नेपाल गणतन्त्रमा प्रवेश गरेको पनि बीस वर्ष हुन लाग्यो । आउँदो असोज तीन गने संविधान जारी भएको दश वर्ष हुँदैछ । गणतन्त्रको उपभोग नेपाली जनताले गरिसके । संविधानका विभिन्न धाराको व्याख्या र प्रयोग नेपालका राजनीतिक दल र न्यायालयले गरिसकेको छ । अब गणतन्त्रको दुहाइले नेपाली राजनीतिमा रोटी सेक्न सकिँदैन । संविधानको व्याख्या गरेर पनि नेपालीलाई उल्लु बनाउन मिल्दैन । सबै व्याख्या र सबै प्रयोग नेपालको राजनीतिले झेलिसक्यो । नेपाली जनताले त्यसको स्वाद चाखी पनि सके । जनता अबको समयमा संविधानको धारा र गणतन्त्र हाम्रो र हामीले ल्याएको हो भनेर झुक्किने समय पनि सकियो ।
अबको नेपालको पुस्तालाई यी दुबै व्याख्याले छुन सक्दैन । नेपालको आजको पुस्ता धेरै माथि गइसकेको छ । जीवनलाई र जीवन बाँच्ने कलालाई उसले चिनिसकेको छ । राजनीतिक दलमा देखापरेको अस्वस्थ प्रतिस्पर्धा, आफन्तवाद, भ्रष्टाचार र नेपाललाई खोक्रो बनाउने रणनीतिलाई पनि आजको पुस्ताले देखिसकेको छ । चिनिसकेको छ र बुझिसकेको छ ।
नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । यसका आफ्नै पहिचान र आफ्नै संस्कार विद्यमान छन् । नेपाली समाजको सामाजिक परिवेश पनि आफ्नै किसिमको रहेको पाइन्छ । यो सानो देशको राजनीति किन यति बिघ्न अस्वस्थ भयो यो जानकारी भने आजको पुस्तासित छैन ।
राजनीति कहिले पनि निषेधको हुनुहुँदैन । नेपालको संंविधानले सबैलाई स्वतन्त्रताको हक दिएको छ । संवैधानिक स्वतन्त्रताको प्रयोग आम नेपालीले गर्न पाउने अधिकार आज हामीसित छ तर गणतन्त्रपछिको राजनीतिमा निषेधको सूत्रपात गरियो । एकअर्काप्रति अविश्वासको राजनीतिले बाटो देखायो ।
आजको पुस्तासित छ राजनीतिमा भ्रष्टाचार, नियुक्तिमा आफन्त, किसानले आफ्नो परिश्रमको नपाएको मूल्य, देशलाई दक्ष जनशक्ति दिने गुरुहरूको क्रन्दन, नेताहरूले देखाएका सपनाका महल र भताभुङ्ग भएका उनीहरूको सपना, अध्ययन गरेर पनि विदेश जान बाध्य पार्ने गणतन्त्र, आफन्तलाई पोस्नमात्र जानेको राजनीति संस्कार, एक अर्काप्रति निषेधको राजनीतिलाई देखेका छन् । राजनीतिमा देखापरेको कमजोर राष्ट्रियताले देशको अवस्थालाई कमजोर बनाएको देखेको आजको पुस्ता राजनीतिबाट अलग्गै बसेको छ ।
स्वार्थी होइन देशको हितमा राजनीति होस्
राजनीति कहिले पनि निषेधको हुनुहुँदैन । नेपालको संंविधानले सबैलाई स्वतन्त्रताको हक दिएको छ । संवैधानिक स्वतन्त्रताको प्रयोग आमनेपालीले गर्न पाउने अधिकार आज हामीसित छ तर गणतन्त्रपछिको राजनीतिमा निषेधको सूत्रपात गरियो । एकअर्काप्रति अविश्वासको राजनीतिले बाटो देखायो । गत स्थानीय निर्वाचनमा विदेशमा रहेका नेपाली युवाले आफ्ना आमाबाबालाई काठमाडौंको मेयरमा बालेन्द्र साहलाई मतदान गर्नु भनेर उर्दी नै जारी गरे । नेपालको राजनीतिमा यो कस्तो अचम्म देखियो भने विदेशबाट नै बालेनप्रतिको धारणा र उनलाई काठमाडौंको महानगरप्रमुखमा सम्मान गर्ने परिवेश नै जन्मियो र उक्त निर्वाचनमा उनीहरू सफल पनि भए । बालेन काठमाडौं महानगरपालिकाका प्रमुखमा निर्वाचित भए ।
यो उनीप्रतिको विश्वास थियो काठमाडौं महानगरवासीको । उनले काठमाडौंलाई सुधार्न धेरै प्रयास गरेका छन् र सक्रिय पनि छन् । उनको राजनीतिमा काठमाडौंलाई प्राचीनताले सजिएको र आधुनिक मान्यतालाई अंगीकार गर्ने सहरका रूपमा विकास गर्नु थियो कति सम्भव होला हेर्न नै बाँकी छ । केही सुधार भने उनले गरेका छन् । ती सुधारले मात्र उनको राजनीतिक भविष्य सुरक्षित होला जस्तो लाग्दैन । तर, बालेनप्रति संघीय सरकार सदा असहिष्णु रह्यो र आजसम्म पनि असहिष्णु नै देखापरेको छ तर उनले आफूलाई काम गर्ने नगरपतिका रूपमा उभ्याएका छन् । यो उनको राजनीतिप्रतिको आस्थाभन्दा पनि कामप्रतिको विश्वास हो । यही विश्वास जित्न सफल भएका छन् बालेन आजको राजनीतिमा ।
पुराना दलप्रतिको आक्रोश गएको निर्वाचनमा देखिएको हो । पत्रकारितामा आफूलाई अब्बल मानेका रवि लामिछाने राजनीतिमा उत्रिए । उनको राजनीति गर्ने अभिलाषा पनि जनताको भावनालाई बोक्नु थियो । पुराना राजनीतिक दलले जनताप्रति गरेको धोकालाई सिँढी बनाएर आफूमाथि उक्लिनु थियो । उक्ले पनि । राजनीतिमा कदम राख्नासाथ जनताले उनलाई स्वीकार गरे पनि तर उनले विगतमा गरेको नराम्रो कामले उनलाई थुनामा पु¥यायो । उनको पार्टीका नेता र कार्यकर्ता रवि निर्दोष छन् भनेर कुर्लिरहेका छन् । के हुने हो उनको राजनीति उनले नै जानुन् । उनीप्रति पनि पुराना दलहरू केही असहिष्णु बनेर देखापरेका छन् । राजनीतिमा पार्टीले गरेका निर्णय मान्नुपर्दछ यो सत्य हो ।
पार्टीले जुन अवस्थाको निर्णय गर्दछ त्यसलाई पार्टी कार्यकर्ताले सहस्र स्वीकार गर्नु पनि पर्दछ तर नेपालको राजनीतिमा त्यसो हुनसकेको देखिएन । नेपाली कांग्रेसमा पार्टी सभापतिका वर्तमान सभापतिसित पराजित भएका शेखर कोइराला नेपाली कांग्रेसले गरेका निर्णयलाई चुनौती दिँदै भाषण गर्छन् । उनी प्रतिनिधिसभाका माननीय हुन् । उनले जनताका पिर, मर्का र जनताको अधिकारका बारेमा कहिलै पनि प्रतिनिधिसभाको बैठकमा बोलेको सुनिँदैन । उनी विभिन्न सभा समारोहमा पार्टीको निर्णय गलत र पार्टी सभापतिप्रति कटाक्ष गर्ने नेतामा पर्दछन् ।
नेपालको संवैधानिक व्यवस्था अनुसार सबैभन्दा बढी राष्ट्रपतिको भूमिका निर्वाह गरेकी विद्यादेवी भण्डारीले पनि राजनीतिमा आउने मनसाय राखिन् । उनले पनि राजनीति गर्ने अभिलाषा व्यक्त गरिन् । पार्टीमा देखापरेको ओलीवादका विरुद्ध मोर्चा खोलिन् । उनले पार्टीमा शुद्धीकरणको प्रस्ताव राखिन् । उनी एमालेमा अटाइनन् । ओलीले पाखा नै लगाइदिए । अहिले उनी राजनीतिमा सक्रिय हुने प्रयासमा छिन् । सफल हुनु वा नहुनु उनको क्रियाशीलताले देखाउने छ । उनी आउँदैमा ओलीको विश्वास डग्मगायो । ओलीले आफूलाई नै असुरक्षित देखे ।
आफ्ना कार्यकर्ता वा आफूलाई कम सहयोग गर्ने नेता नै भण्डारीप्रति सद्भाव राख्ने हुन् कि ? भन्ने चिन्ता उनमा पलाएको हो । त्यो अवस्था उनका लागि अप्रत्यासित थियो । उनले निर्णय नै गरिदिए कि राष्ट्रपति भएको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने भनेर । उनी चलाख राजनीतिकर्मी हुन् । बाँचुञ्जेल पदमा रहिरहनुपर्ने उनको मान्यता हो । शक्तिमा रहिएन भने पुजित हुन सकिँदैन भन्ने उनको पहिचान पनि हो । विद्यालाई पाखा लगाउन उनी सफल भए ।
दश वर्ष नेपालजस्तो सहनशील मुलुकलाई जाति, वर्ग, क्षेत्रका नाममा युद्धको भुमरीमा धकेलेका पुष्पकमल दाहाल पनि राजनीतिका चतुर खेलाडी मानिन्छन् । उनले पनि आफूलाई विरोध गर्ने जतिलाई सिद्धाएर नै छोडे । उनले आफूलाई नेकपा माओवादीको बाँचुञ्जेलको अध्यक्ष मानेका छन् । सम्भवतः यही तर्कको तातो पानीमा उनी हुर्किएका प्राणी हुन् । उनको विरोध वर्तमान समयमा जनार्दन शर्माले गरे । उनलाई पाखा लगाउन उनी प्रयासरत छन् तर सकेका छैनन् । कुनै दिन पार्टीबाट निकालेको खण्डमा आश्चर्यै मान्नुपर्ने अवस्था भने छैन ।
नेपालको विकासलाई प्राथमिकता दिने उद्देश्य लिएर गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता असल वक्ता हुन् । उनीहरूले राजनीतिलाई बुझेका पनि होलान् तर भाषणले र सरकारलाई जथाभावी सरापेरमात्र जनताले पत्याउँदैनन् भन्ने सन्दर्भलाई पनि बुझ्न आवश्यक देखिन्छ । उक्त पार्टीका अध्यक्ष आजकल थुनामा छन् ।
यति असहिष्णु र घेराबन्दीको राजनीति किन ? राजनीति जनताका लागि गरिने होइन र ? जनताका भावनासित खेलबाड गरेर पार्टीको राजनीतिमा नै आफूलाई सबल बनाउने उद्देश्य हो भने जनताका लागि भन्दै भाषण किन ? देशको विकासका लागि राजनीति गर्ने हो भने व्यक्ति निषेध किन ? यही कुरा खोजिरहेका छन् आजका नेपाली पनि । यसको उत्तर भने कुनै पार्टीका नेतासित छैन ।
निषेध नगरौं
नेपाली कांग्रेस देशको राजनीतिमा सबैभन्दा पुरानो राजनीतिक पार्टी हो । उसले प्रजातान्त्रिक अभ्यासलाई पालन पनि केही हदसम्म गरेको देखिन्छ । नेपालको राजनीतिमा तानाशाही प्रवृत्तिको अन्त्यका लागि सक्रिय रहेको पार्टीमा सभापति वा अन्य पदाधिकारीको खुलेर विरोध गर्न भने पाइन्छ । विरोध गर्नेलाई निषेध गर्न उक्त पार्टी जान्दैन पनि । कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । उक्त पार्टीका नेता भ्रष्टाचारमा डुबे पनि प्रजातान्त्रिक संस्कार कांग्रेसमा देखापरेको छ ।
राजनीतिमा निषेध गरियो भने अर्को पुस्ता राजनीतिमा आउन सक्दैन र पुरानो पुस्ता सकिएपछि राजनीतिक संस्कार भएको व्यक्तिको अभाव राजनीतिले बेहोर्नुपर्नेछ । राजनीतिमा संस्कार अभाव भयो भने राजनीतिले दिशाबोध पाउन सक्दैन । यही अवस्थाका कारण कसैले पनि राजनीतिमा निषेध नगरौं । नेकपा एमाले नेपालको राजनीतिमा इतिहास बोकेको पार्टी हो । उक्त पार्टीले विधान संशोधन गरेर नै पुनः ओलीलाई अध्यक्ष बनाउने मार्ग प्रशस्त गरिदियो । ओलीलाई चुनौती दिन आएकी पूर्वराष्ट्रपतिलाई निषेध नै गरिदियो ।
नेकपा माओवादी पनि वर्तमान अध्यक्षको विरोध गर्ने पाखा लाग्दै गए । एकल साम्राज्यमा आज पुष्पकमल दाहाल देखापरेका छन् । उनको राजनीति पनि निषेधको नै देखापरेको पाइन्छ । राजनीतिमा संस्कारको अभाव देखापरेको छ । राजनीतिमा आफूले गरेका काम र जनताप्रतिको उत्तरदायित्वले चिनिने हो । नेपालको राजनीतिमा त्यो हुनसकेन । राजनीतिक दलका प्रमुख आफूलाई नै पार्टी र कार्यकर्तालाई आफ्नो बनाउने कसरतमा लागिरहे । उनीहरू देशको विकास, उन्नति र प्रगतिको मार्गमा लाग्न सकेनन् । उनीहरू आफैंमा अल्मलिए । राजनीतिक दाउपेचमा नै आफूलाई समर्पित गरे । जसले गर्दा आजको पुस्ता राजनीतिबाट टाढा रहेको पाइयो ।
नेपालको विकासलाई प्राथमिकता दिने उद्देश्य लिएर गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता असल वक्ता हुन् । उनीहरूले राजनीतिलाई बुझेका पनि होलान् तर भाषणले र सरकारलाई जथाभावी सरापेरमात्र जनताले पत्याउँदैनन् भन्ने सन्दर्भलाई पनि बुझ्न आवश्यक देखिन्छ । उक्त पार्टीका अध्यक्ष आजकल थुनामा छन् । उनीमाथि आर्थिक अपचलन गरेको कुरा बाहिर आएको छ । अपचलन नगरेको भए धरौटी तिर्नलाई बैंक नै जमानी किन बस्थ्यो र ? रिहा भए भने उनले वर्तमान सरकार र सरकारमा रहेका दललाई सत्तोसराप गर्नेछन् । त्यो दिन चौरासीसम्म आउने हो वा होइन उनले गरेको कर्म र उनलाई मात्र जानकारी होला ।
त्यसैले संविधान प्रदत्त स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने अधिकार कसैलाई पनि छैन । बाध्य भएर छोराछोरी अध्ययनका लागि विदेश पठाउने आमाबाबा, जीवनरथ चलाउनका लागि अरब गएका नेपाली, कोरियामा कामदारका रूपमा गएका नेपाली, विभिन्न कागजात बनाउँदै यूरोपमा भासिएका नेपालीका अभिभावक पनि आज पीडामा छन् । सरकारले केही गरेन भन्नुभन्दा पनि गरेका विकासले नेपालीको पलायन रोक्न सकेन । सचेत बनेर युवाको पलायन रोकियो भने देशको पहिचान र राजनीतिमा स्वस्थता देखिने छ । निषेध कसैलाई नगरौं । निषेध गर्दा कुनै समयमा निषेधले विष्फोटको रूप लिनसक्ने अवस्थालाई नकार्न पनि सकिँदैन ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर