कुनै पनि प्रविधात्मक लेखन साहित्यिक क्षेत्रका गहन गाढा स्वरूपभित्र पर्दैनन् र होइनन् पनि । आकारगत हिसाबले प्रविधाका ठूला स्वरूप भनेका गजल र हालैमा चर्चा ओगट्न सफल चारु हुन् । यिनमा पनि त्यो स्वरूपगत चौडा सरोवरको पूर्णतः अभाव छ । यसैले यिनका सञ्चालक, संवाहक, आविष्कारकसमेत यिनमा मात्र सन्तुष्ट हुन नसकी विधाविशेषका लेखनमा निरन्तर अभ्यासरत रहेका हामी पाउन सक्छौँ । लामो समय गजल अनुसन्धानको चूडान्तसम्म पुगेर विद्यावारिधि हासिल गर्ने घनश्याम न्यौपाने परिश्रमीसमेत यसमा सन्तुष्ट छैनन् भलै भएको कुरा उनी बाहिरी ओठले व्यक्त किन नगरून् ।
जन्मजात प्रकृतिले दिएको सहज प्रतिभाको क्षेत्र पनि उनको यो होइन भलै उनी सबै प्रविधामा हात चलाउन सफल किन नहून् तर उनलाई जन्मजात प्रकृतिले दिएको वरदानी गुण चाहिँ गजल नभएर पद्य-गद्यकविता लेखन नै हो । यस सन्दर्भमा यसलाई यत्ति कोट्याएर म सुसेलीको चर्चामा केन्द्रित भएको छु जसका आविष्कारक-अभियन्ता दुर्गा अकिारी भँमरकोटे हुन् जसलाई गाली गर्ने जति यसअघि नै गरिसकेको छु । आज सुसेलीको संरचना, यसको सीमा, यसको व्यापकतामा मात्र चर्चा सीमित रहने छ । मुखमा एक औँलोमात्र हालेर एउटा आवाज निकाल्न सकिन्छ, जम्मै औँला एकैपटक मुखमा घुसाएर पनि बेजोड रूपले एक प्रकारको आवाज निकाल्न पनि सकिन्छ, जिब्रोको आवर्तन-परावर्तनमा, आलोडन-विलोडनमा आवाजलाई तेज गतिमा उच्चरित गर्न पनि सकिन्छ, ती आवाजका नाम हुन्-सुसेलो, सुसेला, सुसेली ।
मनोरञ्जनात्मक तहमा हाइकु हल्का जसले जति बेला लेख्न सक्नेसमेत हुनसक्छ । साहित्यिक सौन्दर्यात्मक गहिराइमा सर्जक पुग्न सक्यो भने यसको अर्थगत विस्तारमा पाठकले डुबुल्की मार्नुपर्ने हुन जान्छ । तीनवटै पङ्क्तिमा रहेको यसको सर्वतन्त्र स्वतन्त्रता नै एकमात्र मर्म हो, मुटु हो ।
बच्चा बेलादेखि बैँसालु बेलासम्म घाँस-दाउरा गर्दा आलस्य उम्लिएका अवस्थामा यसको आवाज कुनै पनि तरिकाले निकाल्ना साथ स्फुर्ति पैदा भई कार्यक्षेत्रमा सक्रिय हुने जाँगरको उदय हुन्थ्यो, हुन्छ, हुने पनि छ । एक प्रकारको अन्तर ऊर्जा । न समय, न समूह । न योजना, न विशेष कार्य तयारी आलस्यमा नै जाँगरको जागरण उत्पन्न गराउने आफैँमा जीवनको व्यक्तिगत शक्ति हो सुसेली । उकालो उक्लिएर थकित भएका बेला उभिएर उत्साह उमार्ने शक्ति, लचकदार भारी बोकेर ओरालो झर्दा थकित पाइलालाई कसैले वा आफैँले गाएका गीतमा अन्तिम ऊर्जा दिने शक्ति सुसेली लेखनका तौरतरिकामा पाँच-सात-पाँचको निर्मितिमा रहन्छ । आकारगत आकारमा यो हाइकुसँग ठ्याम्मै मेल खान्छमात्र होइन हाइकु नै हो ।
सम्भवतः द्वितीय विश्वयुद्धको अन्धकार विभीषिकाले ध्वस्त भएको विश्व त्यसमा पनि विशेषतः जापानको अवस्था जर्जर भयो । पुनरुत्थानका लागि समाधिमग्न रहने जाप्निजको अठोट अनुसार श्रमको सागरमा डुबे । उनीहरूमा सिर्जना क्षेत्रमा लाग्ने फराक समयावसर रहेन तैपनि सिर्जना त गर्नै छ । यस समयाभावको स्थितिमा हुनसक्छ सायद सत्र अक्षरको छोटो संरचनामा निर्मित हाइकुको जन्म भयो । यसमा तीनवटै पङ्क्ति बाहिरी संरचनाका हिसाबले सर्वतन्त्र स्वतन्त्र हुन्छन् । अर्थगत हैसियतमा पनि यो अवस्था रहँदारहँदै गहिरो तादात्म्य चाहिँ तीनवटै पङ्क्तिमा रहेको हुन्छ । बिम्बात्मक व्यापकतामा यसको कलात्मक उचाइ अग्लन्छ ।
मनोरञ्जनात्मक तहमा यो हल्का जसले जतिबेला लेख्न सक्नेसमेत हुनसक्छ । साहित्यिक सौन्दर्यात्मक गहिराइमा सर्जक पुग्न सक्यो भने यसको अर्थगत विस्तारमा पाठकले डुबुल्की मार्नुपर्ने हुनजान्छ । तीनवटै पङ्क्तिमा रहेको यसको सर्वतन्त्र स्वतन्त्रता नै एकमात्र मर्म हो, मुटु हो । केही बुज्रुक पण्डितहरू संस्कृतका श्लोक भाँचेर, त्यसका स्वरूपमा आँच पुर्याएर हाम्रो माटोको, हाम्रो परम्पराको, हाम्रो आफ्नै जस्ता सीमित सोच र परम्परामा आँखा चिम्लेर हाम फाल्छन् । यत्रो भूमण्डलीकरणको विश्वमा जहाँबाट जसले सुरुवात गरे पनि आफू त्यसमा समाहित भएर उचाइ लिने । छिद्र खोतल्ने काम त तिनै समालोचकीय आँखा उघार्ने छिद्रान्वेषीहरूको हो जससँग सिर्जनाको हरियो संसार हुँदैहुँदैन या त भए पनि एकदमै कम हुन्छ । हेरौँ एउटा हाइकु–
पानीको दह
सिलिङ्बिलिङ् सर्प छन्
यौनोन्मादक
यी पङ्क्ति आफैँ बाहिरी संरचनाका तहमा स्वतन्त्र छन् र पनि अन्तर आर्थिक संरचनाका दृष्टिले एक अर्कामा समन्वित छन् । आबद्ध छन् । एक पदमात्र झिकिदियो भने सम्पूर्ण संरचना नै अर्कै बनाउनुपर्ने हुन्छ । तुक हुँदैन यसमा । तुक भयो भने यो हुँदैन । अन्त्यानुप्रास रहँदैन कतै । राख्यो भने यसको प्रविधागत स्वरूप नै अर्कै हुन्छ । यो हेर्न र बुझ्न कुनै अलग समय लगाउनु नै पर्दैन । काम गर्दागर्दै आँखा लगाएर मुसुक्क हाँसे भयो ।
केही बुज्रुक मेरा अलग मित्रहरू यसैलाई सुसेली भन्छन् र गाउँछन् । यसलाई नै सुसेली भन्ने हो भने हाइकु कहाँ छ त ? आफ्नोपनको वकालत गर्नेले अर्काका पनको पनि त रक्षा गर्न जान्नुपर्दछ । रक्षा नगरे पनि हस्तक्षेप गर्न त कुनै हालतमा पनि पाइँदैन । सुसेलीको छुट्टै पहिचान, अर्थ र अस्तित्व नभएको होइन, छ । यसका आविष्कारक वा अभियन्ता दुर्गा अधिकारी भँमरकोटेदेखि गुगलमिटमा अग्ला आसन जमाउनेसम्मले ठ्याक्कै हाइकुको स्वरूपलाई नै सुसेली भनेको सुन्दा म जस्तो मूर्खलाई त हाँस उठ्छ भने बुद्धिमान् बुझक्कडको हालत के होला ?
हाइकुबाट सुसेलीलाई छुट्याउने एकमात्र कारक तत्व हो अन्त्यानुप्रास । पहिलो र तेस्रो पङ्क्तिमा अन्त्यानुप्रास अनिवार्य चाहिन्छ । सुसेलीको अलग पहिचान र मुटु भनेको पहिलो र अन्तिम वा तेस्रो पङ्क्तिको अनुप्रास हो । अन्त्यानुप्रास नभए पनि हुन्छ भनेर नसोची जथाभावी जे पायो त्यही बोल्नेले सुसेली र हाइकुका बीचको अर्को अन्तर देखाउने हिम्मत गर्न सक्नुप¥यो ।
हाइकुबाट सुसेलीलाई छुट्याउने एकमात्र कारक तत्व हो अन्त्यानुप्रास । पहिलो र तेस्रो पङ्क्तिमा अन्त्यानुप्रास अनिवार्य चाहिन्छ । सुसेलीको अलग पहिचान र मुटु भनेको पहिलो र अन्तिम वा तेस्रो पङ्क्तिको अनुप्रास हो । अन्त्यानुप्रास नभए पनि हुन्छ भनेर नसोची जथाभावी जे पायो त्यही बोल्नेले सुसेली र हाइकुका बीचको अर्को अन्तर देखाउने हिम्मत गर्न सक्नुप¥यो, छ ? यही अन्त्यानुप्रासले सुसेली-सुसेली भएको छ । विनाअन्त्यानुप्रासले हाइकु-हाइकु भएको छ । अन्त्यानुप्रास नहुने शुष्क छ, रुखो छ, सुन्दाप नि पट्यार लाग्नेछ । उही बिम्बशक्तिलाई केलाएर झिकिने अर्थमा मात्र हाइकुको मर्म रहन्छ । सुरुकै पङ्क्तिमा प्राकृतिक- सामाजिक-मानसिक-पौराणिक-ऐतिहासिक-यौनिक बिम्बझड्कार हाइकुको अस्तित्व हो । सुमधुर अन्त्यानुप्रासिक अन्तर साङ्गीतिक लयधारको मनमुग्ध मिठास सुसेलीको प्राण हो । जस्तै-
सुन्दरता छ
आकाशको नीलिमा
मधुरता छ
वनको घारी
तीजका हिँड्छन् नारी
लतारी सारी
खोलो बढेर
सिञ्चित हुन्छ मान्छे
धेरै पढेर
कहाँ सुसेलीको अन्त्यानुप्रासीय सुमधुर साङ्गीतिक झङ्कार कहाँ हाइकुको शुष्क पहाडको चोटी ? सायद सबभन्दा बढी र निरन्तर नेपालमै बसेर नेपाली हाइकु लेख्ने व्यक्ति हुनुपर्छ-पुष्कर लोहनी । उनी कहाँ छन् ? कता छन् ? कमै व्यक्तिलाई थाहा होला तर भर्खर तोकिएर सुसेली नायक दुर्गा र सहयोगीहरू-चन्द्रा न्यौपाने, सुशीला ढकाल, रामशरण न्यौपाने, सुरेशचन्द्र घिमिरेका परिचयबाट अपरिचित हुने कमै होलान् । यो लेखनको सक्रियता र सिर्जनात्मक अन्तर लयमधुरताले गर्दा नै हो । अन्य प्रविधाका तुलनामा यो निकै सहज र आकर्षक पनि छ । साइनो अक्षर सङ्ख्यामा नै बढी र गायनमा लचकता आउनन सक्ने प्रविधा हो । यसलाई यसै अर्थमा वा आविष्कारकको अनुत्साहले हो त्यत्ति प्रचारप्रसारको व्यापकतामा ल्याउन सकेका छैनन् आविष्कारक छायादत्तले ।
अहिले निकै अगाडि प्रसारप्रचारमा रहेको कोपिला पनि सुसेलीका तुलनामा निकै जटिल छ । अनुप्रासको जटिलता र स्थायी भावगत शब्द छनोटमा यसले सर्जकलाई निकै अल्झाउँछ । गायनमा राम्रो प्रयास गर्नेले मात्र यसको अन्तर आकर्षण भेट्न पाउन सक्दछ । यति हुँदाहुँदै आविष्कारक गिरिराज डल्लाकोटीको केही समयअघिसम्मको गजब सक्रियता र सर्जकहरूका इमानदार प्रयासले ह्वात्तमाथि गयो । तुरुन्त सबैमा फेरि निराशा छाएर सुस्त तर चलिरहेकै छ । सजिलोकै कारणले सुसेलीमा आफ्नै पैसा खर्च गरेर भए पनि भटाभट कृति प्रकाशनको बाढी आएको छ । बाढी सुकेर झम्झम झरीको स्वरूप यसले लेला, लिने सम्भावना प्रशस्त देखिन्छन् पनि ।
यही रूपमा यो समूह सक्रिय हुने सम्भावना किन पनि छ भने केहीलाई छाडेर विधामा संलग्न भई सशक्त रूपले आफ्नो अस्तित्व राख्छु भन्ने व्यक्ति कमै छन् । यस मात्रमा सीमित भएर चाहिँ साहित्यिक प्रतिस्पर्धी अस्मिताको आलोकमा उभिन सकिँदैन । धेरै यस्ता नेपाली साहित्यकार छन् जो आविष्कारक बन्ने होडमा एक पङ्क्ति थपेर अर्को नाम दिने, दुई पङ्क्ति कुनै प्रविधाका झिकेर अर्को नाम दिने जस्ता होडबाजीमा उत्रेका तर सुसेली ती र त्यस्ता अन्तरगतमा नपरी कुनै प्रविधा विशेषमा अन्त्यानुप्रासीय मुटु प्रतिस्थापन गर्दै आफ्नो परिचय समाजसमक्ष घनीभूत बनाउन सफल भइसकेको छ । अझ परिमार्जित होस्को कामना ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर