नेपालीमा एउटा उखान बडो प्रचलित छ । कसैलाई केको धन्दा तर घरज्वाइँलाई भने खानको धन्दा । यो उक्ति विनाकाम ससुरालीमा बसेको, सदा भान्साको चौको मात्रै हेर्ने, घरका मानिसबारे मनमनै खिचडी पकाउने, एकअर्कामा कुरा लगाउने र आनन्द लिने ज्वाइँलाई बिम्ब बनाएर हरेक आलसी, कुरौटे र लोभी मानिसहरूका लागि प्रयोग हुने गरेको छ । नेपाली राजनीति यस्तै बिम्बको प्रतीक देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली चीनमा हुनुहुन्छ । नेपाललाई हेप्ने दुई छिमेकी राष्ट्रहरूसँग सम्भव भएसम्म भेट्ने, आफ्नो अडान राख्ने प्रयासमा हुनुहुन्छ । कार्यान्वयन हुन्छ वा हुँदैन तर आफ्नो भनाइ स्पष्ट गरिरहनु भएको देखिन्छ ।
चीन र भारतका समकक्षीहरूले नेपालको अडानलाई कति सम्बोधन गर्दैछन् वा गर्दै छैनन् फरक विषय हो । तर, नेपालमा सकेसम्म प्रधानमन्त्रीको भ्रमण खुइल्याउन, अविश्वासको पहाड खडा गर्न र देशभित्रै विवाद छ भनेर देखाउन अनि सरकारका कामहरूमा विश्वास नभएको देखाउन एकाथरी सक्रिय देखिन्छन् । अर्कोथरीलाई यी सबैको कुनै चिन्ता देखिँदैन । घरज्वाइँ जस्तो गरी उनीहरू आफूनै पार्टीको विवादबाहेक केही पनि हेरिरहेका छैनन् । कमसेकम प्रधानमन्त्रीले उठाउनु भएका मुद्दा, चीन-भारतको दृष्टिकोण र नेपालको अवस्थामाथि यतिखेर गम्भीर विमर्श हुनुपर्ने थियो । सांघाई सहयोग संगठनले पश्चिमी विकसित देशहरूको दृष्टिकोण र यसबाट नेपालजस्तो विकासमा बामे सर्दै गरेको देशमा पर्ने असर पनि महत्वपूर्ण बौद्धिक विमर्शको विषयमा पर्नुपर्ने थियो । तर, दलभित्रका उकुसमुकुस र कब्जियतलाई निकास कसरी दिने, आउने निर्वाचनमा कति सामथ्र्य देखाउन सकिने, को-कसलाई कुन स्थानमा नियुक्ति दिलाउने नेपाली राजनीतिक नेतृत्व र बुद्धिजीवीहरूका बीच छलफलको विषय भएको देखिन्छ । यस्तो छलफलले कुनै राष्ट्रिय दृटिकोण बन्ने संभावना हुँदैन ।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीसँग भेट गर्नुभयो र नेपालका तर्फबाट प्रधानमन्त्रीले भन्नुभएका कुरामात्रै सार्वजनिक गरिएको छ । चीनको पक्षको भनाइ उनीहरूसँग प्रत्यक्ष सम्बन्ध ठानिएको विषयमात्रै सार्वजनिक भएको छ । उनीहरूले नेपालको सार्वभौम सर्वोच्चता भू-अखण्डता, स्वतन्त्रता र स्वाधीनताप्रति निरपेक्षभाव देखाए भन्ने स्पष्ट छ । उनीहरूको स्वार्थ उनीहरूकै प्रस्तावसँग मात्रै गाँसिएको देखियो । चीनका सार्वजनिक भएका तीनवटा प्रश्न वा प्रस्ताव छन् । पहिलो ग्लोबल सेक्युरिटी, दोस्रो ग्लोबल डेभलोप्मेन्ट र तेस्रो हो ग्लोबल कल्चर । चीन प्रत्यक्षतः नेपालसँग यी तीनवटा कुराको अपेक्षा गर्दछ र नेपाल सहमत भएको प्रकारान्तरको भनाई चिनियाँ पक्षको रहेको छ । यसअघि चीनले दुई पक्षीय हितका सन्दर्भमा नेपालको एक चीन नीति, नेपालको सीमाबाट कुनै पनि सुरक्षा चुनौती नहोस् भन्नेमा मात्रै केन्द्रित थियो । माओकालदेखि चीनको नीति यही रहे पनि अब फरक र खुला प्रस्ताव आउन लागेको अवस्था छ । चीनले बिआरआई योजना अघि सारेदेखि नै फरक रणनीतिको प्रयोग भइरहेको देखिन्छ । बिआरआईको बहसले नेपालमा एमसिसीको अर्को परियोजना मूर्त भएको छ । बिआरआईदेखि एमसिसीसम्मका रणनीतिहरूप्रति अर्को छिमेकी मित्र राष्ट्र भारत सचेत छैन भन्ने हुनसक्दैन ।
यी सन्दर्भलाई हेर्दा नेपालले ग्लोबल डेभलप्मेन्ट वा ग्लोबल कल्चररल सम्बन्धका विषयमा सहमति नगर्नुपर्ने कुनै कारण छैन । नेपालको विकास र सांस्कृतिक आदानप्रदान र सांस्कृति सम्बन्ध विस्तारबारे नेपाल सदा सकारात्मक हुनुपर्छ । यसै पनि चीन बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण जनमत रहेको देश हो । चीन र नेपाली समुदायका अनेक सांस्कृतिक पक्ष मिल्दाजुल्दा छन् । ती पक्षकाबीचमा सद्भाव रहनसके र आत्मीयता जनस्तरसम्म पुग्न सक्नेछ । तर, ग्लोबल सेक्युरिटीको मुद्दा गम्भीर छ । प्रधानमन्त्री ओलीले भारतलाई दबाब दिन चीनको यो प्रस्तावमाथि के टिप्पणी गर्नुभयो त्यो स्पष्ट भएको छैन । तर, उनीहरूको भनाइमा नेपाल सकारात्मक छ भन्ने देखिन्छ । यदि नेपाल सकारात्मक हो ग्लोबल सेक्युरिटी रणनीतिमा भने प्रधानमन्त्रीले यसमा नेपाल फर्कनासाथ प्रष्ट गर्नु आवश्यक छ । नेपाल कुनै हालतमा कसैको पनि सुरक्षा छाताभित्र प्रवेश गर्नु हुँदैन । चाहे चीनको होस् कि भारतको अथवा पश्चिमको । आत्मरक्षाका लागि वैकल्पिक उपायहरू भने खोज्नै पर्ने हुन्छ ।
नेपालमा भने शासकीय स्वार्थ र जयपराजयको भुत्ते खेल चलिरहेको छ । नेकपा एमालेसँग असन्तुष्टहरूको प्रतिक्रियात्मक परिणतिबाट जन्मेको नेकपा समाजवादीभित्रको झगडा पँधेरे झगडामा परिणत भएको छ । पँधेरामा पानी लिन जानेहरूका बीचमा चल्ने तँ तँ र म म को जस्तो अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको जुहारीले जग हँसाई गरेको छ । उहाँहरू दुबैजना इतिहास बोकेका नेता हुनुहुन्छ, दुबैजना प्रधानमन्त्रीको कुर्सीमा जमिसक्नु भएको छ । एमालेबाट पृथक भएको औचित्य स्थापित हुन नसकेको चिन्ता खनालमा देखिन्छ भने चिन्ता लिनेहरूले पार्टीमा किन बस्ने भन्ने आग्रह नेपालको छ । उहाँहरू राष्ट्रिय मुद्दाहरूदेखि निकै टाढा हुनुभएको छ । उहाँहरूको मुद्दा औचित्य, पश्चाताप र विस्थापनसँग प्रकट भइरहेको छ । कमसेकम आजको समयमा प्रधानमन्त्री चीनमा हुनुहुन्छ, पुराना सहकर्मी पनि हो । यतिखेर भारत र चीनका दुबै नेताहरूसँग उहाँको सम्वाद हुनुपर्नेछ । कसरी हो, कुन रूपमा हो विचारविमर्श गर्दै आफ्नो सुझाव प्रस्तुत गर्नुपर्ने थियो होला । आफूलाई चीनको निकै प्रिय ठान्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल त कमसेकम यो बेला प्रत्यक्ष धारणासहित प्रस्तुत हुनुपर्ने थियो । तर, उहाँ माधव नेपालको सेखी झार्न व्यस्त हुनुभएको छ । त्यही हालत माधवकुमार नेपालको पनि छ ।
अर्कोतिर प्रमुख प्रतिपक्ष माओवादी केन्द्रभित्र वितण्डा चलिरहेको छ । दुई नेताहरूको दन्तबझान् निरन्तर सुन्नु परिरहेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्मा ‘प्रभाकर’का थुतुनो पनि कम चलेको सुनिँदैन । चीनका नेता माओको नाममा पार्टीको नाम राख्ने यो पार्टी यतिखेर त्यही चीनसँग हारगुहार गरिरहेको, गुनासो गरिरहेको, असहमति जनाइरहेको देशको समस्यामा मौन हुनु आफैं दुर्भाग्यपूर्ण छ । अनि भारतको ‘भ’ सम्म उच्चारण गर्दा दण्डित होइन्छ कि भन्ने त्रास र आस पाल्ने अरू दलहरू र नेताहरू पनि छन् जो मौन छन् । यो मौनता आफैंभित्रको कायर मनोविज्ञान निसृत चिन्तनको परिणाम जस्तो देखिन्छ । अर्थात् सरकार यतिखेर एक्लै भारत र चीनसँग मधुरो स्वरमा भए पनि अडान राख्दैछ र अरू भने घरज्वाइँलाई खान हतार भएजस्तै शासकीय सत्ताको डोरी चुडाल्न कि आफ्नो आन्तरिक वर्चस्वलाई निरन्तर महामण्डित गर्न सक्रिय छन् । देशको दुर्गति सायद यसरी नै बढ्दै जाने होला ?







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर