास
अहिलेको समयमा काठमाडौं महानगरपालिकामा हेर्ने हो भने यत्रतत्र भत्काउँने रोगले सताएको छ, शहर कुरूप छ । एउटा निकायले बनाइसकेको हुँदैन, अर्कोले आएर भत्काउँछ । यो पुरातन रोग हो यसको समाधान हुने लक्षण छैन । विकास बजेटको मोटो रकम यही समयमा खर्च हुने र वार्षायाम भएकाले भत्केको बाहना बनाउन सहज हुने कारणले विकास खर्च वर्षायाम अगाडि खर्च गर्ने कुरामा खासै चासो देखिँदैन । जसले ययमा सुधारको आवाज उठाउँछन्, तिनको आवाजलाई सुनिँदैन । यस्मा सबै पार्टीको राष्ट्रिय सहमति भएकै कारण सुधारको गुन्जाइस नभएको हुनुपर्छ । यसै समयमा पृथ्वी राजमार्गको मर्मत सम्भारको काम भइरहेको छ । दमौलीबाट पोखरातर्फको बाटो निर्माण गर्ने काम पनि जारी छ । वर्षा यामको समयमा भएको कामको गुणस्तरीयताको बारेमा आशंका गर्ने प्रशस्त ठाउँ छन् ।
हामीले भ्रमण गरेका अधिकांश देशमा खाल्डाखुल्डीरहित चिल्ला सडक देखेका छौं । उनीहरूको देशमा सम्भव भएको विषय हाम्रोमा असम्भव हुनुनपर्ने हो । किन यस्तो भइरहेको छ ? नियतको समस्या हो ? प्रविधिको समस्या हो ? व्यवस्थापनको समस्या हो ? कानुनी समस्या हो ? या यीबाहेक अन्य समस्या हो ?
नीतिगत रूपमा भन्दा ओभरसियर, इन्जिनियर लगायतका प्रविधिकले परीक्षण गरेपछि मात्र बिल भुक्तानी हुने भएकाले यस्तो समस्या रहँदैन भन्न सकिन्छ । आम सर्वसाधारणले भने जाँचपास गर्ने सरकारी प्राविधिकलाई दूधको साक्षी बिरालोभन्दा बढी बुझेका छैनन् । यस्तो बुझाइको कारण हो–यस्ता निर्माण कार्यको गुणस्तरीयता । पिच वा ढलान भएको छोटो समयमा खाल्डा पर्ने समस्या आम भएको छ, यसको सुनवाइ भएको देखिँदैन । यस्ता विषय सार्वजनिक सञ्चारमाध्यममा पनि आउँन छाडेका छन् । यस्ता विषय सबैका लागि सामान्यीकरण भइसकेका त होइनन् ? प्रश्न गर्नुपर्ने अवस्था छ ।
सडकमा खाल्डा नेपाली मोडल ?
नेपालमा बिनाखाल्डाको बाटोमा गाडी गुडाउन मुस्किल भएको छ । चिल्लो बाटो त देख्नै नहुने अवस्था बनेको छ । अर्को निकायको आँखा लागिहाल्छ । यसको उदाहरण ज्ञानेश्वर क्षेत्रको शहीदमार्गको कालोपत्रे हो । केही वर्षअगाडि गरिएको गुणस्तरीय कालोपत्रेमा विद्युत् प्राधिकरणको आँखा लाग्यो, त्यसपछि मेलम्ची आयोजनाको । पिच सडक होइन, खाल्डाखुल्डी स्थायी भएका छन् । यो आफूले देखेको प्रतिनिधि घटनामात्र हो । यो मुलुकभरिकै कथाव्यथा हो । हामीले भ्रमण गरेका अधिकांश देशमा खाल्डाखुल्डीरहित चिल्ला सडक देखेका छौं । उनीहरूको देशमा सम्भव भएको विषय हाम्रोमा असम्भव हुनुनपर्ने हो । किन यस्तो भइरहेको छ ? नियतको समस्या हो ? प्रविधिको समस्या हो ? व्यवस्थापनको समस्या हो ? कानुनी समस्या हो ? या यीबाहेक अन्य समस्या हो ?
घर, समुदाय वा देश विकासका लागि नियत सबैभन्दा महत्वपूर्ण विषय हो । सिंगापुर, चीन, भारत जहाँको उदाहरण दिए पनि नियत राम्रो भएका देशहरू विकासको शिखरमा पुगेका छन् । मोदीको समयमा भारतको पूर्वाधार क्षेत्रमा भएको विकास, चीनले विकासमा मारेको उछाल त्यहाँको नेतृत्वको प्रतिबद्धाताको कारण सम्भव भएको हो । एउटा उदाहरण दिएर चर्चा गरौं । कुनै ‘क’ देशको सर्वोच्च कार्यकारीले आफ्ना मन्त्री लगायत राज्य सञ्चालनका हरेक निकायका जिम्मेवारलाई यो काम यो अवधिमा भएकै हुनुपर्छ, साधन स्रोत जनशक्तिको केही चिन्ता गर्नु पर्दैन तर त्यसमा भ्रष्टाचार र कमिसनखोरीलाई कुनै हालतमा क्षमा गरिनेछैन । मलगायत कसैलाई केही सेवा सुश्रुषा गर्नु पर्दैन, यस्तो नतिजा चाहियो ।
मेरो नाम लिएर कोही आए मलाई जानकारी गराउनु, मैले मेरा आसेपासे कसैलाई पनि पठाउने छैन । यस्तो सार्वजनिक भाषणमा मात्र होइन, निजी भेटघाटमा र जहाँसुकै त्यही विषयलाई उठाइरहन्छ । सार्वजनिक रूपमा त्यस नेताको व्यक्तित्व पनि त्यस्तै बन्दछ, कसैलाई त्यस्तो गलत प्रस्ताव लाने हिम्मत पनि हुँदैन । अर्को देश छ-ख जहाँका नेता सार्वजनिक भाषणमा भष्टाचारीको मुख हेर्दिन भन्छन्, व्यवहारमा राज्यसत्ता कब्जा गर्न अकूत सम्पत्तिको जोहोमा लागेका छन् । गोप्य बैठकमा राज्य दोहन गर्नेहरूको सहज पहुँच छ । शयन कक्षमा उनीहरूको बेरोकटोक आवतजावत छ । झोलेहरूका आफन्तलाई जागिर दिन कम्पनी खोल्नुपरेको छ । झोलेहरूलाई भरणपोषणका लागि कमिसनको व्यवस्था गर्नुपरेको छ । पार्टी परिचालन, चुनाव परिचालन आदिका लागि असीमित स्रोतसाधन, आफू शासनमा भएको समयमा जोहो गर्नुपरेको छ ।
संसार एउटा गाउँजस्तो भएकाले एकदेशमा निस्केको प्रविधि अर्को देशमा आउँन खासै समय लाग्दैन । विकासोन्मुख देशले त्यसमा लगानी गर्न सक्छन्, सक्दैनन् भन्नेसम्म मात्र हो । प्रविधिको हिसाबले हाम्रो देश धेरै कमजोर पनि छैन । नियत असल भएको नेता भएको अवस्थामा त्यस्ता प्रविधिहरू अनुदानमा पाउने सम्भावना पनि रहन्छ ।
आफ्ना पार्टीका सबैजसो मन्त्रीलाई बुझाँनुपर्ने धनराशिको टार्गेट दिइएको छ । मन्त्रीले यो टार्गेट सचिवलाई सुनाउँछ, सचिवले विभागीय प्रमुख, त्यसपछि कार्यालय प्रमुख र हरेक शाखामा यस्तो अलिखित परिपत्र जस्तो भएको हुन्छ । यस्तो अवस्थामा कमजोर नैतिकबल भएका कर्मचारीहरूको चयन हुन्छ, उनीहरूले निकाल्ने परिणाम के होला ? सहजै अनुमान गर्न सकिन्छ । राजनीतिक नेता भाषणमा भनिरहेको हुन्छ ‘नतिजामुखी’ तर व्यावहारिक नतिजा अर्कै निकाल्नुपर्ने बाध्यता रहेको हुन्छ । टाढा जानै पर्दैन असल नियतको नमुना हेर्न । भक्तपुर नगरपालिका हेरे पुग्छ । काम गर्न सहजीकरण गरिदिने कर्मचारी छन् । मनबाट सेवा दिन्छन् । कसैलाई भनसुनको जरुरी छैन । घुसको लालच पटक्कै देखिँदैन । अन्य सरकारी निकायको भन्दा फरक कार्य संस्कृति छ त्यहाँ ।
यसको कारण नेतृत्वको नियत हो । नगरपालिकाको नेतृत्व र उनले नेता मान्ने नेता रोहितको नियतको कारण भक्तपुर नगरपालिकाको सेवा जनतामैत्री भएको छ । दुई देश र स्थानको उदाहरण दिनुको अर्थ, विकासका लागि नियत सर्वाधिक महत्वपूर्ण हो भन्नलाई हो । जति पनि देश विकसित भएका छन्, असल नियत भएको नेतृत्वबाट भएका छन् । प्रविधिको समस्या हो त ? केही हदसम्म प्रविधिको समस्या पनि हो । संसार एउटा गाउँजस्तो भएकाले एकदेशमा निस्केको प्रविधि अर्को देशमा आउन खासै समय लाग्दैन । विकासोन्मुख देशले त्यसमा लगानी गर्न सक्छन्, सक्दैनन् भन्नेसम्म मात्र हो । प्रविधिको हिसाबले हाम्रो देश धेरै कमजोर पनि छैन । नियत असल भएको नेता भएको अवस्थामा त्यस्ता प्रविधिहरू अनुदानमा पाउने सम्भावना पनि रहन्छ ।
व्यवस्थापनको समस्या पनि नियत जस्तै मूलभूत समस्या हो । संकट व्यवस्थापन हाम्रो शैली हो । कामचलाउ व्यवस्थापन भए पुग्यो, गुणस्तरीयता र सैवाग्राहीमैत्री भन्ने त तपसिलको विषय बन्न पुगेको छ । एउटा निकायसँग अर्को निकासको समन्वय छैन । धेरैमा बोक्रे र फोस्रो अहंकार छ । कानुनी समस्या पनि विकासको प्रमुख समस्या हो । खासगरी सार्वजनिक खरिद अनुगमनसम्बन्धी कानुन विकासमैत्री छैन । यसमा राखिएका कडा प्रावधान पनि नेपाली नेता कर्मचारीको नियतको कारण हो । तर, यस्ता कानुन खाल्डाखुल्डीरहित सडक बनाउने काममा बाधक सिद्ध भएका छन् । यीबाहेक पनि समस्या नभएका होइनन् ।
अर्को नयाँ समस्या भनेको नेपाली नेता कर्मचारीका लागि नेपाल दोस्रो घर जस्तो भएको छ । उनीहरूले माया गर्ने, त्यहाँका घटनाबाट प्रभावित हुने भनेको आफ्नो विस्थापित छोराछोरीको कर्मक्षेत्र भएको देश हो । जुन देश र समाजप्रति माया हुँदैन, त्यस्ता पदाधिकारीबाट देशले के आशा गर्ने ? भत्काएर छोड्ने, भत्काएपछि निर्माण हुन लामो समय लाग्ने, पिच र ढलान गरेका सडक बन्ने तर छोटो समयमा भत्किएपछि मर्मत सम्भार गर्न अर्को ठेक्का लाग्नुपर्ने, स्थायी रूपमा खाल्डाखुल्डीयुक्त सडक उपयोग गर्नुपर्ने ।
किन नेपालीले यो नियति भोग्नुपरेको, अरू देशका प्रणालीबद्ध गरेको काम हाम्रा नेता, कर्मचारीले किन गर्न नसकेको ? सडक पूर्वाधारका क्षेत्रमा काम गर्नेहरूलाई लज्जाबोध हुनुपर्ने हो । प्रभुहरू नियत राम्रो बनाऊँ, खाल्डाखुल्डीरहित सडक सामान्य विषय हो । अरू धेरै भौतिक विकास गर्न सकिन्छ । नेपालको विकास मोडल-खाल्डाखुल्डीयुक्त सडक भन्नुपर्ने लाजमर्दो अवस्था नबनाऊँ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच