विक्रम संवत् २०८२ भाद्र २२ गते खग्रास चन्द्रग्रहण लाग्नेछन् । ग्रहण भनेको ग्राह्य र ग्राहकबीचको सम्बन्ध हो । सामान्य अर्थमा पृथ्वीको छायाँले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ । ग्रहण लागेका समय दान पुण्यका लागि अति उत्तम मानिएको छ । स्मृति पुराणले पनि जप र दानका लागि ग्रहणको समय उत्तम हो भन्ने चर्चा गरेका छन् । स्नान, जप, दानका लागि ग्रहण उत्तम समय हो भन्दै भास्कराचार्यले पनि स्मृति पुराणको वचनलाई यसरी स्मरण गरेका छन् :
‘बहुफलं जपदान हुतादिके स्मृतिपुराणविदः प्रवदन्ति हि । सदुपयोगि जने सचमत्कृति ग्रहणमिन्द्विनयोः कथयाम्यतः ।।’
(सिद्धान्तशिरोमणि, चन्द्रग्रहणधिकार, श्लो. १) अर्थात् जप, दान, यज्ञाहुति आदि गर्नका लागि ग्रहण उत्तम अवसर हो । यो आकाशमा देखिने एक चमत्कृति पनि हो ।
यो ग्रहण एशिया, युरोप, अफ्रिका, अष्ट्रेलियाबाट देख्न सकिनेछ । ग्रहणको कम्तीमा केही भाग देख्ने क्षेत्रहरू : युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिकामा पश्चिम, दक्षिण अमेरिकामा पूर्व, प्रशान्त, एट्लान्टिक, हिन्द महासागर, आर्कटिक, अन्टार्कटिका हुन् । यो ग्रहण पूर्वी अफ्रिका, एसिया र अष्ट्रेलियामा पूर्णरूपमा देखिनेछ ।
पृथ्वीको छायाँभित्र चन्द्रमा प्रवेश गरेको अवस्थामा चन्द्र ग्रहण लाग्ने गर्दछ । ‘भूच्छायां प्राङ्मुखश्चन्द्रो विशत्यस्य भवेदसौ ।।’ (सूर्य सिद्धान्त, चन्द्रग्रहणाधिकार, श्लो. ९) अर्थात् पूर्वाभिमुख भ्रमण गरिरहेको चन्द्रमा पृथ्वीको छायाँमा प्रवेश गर्दा चन्द्रमाको दृश्यभाग छोपिन्छ र चन्द्रग्रण लाग्छ । भूबिम्बमा चन्द्रमाको सदा पूर्वभाग प्रवेश हुने भएकाले चन्द्रग्रहणमा चन्द्रबिम्बको पूर्वदिशामा स्पर्श र पश्चिम भागबाट मोक्ष हुने गर्दछ । पृथ्वीको छायाँ निरन्तर क्रान्तिवृत्त (सूर्य हिँड्ने वृत्त वा बाटो) मा हिँड्छ तर चन्द्रमाको हिँड्ने बाटो छुट्टै छ । अर्थात् चन्द्रमा क्रान्तिवृत्तभन्दा अन्यत्रैबाट स्वविमण्डलमा घुमिरहेको हुन्छन् ।
क्रान्तिवृत्तको र चन्द्रभ्रमणमार्ग (चन्द्रविमण्डल) को जहाँ सम्पात हुन्छ ती स्थानलाई पात भनिन्छ । यी पात मध्येको उत्तरी सम्पातलाई राहु र दक्षिणी सम्पातलाई केतु भनिएको हो । राहु-केतुको स्वतन्त्र पिण्डीय अस्तित्व छैन । यस्तो पातस्थानमा वा पातासन्न स्थानमा चन्द्रमा पुगेको र पूर्णिमा पनि परेको अवस्था भए मात्र चन्द्रग्रहण लाग्नसक्छ । सबै पूर्णिमामा यस्तो स्थिति हुन सक्दैन र हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको बाटोले पृथ्वीको बाटोसित अन्दाजी ५ डिग्रीको कोण बनाउने गर्दछ । तसर्थ चन्द्र, पृथ्वी र सूर्य एउटै सोझो रेखामा नपर्न सक्छन् । जुन बेला पर्छन् त्यस बेलामात्र चन्द्रग्रहण लाग्ने भएकाले सबै पूर्णिमामा यस्तो स्थिति (चन्द्र, सूर्य र पृथ्वीको एउटै सरल रेखामा पर्ने स्थिति) नपर्ने भएकाले सबै पूर्णिमामा चन्द्रग्रहण नलागेको हो ।
चन्द्रग्रहणका प्रकार
चन्द्रग्रण दुई प्रकारका हुन्छन् :
१) पूर्ण वा खग्रास चन्द्रग्रहण र २) खण्डग्रास चन्द्रग्रहण । चन्द्रमाको पूरै भाग पृथ्वीको छायाँमा पर्दा पूर्णग्रास वा खग्रास चन्द्रग्रहण हुन्छ । यसैगरी चन्द्रमाको केही भागमात्र पृथ्वीको छायाँमा पर्छ भने खण्डग्रस चन्द्र ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमा आमनेसामने १८० अंशको अन्तरमा भएको समयका चन्द्रग्रहण लाग्ने गर्दछ । पूर्णान्त कालमा नै चन्द्रग्रहण सम्भव हुन्छ । यसरी चन्द्रग्रहण लाग्दा पूर्वमा स्पर्श र पश्चिम दिशामा मोक्ष हुने गर्दछ ।
यसवर्ष २०८२ भाद्र २२ गतेको चन्द्रग्रहण
यसवर्ष २०८२ भाद्र २२ गते खग्रास चन्द्रग्रहण लाग्नेछन् । ईशवीय वर्षको ७/८ सेप्टेम्बर सन् २०२५ को राति योग ग्रहण आकाशमा देख्न सकिन्छ । ग्रहण नेपाललगायत एसियाका अधिकांश भूभागका साथै अष्ट्रेलिया एवं अफ्रिकाबाट पनि देख्न सकिन्छ । काठमाडौँमा राति १०.११ बाट स्पर्श हुने खग्रास चन्द्रग्रहण रातिकै ११.१५ सम्मीलन, ११।५६ बजे मध्य, १२.३८ बजे उन्मीलन अनि राति १.४१ बजे मोक्ष हुनेछ । यसरी समग्रमा ३ घण्टा ३० मिनेटको खग्रास चन्द्रग्रहण आकाशमा देख्न सकिन्छ ।
यो ग्रहण एशिया, युरोप, अफ्रिका, अष्ट्रेलियाबाट देख्न सकिनेछ । ग्रहणको कम्तिमा केही भाग देख्ने क्षेत्रहरूः युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका, उत्तर अमेरिकामा पश्चिम, दक्षिण अमेरिकामा पूर्व, प्रशान्त, एट्लान्टिक, हिन्द महासागर, आर्कटिक, अन्टार्कटिका हुन् । यो ग्रहण पूर्वी अफ्रिका, एसिया र अष्ट्रेलियामा पूर्णरूपमा देखिनेछ । यसैगरी यो ग्रहण अफ्रिका र युरोपका अधिकांश भागमा उदाउँदा देख्न सकिन्छ भने मध्य प्रशान्त महासागरमा अस्ताउँदा देख्न सकिन्छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रका दिन कुम्भ राशिमा ग्रहण लाग्नेछ ।
कुन राशिलाई ग्रहण हेर्दा के फल ?
मेष राशि : ग्रहण शुभदायी रहनेछ, फल लाभ बताइएको छ ।
वृष राशि : ग्रहण दर्शन सुखद् रहनेछ फल सुख बताइएको छ ।
मिथुन राशि : ग्रहण दर्शन अशुभ रहनेछ, फल माननाश बताइएको छ ।
कर्कट राशि : ग्रहण दर्शन कष्टदायी रहनेछ ।
सिंह राशि : ग्रहण फल स्त्रीपीडा बताइएको छ अतः ग्रहणको दर्शन नगर्नु नै उचित हुनेछ ।
कन्या राशि : ग्रहण दर्शन सुखदायक रहनेछ फल सौख्यम् बताइएको छ ।
तुला राशि ; ग्रहण फल चिन्ता बताइएको छ, अतः ग्रहण दर्शनले चिन्ता निम्त्याउन सक्नेछ ।
वृश्चिक राशि ; ग्रहण दर्शन अशुभदायी रहनेछ फल व्यथा बताइएको छ ।
धनु राशि : ग्रहण दर्शनले श्रीप्राप्ति हुने फल बताइएकाले शुभ रहनेछ ।
मकर राशि : यो ग्रहण दर्शन फल क्षति बताइएकाले अशुभ रहनेछ ।
कुम्भ राशि : कुम्भ राशिमै ग्रहण लाग्ने भएकाले फल घात बताइएको छ ।
मीन राशि : ग्रहण दर्श खर्चदायी रहनेछ, फल व्यय बताइएको छ ।
ग्रहणको सुतक र बार्नु पर्ने कार्य
२०८२ साल भाद्र २२ गते दिवा १।११ मिनेटबाट ग्रहणको सूतक आरम्भ हुन्छ भने राति १।४१ बजे सूतक समापन हुनेछ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र अनि कुम्भ राशिमा ग्रहण लाग्ने भएकाले यी नक्षत्र र राशि भएका व्यक्तिलाई ग्रहण दर्शन अतिकष्टदयी रहने ग्रहण फल मुहूर्तचिन्तामणिमा बताइएको छ । ग्रहण लागेको समयलाई विद्ध मानिन्छ । त्यसैले सुतक बार्नुपर्ने शास्त्रीय विधान रहेको छ । ‘सूर्यग्रहे ग्रहणप्रहरादर्वाक् यामचतुष्टयं वेधः । चन्द्रग्रहे तु प्रहरत्रयम् ।’ (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ.२७)
ग्रहण लागेको समयमा जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनुभन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ । यस समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
अर्थात् सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा ३ प्रहर अर्थात् ९ घण्टा अघिदेखि सुतक लाग्छ भनिएको छ । यसैले बाल, वृद्ध र आतुरबाहेक अरूलाई शास्त्रले भोजनादि निषेध गरेको छ । ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृङ्गार, शौच, बध, अरूलाई कष्ट हुने कार्य बर्जित रहन्छन् ।
‘ग्रहणकाले शयने कृते रोगो मूत्रे दारिद्रयं पुरीषे कृमिर्मैथुने ग्रामसुकरोभ्यग कुष्ठी भोजने नरक इति ।’ (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ. २७) यसैगरी अर्को श्लोक पनि पाइन्छ :
‘निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् ।
पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।
आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः ।
बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।।’
अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोग लाग्नसक्छ, शौचादि कार्य गर्नाले दारिद्य्र हुन्छ । दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्नसक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भनी उल्लेख गरिएको छ । यसैगरी ग्रहणमा श्राद्ध गर्नु शुभ भए पनि श्राद्धको भोजन भने गर्नुहुँदैन ।
ग्रहणमा कस्ता कार्य गर्नु शुभ हुन्छ ?
ग्रहण लागेको समयमा जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनुभन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ । यस समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभदायी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ । तुलादान ग्रहणमा शुभ मानिएको छ (निर्णयसिन्धु, पृ.४२) ।
पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । विशेषतः ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, दान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको हो । विकृत समयमा गरिएको भोजनले पनि शरीरमा कष्ट प्रदान गर्ने भएकाले भोजन निषेध धर्मशास्त्रले गरेको हो । ग्रहण लग्नुपूर्व र परका तीन दिनसम्म विशेष काम्यकर्मलाई शास्त्रले निषेध गरेको छ । यसरी ग्रहणले भौतिक र आध्यात्मिक दुवै पक्षको वहन गरेको छ । मूलतः आध्यात्मिक रूपमा ग्रहण विशेष रहने गर्दछ ।






काँग्रेसलाई विधि र लोकतान्त्रिक मूल्यमान्यताअनुसार
हेटौँडामा धारिलो हतियार प्रहारबाट चार
हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जामध्ये
मुलुकको निराशालाई आशामा बदल्ने दायित्व
नेपाली अटो मेकानिक्सले चीनको एसआरएम
आईजीपीमाथिको आरोपमा सांसद खगेन्द्र सुनारको