काठमाडौं । नेकपा एमालेको दोस्रो विधान अधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको शक्तिसंघर्ष झन् बढ्दै गएको छ । एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २०-२२ मा हुँदै छ । दुवै पक्षले विधान अधिवेशनको लागि आ-आफ्नो तयारी गरिरहेका छन् । दुवै पक्षको आन्तरिक तयारी हेर्दा पार्टीको विधान अधिवेशनमा संस्थापन र असन्तुष्ट पक्ष आमनेसामने हुने सम्भावना बढेको छ । पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने पार्टीको पछिल्लो केन्द्रीय कमिटीको निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी पक्षधरका नेताहरूले विधान महाधिवेशनमा फरक दस्ताबेज ल्याउने तयारी गरिरहेका छन् । जसले आसन्न विधान महाधिवेशन र बैठकहरूमा थप ध्रुवीकरण बढ्ने देखिएको छ ।
पार्टीले विधि, प्रक्रिया र परम्परा मिचेर निर्णय गरेको र एमालेको मूल सिद्धान्त मानिएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)माथि नै नेतृत्वबाट प्रहार भइरहेको आरोप लगाउँदै विद्या भण्डारी पक्षधर नेताहरू फरक प्रतिवेदनको तयारीमा जुटेका हुन् । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली लगायतका नेताले प्रतिवेदन तयार पारेको भण्डारीनिकटका नेताहरूको भनाइ छ । निकट स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पोखरेलले नै विधान अधिवेशनको लागि फरक प्रतिवेदनको काम टुंगो लगाइसक्नु भएको छ । नीतिमा खास विमति नरहे पनि विद्या भण्डारीको सदस्यता प्रकरण र पार्टी सञ्चालन विधिमाथि प्रश्न उठाएर फरक मत लैजाने तयारी रहेको असन्तुष्ट पक्षको भनाइ छ ।
तर, अध्यक्ष ओलीले केही कुरा भए आधिकारिक दस्ताबेजमै समेट्ने तर फरक मत स्वीकार्य नहुने चेतावनी दिइसक्नु भएको छ । तर, केन्द्रीय कमिटीमा बोल्न निषेध गरेको भन्दै विद्या भण्डारी पक्षीय नेताहरूले फरक रायमा संख्या बढ्ने दाबी गरेका छन् । भण्डारी पक्षधरका नेताहरूले गत शुक्रबार डाकिएको केन्द्रीय समिति बैठकमै लिखित रूपमा फरक राय राख्नेगरी तयारी गरेका थिए । तर, बैठक स्थगितपछि उनीहरू थप चिढिएका छन् । फरक मतमा माहौल बन्दै गएको आंकलनपछि संस्थापन पक्ष केन्द्रीय समितिबाट हटेको भण्डारी पक्षको दाबी छ । तर, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने तयारी अपुग भएकाले बैठक स्थगित गरिएको दाबी गर्दै आउनुभएको छ ।
विधान अधिवेशनअघि केन्द्रीय कमिटी बैठक बस्ने सम्भावना लगभग सकिएको छ । चीन भ्रमणमा रहनुभएका अध्यक्ष ओली १८ गते राति स्वदेश फर्कने कार्यक्रम छ । २० गतेबाट विधान महाधिवेशन सुरु हुने भएकाले त्यसअघि केन्द्रीय समिति बैठकको सम्भावना क्षीण बनेको हो । केन्द्रीय कमिटी बैठकको साटो केन्द्रीय सचिवालय बैठक राख्ने एमालेको तयारी छ । भदौ ३ गते उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मत च्यासलस्थित कार्यालयमा दर्ता गरेका छन् । आफूहरूले केन्द्रीय कमिटी बैठकमा राखेको नोट अफ डिसेन्ट अपानीमा समावेश नगराएको भन्दै केन्द्रीय कार्यालय पुगेर उनीहरूले छलफलको माग गरिसकेका छन् । पार्टीद्वारा जारी अपानीमा पूर्वराष्ट्रपतिलाई सम्मानित हैसियतमा रहन दिनुपर्ने भन्दै छलफल/बहस नचलाउन निर्देश दिइएको थियो । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमाले विधान महाधिवेशन हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छपाइको काम भइरहेको छ । यस्तै, निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइकै क्रममा छ ।
विद्या भण्डारीको सदस्यताबारे निर्णय सच्याउने स्थिति बन्छ : उपाध्यक्ष पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी गर्नुभएको छ । उक्त निर्णय नसच्चिएसम्म आफूहरू लागिरहने जिकिर गर्दै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘एमालेका सदस्यभन्दा ठूलो शक्तिशाली कोही छैन । सदस्यहरूको डिटर्मिनेसन भएपछि कोही नेताको केही चल्दैन । जहाँबाट पनि स्थिति फर्कन बाध्य हुन्छ । हेर्दै जानुस्, हामीले भनेको कुरामा शंका लाग्नसक्छ, अर्को साक्षात्कारमा तिमीहरूले भनेको कुरा सत्य रहेछ भन्ने स्थिति आउँछ ।’ पार्टीमा सबैभन्दा ठूलो सदस्यहरू नै हुने भएकाले अन्य नेताहरूको केही नचल्ने जिकिर गर्दै पाण्डेले भन्नुभयो,‘विद्या भण्डारीको प्रवेशलाई पार्टीले रोक्छ जस्तो लाग्दैन । फर्कंदैन कि फर्कंदैन भनेको यो पार्टी पनि फरक्क फर्कने स्थिति देखिन्छ ।’ उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पार्टीको निर्णयमा आगामी विधान महाधिवेशनमा फरक मत रहने स्पष्ट पार्नुभएको छ । केन्द्रीय कमिटी बैठकमा आफूले फरक मत राखेको र उक्त विषय आगामी विधान महाधिवेशनमा पनि राख्ने जानकारी दिँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरू नेताहरूले फरक मत राख्नुभयो । त्यो अपानीमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र म संयुक्त रूपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौँ । स्वभाविक रूपमा आगामी विधान अधिवेशनमा हाम्रो यो फरक मत रहन्छ । आउँदो महाधिवेशनको विषयमा पनि हामी उठाउनेछौँ ।’
हीरक जयन्ती संयन्त्र पालिकासम्मै
पूर्वराष्ट्रपति भण्डारी पक्षले मदन हीरक जयन्ती समितिलाई देशभर विस्तार गर्ने भएको छ । एमाले पार्टीले च्यासलको ढोका निषेध गरेपछि भण्डारीले बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गको चार तले रातो घरको सम्पर्क कार्यालयमार्फत राजनीतिक गतिविधि बढाउनुभएको छ । उहाँले आफू धेरै अघि बढिसकेको र पछि नहट्ने बताउँदै आउनुभएको छ । ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’मार्फत देशव्यापी रूपमा जबजबारे बहस केन्द्रित गर्ने तयारी गरिएको छ । पूर्वराष्ट्रपति भण्डारीको यो अभियानमा एमालेका नेता–कार्यकर्ताहरू देखिएका छन् । समितिलाई जिल्ला–जिल्लामा विस्तार गर्ने योजना बनिरहेको समितिका एक सदस्यको दाबी छ । त्यस्तै, मदन भण्डारी फाउन्डेसनको तल्लोस्तरका संरचनालाई पनि आवश्यकताअनुसार गठन, पुनर्गठन गरी चलायमान बनाउने गरी तयारी भएको बताइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच