वरिपरि स-साना डाँडाले सुरक्षाकवज भरेको छ गाउँ । चार दिशामध्ये पूर्वतिर केही खुला छ । हामी कति भाग्यमानी ! बिहान सूर्यको पहिलो किरणले ओछ्यानमै म्वाँई खान्छ । आनन्दको अपरिमित पल त्यहिँ मिल्छ । दुःख र ऐठनले कहिल्यै पिरोलिएको अनुभव छैन् । त्यो म्वाँई खान मेरो बेडमै आइपुग्ने घामको किरण लुट्न मनलाग्छ जहिल्यै । पटक्कै डर लाग्दैन् । भित्तामा झुण्याइएका बाजेबजैका श्यामश्वेत तस्वीरमा पहिले ठोकिन्छ-त्यो घामको लालिमा र म भएतिर आउँछ । अनि मसँग केहीबेर झुत्ति खेलेर परतिर जान्छ । मेरो भर्खर निदबाट उन्मुक्ति पाउँदै गरेका आँखाहरू सफा बनाउँछ । त्यो लालिमासँगै ममा ताजापनको अनुभूति मिल्छ । सुखले फणा जगाउँछ । शरीरमा उत्साहले सञ्चार गर्छ ।
यसो झ्याल खोलेर हेर्छु । घरको उत्तरतिरको त्यो वरपिपल मैले देखेदेखि त्यस्तै छ । वरपिपलको छेउमा बनाइएको ढुँगेधारा वर्षौदेखि उसैगरी एकैनास खसिरहेछ । नजिककै खोला वर्षामा आउँछ आफ्नो उदण्डता देखाउँदै । हिउँदमा बग्छ सानो भएर एकनास । ती सबै मेरा बाल्यकालका दैनिकीका साक्षी हुन् । मेरा हरप्रकारका हर्कतहरूसँग बेखवर छैनन् तिनीहरू । वरपिपल नजिकको चउर जहाँ वर्षौंदेखि खेल्दै आएको म दौतरीहरूसँग । तर, त्यो भने दिनानुदिन साँघुरो हुन लागेको छ । वरपरका जग्गावाला छिमेकीहरूले अलिअलि च्याप्न थालेपछि के गरोस त नसाँघुरिएर । च्याप्नेहरूले मिचिहाले, अरूलाई मतलब लागेन् । सधिँयारहरूले सुन्दर चउर कोपर्दा विरूप छ विचरा । यो यही चउर हो बच्चामा हामी पानीढुँगे खेल्थ्यौं । शारीरिक शिक्षा पढाउने सरले तातोआलु खेलाएको पनि यही हो । उहिले मेरी हजुरआमाले गाई चराएको चउर हो यो । गाउँका ठूलाबाहरू र काकाहरू बाउन्न पत्ती खेल्थे–बिहान उज्यालो हुँदादेखि साँझ नढल्दासम्म यही चउरमा । हामी केटाकेटी बुढाहरूले फालेका तासका टुक्राहरू भेला पारेर तासका पत्ति बनाउँदै खेल्थ्यौं ऐँसेलुको झाङमुनि लुकेर । काम गरेर थाकेकाहरू आएर फरक मार्थे यही वरपिपलको छहारी भएको चउरमा । चैतको धापिलो धूपमा वरिपरिका हजुरबाहरू जम्मा भएर जिन्दगीका भोगाइका हिसाब-किताब एकअर्कालाई सुनाउँथे । यति धेरै महत्वको यो चौर अहिले झन् साँघुरो भएर विरूप मुखाकृतिमा लमतन्न पल्टेको छ मन दुखाउँदै ।
हजुरआमाले भन्नुहुन्थ्यो बोक्सीका किस्सा । अलिअलि उत्साही मन र धेरै भयभीत भावमा म सुन्थे । पहिले त्यो वरपिपलको छेउमा भएको ढुँगेधारामा जब रात पर्छ, बढ्दै जान्छ नि चूक घोप्टेजसरी अध्याँरो । अनि झाँक्रा फिजाउँदै आउँछे । त्यहाँ नुहाउँछे । अनि हत्केलामा पिपलको रूख बोक्छे । र, के-के गर्दै लाग्छे अघि साघुँको मुखसम्म । त्यहाँबाट कता जान्छे थाहै भएन । अहो ! म कति डराएँ हजुरमाको कुराले ।
भूतप्रेत के हो ? भन्ने बारेमा मात्र नभएर हाम्रा रुढी मूल्य र मान्यतालाई यसले चिरेको थियो । अनि मलाई लाग्यो सायद अनावश्यक डर, त्रास, भय पुस्तान्तरण हुँदै आउँदोरहेछ संस्कार र संस्कृति जस्तै । जसरी हजुरआमाहरूमा बोक्सीको त्रास आयो ।
फेरि उहाँले थप्नु भो-‘उतिबेला घडीको चलन होइन् । घाम र आकाशका जुन अन्दाज गरेर समय नापिन्थ्यो । एकरातको कुरा म ब्यूँझिएँ । सिकुवाको झ्याल खोलेर हेरें । मध्यरात नै रहेछ । यसो पिपलको बोटतिर आँखा गयो । त्यहाँ एउटा आइमाई मज्जाले शरीर मिचिमिचि नुहाइरहेकी थिई । अनि मैले तेरो हजुरबालाई नि बोलाएर देखाएँ । हामी दुईले हेरेउँ । आकाशमा टहटह जून लागेका थिए । त्यही जूनको उज्यालोमा । तर चिन्न भने सकेनौं । उही पारा भो । त्यो पिपललाई हत्केलामा लिएर स्कुल पछाडिको साँघुतिर लागेर ओझेल परि ।’
हजुरआमाको कुराले मन झसँग भयो । उसैउसै डरायो मन । मैले भाइलाई भनें हामी पनि हेरुँम् न । कस्तो मुखाकृतिमा रैछ । को रैछ । के गर्दैछ सबै हेरुँम् । मन डराए पनि जिज्ञासा मरेन् । अनि पटक–पटक रातभर जागा बसेउ दुई भाइ । बत्ती निभाउँथ्यौं । तर, झ्याल खुला राख्थ्यौं । तर अहँ ! न भाइले देख्यो न मैले । बेकार मनमात्रै डरायो । फेरि हजुरामालाई बेलिबिस्तार लगाएँ । तिमीहरू बसेको थाहा पाएर त्यो आउन छोडी । फेरि हजुरआमाले जित्नु भो ।
मुसेखोल्सीको कुवामा पानी लिन जान्छु भनेर एक बिहानै निस्केकी भनिएकी मेरो आमा । समय कति भयो पत्तो पाइनन् रे । उनले सोचिछिन् बिहान चारजति बज्यो होला । निद परेन् । के भो त आ..जान्छु पानी लिन् । पानी भर्ने कुवाभन्दा बीस मिटर पर एउटी मान्छेको आकृति नुहाइरहेको रहेछ । मनमनै सोचिन रे आमाले पल्लोघरको बाबु जहिल्यै छिट्टै उठ्छन् । आज कतै जानु छ होला वा श्राद्ध वा पुष्य कार्य केही होला अनुमान लगाइछिन् । मुख धोएर गाग्रीमा पानी उभ्याइछिन् कुवाबाट । उनले घरतर्फको बाटो तताइन् । घरमा गएर कुँडो बसालिन् । आँगनमा गएर हेरिन । कसैको घरमा उज्यालो चालचुल नाई । होइन मध्यरातै रहेछ कि के । आमाले गएर बुबालाई उठाइछिन् । बाले नाडीमा बाँधेको एचएमटी घडी टुकीको उज्यालोमा हेरेछन् । मध्यरात बितेर पन्ध्र मिनेट गएको रहेछ ।
आमा चुपचाप बुइगेलको सिकुवाको झ्यालबाट पर तल वरपिपलको रूख र त्यहाँको धारोतर्फ आँखा लगाइन् । एउटा मान्छे अझै नुहाइरहेजस्तो लाग्छ । फेरि पिताजीलाई उठाइछिन् । तर, पिताजीले केही देखेनन् रे ! खै के खै के । आमाबुबाले भोलिपल्ट बिहान चिया पिउँदा यही सुनाए ।
मन जिज्ञासु थियो मेरो । आमा झुठ बोल्दिनन् भन्ने पनि थाहा छ मलाई । हजुरामा र आमाका कुरा भने मिले । तर फेरि बाले ठोकुवा गर्न सकेनन् । मन डरायो पनि । अर्को मनमा हाँसो पनि पलायो । के होला त । फेरि परीक्षण गर्ने भन्ने निष्कर्षमा पुगँे । अब भाइलाई केही भन्दिन् एक्लै मध्यरात पर्खन्छु नसुति भन्ने लाग्यो । मनमा जिज्ञासाका कैयन् छाल आइरहे । मेरो आँखा भने रातको ११ बजेदेखि तीन मिनेटको फरकमा खुसुक्क झ्याबाट चिहाउन उद्दत थियो । जिज्ञासा मिश्रित मन अलिकति कौतुहलता, अलिकति त्रास दुबै बोकेर अध्याँरोमा निद माया मारेर झ्याल छेउ बसिरहेँ ।
छटपटी छ उस्तै । रात क्रमशः ओरालो लाग्दैछ । तर, अहँ ! म घण्टौं कुरिबसें । चिहाइरहेँ झ्यालको जस्केलाबाट । केही देखिन सिवाय अँध्यारोको साम्राज्य । सास च्यापेरै बसेथेँ । तर, हातलाग्यो शून्य । आ होस् भन्ने लाग्यो । सुतेँ । भोलिपल्ट हजुरामालाई भने । उहाँले कहाँ बुधबार आउँछे त भनेर भन्नु भो । ए, बोक्सी त आफ्नो निर्धारित बारमा आउँने रहिछे भन्ने बालमनोविज्ञानले घर ग¥यो मनमा । आजदेखि दिनहूँ बस्छु भन्ने लाग्यो । बास्तवमै अलिकति भय र धेरै उत्साह बोकेर बसेथेँ म । तर, हातलाग्यो शून्य यही ताल भो आज पनि । अबदेखि नबस्ने भनेर त्यो ध्याउन्न गर्न छोडिदिएँ ।
अचम्मै लाग्यो । मनभित्र लहराएका जिज्ञासु लहर उस्तै थिए । सत्य पत्ता लगाउने उत्कठ चहाना उस्तै । बा र हजुरबा दुबैसँगै बसेर चिया पिउँदै गर्दा फेरि मेरो जिज्ञासु मन बौरियो । सोधेँ विनासम्बोधन–‘के होला त आमा र हजुरमाका कुरा ?’
कानुनी रूपले निषेध गरिएको तर सामाजिक रूपमा काल्पनिक अन्धविश्वासको एक पात्र–बोक्सी । डर र भयको एउटा बिम्ब, जसलाई पुस्तान्तरण गरिँदै आइएको रहेछ । जसले अन्धविश्वास र लैंगिक हिंसाको एक रूपलाई संकेत गर्छ । बोक्सी दुनियाँमा हुँदैन् भन्ने कुरा मेरो ब्रह्मले बुझ्यो ।
‘यी सबै मनका डर हुन् छोरा । सिवाय डर अरू केही हुनै सक्दैनन् । जब मन डराउँछ नि त्यतिबेला आउँछन् अनेक तर्कना । अनि के देखिन्छन्, देखिन्छन् । बोक्सी पनि त्यसैको उपज हो ।’ मेरा हजुरबा अलिकति पढेलेखेका र रुढी कुराहरूकोप्रति विद्रोहीचेतका थिए सायद । उनले तर्क गरे । बुबाले पनि सही थप्नुभो–‘आमाहरू मानमा एकप्रकारको पुरातन सोचको त्रासमा बाँचेका छन् । सायद हरेक पुराना पुस्ताका महिला र केही पुरुष यस्तो हुन्छन् होला । त्यही कुरा उनीहरूको मनमस्तिष्कमा गढिरहेको भएर त्यो भय बोक्सीमा प्रकट भएको हुनसक्छ ।’
