मध्यस्थता (आर्बिट्रेसन) विवाद समाधानको मुख्य उपायको रूपमा संसारभर प्रचलनमा रहेको छ । सूचना प्रविधिको युगान्तकारी विकाससँगै फैलिँदै गएको अन्तर्राष्ट्रिय व्यापार, लगानी र आर्थिक कारोबारको बढोत्तरीका साथ सिर्जना हुने विवादहरूको उपयुक्त समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मध्यस्थताको महत्व र आवश्यकता निरन्तर वृद्धि भइरहेको छ । विश्वपुँजीवाद र भूमण्डलीकरणको वर्तमान युगमा अधिकांश मुलुकले अन्तर्राष्ट्रिय लगानी वा वाणिज्यसम्बन्धी विवाद समाधानका लागि अन्तर्राष्ट्रिय मध्यस्थता ( इन्टरनेसनल आर्बिट्रेसन) स्वीकार गरी आफ्नो राष्ट्रिय कानुनमा समाविष्ट गर्ने गरेका छन् ।
मध्यस्थता भन्नाले विवादका पक्षले आ-आफ्नो इच्छा मुताविक छानेका व्यावसायिक मध्यस्थले विवाद समाधानका लागि दिने स्वतन्त्र र निष्पक्ष निर्णय स्वीकार गर्ने पद्धतिलाई बुझाउँछ । अर्को अर्थमा मध्यस्थतालाई आफैंले छानेका निजी न्यायाधीशले दिने निर्णयलाई विवादका पक्षहरूले पालना गर्ने विशिष्ट न्यायिक प्रक्रिया पनि भन्न सकिन्छ । वर्तमान विश्वमा न्याय निरूपणको परम्परागत झन्झटिलो अदालती पक्रियाको विकल्पमा मध्यस्थता (आर्बिट्रेसन)लाई छिटो छरितो, कम खर्चिलो र भरपर्दो उपायको रूपमा अघि बढाउने गरिएको छ ।
नेपालको कानुनी इतिहासमा पहिलो पटक विकास समिति गठन आदेश, २०१३ मा मध्यस्थतासम्बन्धी व्यवस्था समावेश गरियो । यस ऐनको दफा ९ मा ‘समितिसँग भएको कुनै सम्झौता र त्यसलाई कार्यान्वित गर्ने कुराका सम्बन्धमा उठ्ने झगडालाई निर्णयका लागि मध्यस्थ छेउ पठाउनुपर्ने र मध्यस्थले त्यस्तो झगडाको निर्णय गर्नेछ’ भन्ने उल्लेख भएको छ ।
विवादका पक्षहरूको उपस्थितिको आधारमा मध्यस्थतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । दावीकर्ता र प्रतिदावीकर्ता दुवै पक्ष एकै मुलुकका व्यक्ति रहेको विवादमा गरिने मध्यस्थतालाई आन्तरिक र दुई वा सोभन्दा बढी मुलुकका व्यक्तिहरू पक्ष–प्रतिपक्ष रहेको वाणिज्य वा लगानी र पुँजी परिचालनका मामिलामा उत्पन्न विवाद समाधानका लागि गरिने मध्यस्थतालाई अन्तर्राष्ट्रिय मध्यस्थताको रूपमा बुझिन्छ । कुनै काम गर्न वा नगर्न स्वेच्छाले गरेको करारबाट सिर्जित दायित्व निर्वाह गर्न सरोकारवाला पक्षलाई बाध्य तुल्याउने वा कुनै पक्षबाट करारका शर्त पालना नभएको अवस्थामा क्षतिपूर्तिलगायत कानुनी उपचार दिलाउन मध्यस्थता सहज, भरपर्दो र प्रभावकारी उपचार मानिन्छ । मध्यस्थतासम्बन्धी कानुन र अभ्यास मूलभूत रूपमा यसै सिद्धान्तबाट निर्देशित हुन्छन् ।
मध्यस्थता सेवा मूलतः विशेषज्ञ संस्थाहरूबाट प्रदान गरिन्छ । यदाकदा व्यक्तिगत रूपमा गरिने तदर्थ मध्यस्थता स्वीकार गर्ने प्रचलन रहे तापनि मध्यस्थताको दीर्घकालीन विश्वसनीयता र प्रभावकारीता भने संस्थागत मध्यस्थताबाट वृद्धि हुन्छ । बेलायत तथा सिंगापुरका मध्यस्थ संस्थाहरूले पुर्याएको योगदानको कारण अन्तर्राष्ट्रिय मध्यस्थताका लागि यी राष्ट्रहरू उत्तम गन्तव्यको रूपमा प्रसिद्ध छन् ।
संसारभर उत्पन्न हुने अन्तर्राष्ट्रिय लगानी तथा आर्थिक कारोबारका विवादमध्ये करिब ५० प्रतिशत विवादको मध्यस्थता बेलायतमा हुने गर्छ भने सिंगापुरको हकमा त राष्ट्रको कूल गार्हस्थ उत्पादनको पाँच प्रतिशत जति योगदान आर्बिट्रेसन सेवाबाट हुनेगर्छ भन्ने विज्ञहरूको भनाइ छ । नेपालमा संस्थागत मध्यस्थता सेवा प्रदान गर्न नेपाल इन्टरनेसनल एडिआर सेन्टर (एनआइएसी) जस्ता केही सीमित संस्था क्रियाशील रहेका छन् । एसिया प्यासिफिक सेन्टर फर आर्बिट्रेसन एण्ड मिडिएसन (अपकाम)को संस्थापक सदस्यको हैसियतमा एनआइएसीले अन्तर्राष्ट्रिय मध्यस्थता सेवा उपलब्ध गराइरहेको छ ।
नेपालको कानुनी इतिहासमा पहिलोपटक विकास समिति गठन आदेश, २०१३ मा मध्यस्थतासम्बन्धी व्यवस्था समावेश गरियो । यस ऐनको दफा ९ मा ‘समितिसँग भएको कुनै सम्झौता र त्यसलाई कार्यान्वित गर्ने कुराका सम्बन्धमा उठ्ने झगडालाई निर्णयका लागि मध्यस्थ छेउ पठाउनुपर्ने र मध्यस्थले त्यस्तो झगडाको निर्णय गर्नेछ’ भन्ने उल्लेख भएको छ । यसबाट नेपालले योजनाबद्ध विकास प्रक्रियाको थालनी गरेसँगै बढ्दै गएको लगानी तथा आर्थिक कारोकार र बदलिँदो विश्व व्यवस्थाले सिर्जना गरेका चुनौतीको सामना गर्न विवाद समाधानका लागि मध्यस्थतासम्बन्धी अवधारणा अंगीकार गरेको पुष्टि हुन्छ । मध्यस्थता सम्बन्धमा अलग्गै कानुनी प्रबन्ध भने मध्यस्थता ऐन २०३८ जारी भएपछि कार्यान्वयनमा आयो ।
हाल प्रचलनमा रहेको मध्यस्थता ऐन, २०५५ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मध्यस्थतासम्बन्धी प्रावधान कार्यान्वयनको मार्गप्रशस्त गरेको छ । मध्यस्थबाट भएका निर्णय सम्बन्धित जिल्ला अदालतले आफ्नै फैसलासरह कार्यान्वयन गर्नुपर्ने व्यवस्था यस ऐनमा गरिएको छ । ऐनको दफा ३४ ले विदेशमा भएको मध्यस्थको निर्णय नेपालको कानुन प्रतिकूल नहुने अवस्थासम्म नेपालमा मान्य हुने व्यवस्था गरी विश्वव्यापी मान्यताअनुरूप मध्यस्थको अन्तर्राष्ट्रिय क्षेत्राधिकार स्वीकार गरेको छ । यस व्यवस्थाले नेपालबाट समेत पारस्परिकताको आधारमा बाह्य मुलुक वा विदेशी नागरिकसँग सरोकार राख्ने विवादमा अन्तर्राष्ट्रिय मध्यस्थता सेवा प्रदान गर्न सकिने वातावरण थप सुनिस्चित गरेको छ ।
मध्यस्थता ऐन, २०५५ मा हालै भएको संशोधनमा द्रूत मध्यस्थताको प्रावधान थप गरिएबाट नेपालमा गरिने लगानी वा आर्थिक कारोबारका सम्बन्धमा उत्पन्न हुने विवाद मध्यस्थताको माध्यमबाट विनाझन्झट, छिटो छरितो र कम खर्चिलो ढंगले समाधान गर्न सकिने वातावरण तयार भएको हुँदा नेपालको आर्थिक विकासमा आन्तरिक तथा वैदेशिक लगानी र व्यापारिक कारोबार बढोत्तरी हुने अपेक्षा गरिएको छ ।
मध्यस्थता ऐन, २०५५ ले अन्तर्राष्ट्रिय व्यापार कानुनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनबाट पारित ‘अनसिट्रल मोडेल ल’ का प्रावधानलाई नेपाली परिवेशमा समावेश गरी विश्व समुदायसँग हातेमालो गर्दै अघि बढ्न मार्गप्रशस्त गरेको भए तापनि नेपालको न्यायिक पद्धतिभित्र मध्यस्थताको उपयोग, कार्यान्वयन र स्वीकार्यताको अवस्थामा भने अपेक्षाकृत प्रगति हुनसकेको छैन । कानुनले मध्यस्थको निर्णय दुवै पक्षलाई बाध्यकारी हुने व्यवस्था गरेको छ तर नेपालमा विवादका पक्षहरूले मध्यस्थबाट आफ्नो हितविपरीत निर्णय भएको अवस्थामा त्यस्तो निर्णय स्वीकार्न आनाकानी गर्ने गरेको पाइन्छ । सरकारी पक्ष संलग्न भएको विवादमा मध्यस्थले गरेको निर्णय कार्यान्वयनमा जिम्मेवार संस्थाको हैसियतले सरकार स्वयं अग्रसर बन्नुपर्नेमा मध्यस्थको निर्णय कार्यान्वयनतर्फ सरकारी पक्ष अझ बढी उदासीन रहने वा आलटाल गर्ने प्रवृत्ति देखिन्छ ।
मध्यस्थले निर्णय गर्दा पूर्ण निष्पक्षता, इमानदारीता र न्यायका मान्य सिद्धान्तमा आधारित भई गर्नुपर्छ । मध्यस्थको निर्णय अन्तिम हुने भएकाले यसविरुद्ध पुनरावेदन लाग्ने व्यवस्था हुँदैन । तर, मध्यस्थले गरेको निर्णय कानुनविपरीत रहेको वा आफूलाई प्राप्त अधिकारभन्दा बाहिर निर्णय भएको वा सार्वजनिक नीतिको प्रतिकूल भएको रहेछ भने त्यस्तो अवस्थामा उच्च अदालतले मध्यस्थको निर्णय बदर गर्न वा पुनः निर्णय गर्नू भनी आदेश दिनसक्ने कानुनी व्यवस्था छ । यस व्यवस्थाले मध्यस्थलाई निर्णय गर्नुभन्दा पहिले निष्पक्षता र आफ्नो अधिकारक्षेत्र तथा सार्वजनिक नीतिको बारेमा विशेष ख्याल गर्नुपर्ने र न्यायिक मनको प्रयोग गरेरमात्र निर्णय दिनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना गरी न्यायिक विचलन रोक्ने प्रयास गरेको छ ।
मध्यस्थताको प्रभावकारी कार्यान्वयन र विश्वसनीयता अभिवृद्धिका लागि न्यायपालिकाको पूर्णसहयोग, मार्गदर्शन र टेवाको आवश्यकता पर्छ । नेपालमा मध्यस्थता प्रक्रियालाई व्यवस्थित तुल्याउने कानुनी प्रबन्ध पर्याप्त रहेका छन् । अदालतहरूबाट समेत विवाद समाधानका वैकल्पिक उपायको कार्यान्वयनमा सामान्यतया सकारात्मक सहयोग प्राप्त हुनेगरेको छ ।
मध्यस्थताको सफलताको मूल आधार निर्णयमा निष्पक्षता र विश्वसनीयता, निर्णय कार्यान्वयनको प्रभावकारी व्यवस्था र मध्यस्थताकाप्रति न्यायपालिका र सरकारको दृढ प्रतिबद्धतासहित सकारात्मक सहयोग मुख्य हुन् । नेपालमा हुने मध्यस्थका निर्णयहरूको विश्वसनीयता र प्रभावकारिता सम्बन्धमा न्यायपालिका र विवादका पक्षसमेतले भरोसा गर्न नसकेको जस्तो महसुस भइरहेको हुँदा अन्तर्राष्ट्रिय समुदायमा आशंका रहनु अस्वाभाविक होइन । मध्यस्थता प्रक्रिया र यसको प्रभावकारिता अभिवृद्धिसँग सरोकार राख्ने सबै व्यक्ति वा निकाय यस अवस्थाप्रति गम्भीर बन्नु आवश्यक देखिन्छ ।
विवादका पक्षहरूले मध्यस्थको छनौट गर्दा संस्थागत मध्यस्थको खोजी नगरी आफ्नो हितमा निर्णय दिने विश्वास गरिएको व्यक्तिगत मध्यस्थको छनौट गर्न उद्यत् हुनेगरेको कारण नेपालको मध्यस्थताको विश्वसनीयता र प्रभावकारिता अभिवृद्धि हुन नसकेको बुझ्न सकिन्छ । बेलावखत मध्यस्थ नियुक्त भएका व्यक्तिको योग्यता, इमानदारिता, निष्पक्षता र व्यावसायिक निष्ठा जस्ता कुरासमेत मध्यस्थताको स्तर अभिवृद्धि हुन नसक्नु कारणका रूपमा देखापर्दछन् । मध्यस्थताको मूल्य र मान्यतानुरूप निष्पक्ष र इमानदारीपूर्वक सही निर्णय गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा कतिपय मध्यस्थ पेशागत आचरणविपरीत आफूलाई नियुक्त गर्ने पक्षसँग अनुचित हिमचिम गर्ने वा उसको हितमा निर्णय गर्ने चेष्टा गरी कहिलेकाहिँ निर्णयको वस्तुनिष्ठता र विश्वसनीयतामा आँच पुर्याउने कार्यमा संलग्न हुनेगरेको आलोचना हुनेगर्छ । मध्यस्थ स्वयंमा यस्तो सोच र कार्यशैली देखापर्नु मध्यस्थताको विकास र विश्वसनीयता अभिवृद्धिमा घातक मानिन्छ ।
मध्यस्थताको प्रभावकारी कार्यान्वयन र विश्वसनीयता अभिवृद्धिका लागि न्यायपालिकाको पूर्णसहयोग, मार्गदर्शन र टेवाको आवश्यकता पर्छ । नेपालमा मध्यस्थता प्रक्रियालाई व्यवस्थित तुल्याउने कानुनी प्रबन्ध पर्याप्त छन् । अदालतबाट समेत विवाद समाधानका वैकल्पिक उपायको कार्यान्वयनमा सामान्यतया सकारात्मक सहयोग प्राप्त हुनेगरेको छ । यसबखत मध्यस्थको भूमिका निर्वाह गर्ने संस्था वा विज्ञहरूको दक्षता र विश्वसनीयताको अलावा मध्यस्थता सेवा उपभोग गर्ने पक्षमा मध्यस्थताप्रतिको आस्था अभिवृद्धि गराउनेतर्फ विशेष जोड दिनु आवश्यक देखिन्छ । मध्यस्थले गर्ने विवाद समाधानको कार्य न्याय सम्पादन कार्यको एक हिस्सा भएको हुँदा न्यायपालिकाका सम्पूर्ण एकाइ तथा पदाधिकारीमा मध्यस्थताको अन्तर्राष्ट्रिय क्षेत्राधिकार र यसका प्रचलित मान्यता अनुरूप मध्यस्थतासम्बन्धी कार्यको समेत अभिभावकीय जिम्मेवारी लिनुपर्छ भन्ने अझ परिस्कृत र उच्च सुझबुझयुक्त बुझाइ तथा सो अनुरूपको व्यवहार आवश्यक पर्दछ ।
मध्यस्थता प्रक्रियासँग सम्बद्ध व्यक्ति वा निकायबाट आवश्यक सजगतासहित आ-आफ्नो क्षेत्रमा सुधारको प्रयास हुनसकेको अवस्थामा नेपालमा गरिने मध्यस्थता (आर्बिट्रेसन) को निष्पक्षता र विश्वसनीयताप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देखापरेको आशंका निवारण हुने र मध्यस्थतासम्बन्धी कानुनले अपेक्षा गरे बमोजिम नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी वा व्यापार वृद्धि हुनुको साथै मध्यस्थताको प्रक्रियाले समेत आत्मविश्वासपूर्ण गति लिने अपेक्षा गर्न सकिन्छ । (नेपाल सरकारका पूर्वसहसचिव खतिवडा हाल कानुन व्यवसायमा संलग्न हुनुहुन्छ ।)






जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,