हजुरबा र बुबाको कुरा र हजुरआमा र आमाको कुरा कति धेरै अलगथलग । कति धेरै विपरीतार्थक, अनि कति धेरै नमिल्दो । मन मेरो मानिरहेको थिएन् । मोदनाथ प्रश्रितको भूतप्रेतको कथा बुबाले नै पढ्न ल्याइदिनुभएको थियो । तर, अझै मेरो दिमाग सन्तुष्ट थिएन् । अझै भेउ पत्तो लाउन पाएमात्र भन्थ्यो मनले । तर कसरी ......।
मन व्यग्र, अधिर उस्तै । एउटै कुराले गरुंगो पनि । मेरा मनका जिज्ञासाहरू थिंरिएका थिएनन् । न त ओइलिएका नै थिए । म रनभुल्लमै थिएँ । कसको तर्क सही, दुविधाग्रस्त थिएँ । मेरो लागि जीवनको महत्वपूर्ण र ठूलो रहस्य बनेर खडा थिई–‘बोक्सी’ । आमा र हजुरआमाका कुरा सम्झँदा भयले झसंग हुन्थेँ । बुबा र हजुरबाको कुराले आ मन पो डराको भन्ठान्थेँ । यो विरोधाभासपूर्ण अन्तर्बोधभित्र जहिले जकेडिएको पाउँथे आफूलाई ।
मेरो बुबा फुर्सदको बखत बेलुका टुकीबत्तीमै भए पनि पढ्नुहुन्थ्यो । थुप्रै किताबहरू मैले सिरानीमुनि फेला पारेर लुकीलुकी पढेको थिएँ । उहाँले मेरो जिज्ञासा शान्त बनाउँन होला–मोदनाथ प्रश्रितको भूतप्रेतको कथा पढ्न ल्याइदिनुभएको थियो । यसले अलिकति भए पनि मन शान्त भयो । भूतप्रेत के हो ? भन्ने बारेमा मात्र नभएर हाम्रा रुढी मूल्य र मान्यतालाई यसले चिरेको थियो । अनि मलाई लाग्यो सायद अनावश्यक डर, त्रास र भय पुस्तान्तरण हुँदै आउँदोरहेछ संस्कार र संस्कृति जस्तै । जसरी हजुरआमाहरूमा बोक्सीको त्रास आयो ।
यति पढेरमात्र पनि म मानसिक रूपमा तयार हुनसकेको थिइँन । कहिलेकाँही मध्यरातमा झ्याल खोलेर आँखाले भेटेसम्म आफ्नो दृष्टि फाल्थें-जुन-जुन ठाउँमा हजुरआमाले भन्नुभएको थियो । त्यो विशालकाय वरपिपल उसैगरी त्यहीं ठिँग उभिएको हुन्थ्यो, त्यो धारो उसैगरी कलकल झरिरहेको हुन्थ्यो ।
कानुनी रूपले निषेध गरिएको तर सामाजिक रूपमा काल्पनिक अन्धविश्वासको एक पात्र-बोक्सी । डर र भयको एउटा बिम्ब जसलाई पुस्तान्तरण गरिँदै आइएको रहेछ । जसले अन्धविश्वास र लैंगिक हिंसाको एक रूपलाई संकेत गर्छ । बोक्सी दुनियाँमा हुँदैन् भन्ने कुरा मेरो ब्रह्मले बुझ्यो । अनि बल्ल उन्मुक्त भएर मेरो मन कावा खाँदै आनन्दले विचरण गर्न थाल्यो । नदेखिएको चिजले कसरी सकस दिँदोरहेछ भन्ने थाहा भयो । सन्त्रासमुक्त भएँ म । त्यो बालवयमा पनि मभित्रको चैतन्य प्रष्ट भयो ।







मेरो संस्मरणात्मक निबन्ध प्रकाशित गरिदिनुभएकोमा हिमालय टाइम्स,राष्ट्रिय दैनिक परिवारप्रति हार्दिक आभार