हुन त म बीपी कोराइरालाका बारेमा गहन अध्ययन र विश्लेषण गरेर लेख्न सक्ने ल्याकत भएको मान्छे पक्कै पनि होइन । अझ बीपी कोराइरालालाई उहाँले स्थापना गर्नुभएको राजनीतिक पार्टी नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका नेता तथा कार्यकताहरूले ‘महामानव’कै उपमा दिएका छन्, पगरी गुथाएका छन् । मेरो विचारमा बीपी कोराइराला एक हदसम्म ‘महामानव’ भन्न-भनिन, गन्न-गनिन लायक हुनुहुन्थ्यो, हुनुहुन्छ ।
जे होस्, बीपीको जन्म विसं १९७१ भदौ २४ गते भारतको बिहार राज्यमा पर्ने टेढी गाउँमा भएको हो । बीपी कोराइरालाको भारतको सानो गाउँ टेढीमा जन्म हुनुका कारण उहाँका पिता कृष्णप्रसाद कोइराला र उहाँका अन्य परिवार श्री ३ महाराज चन्द्रशमशेर राणाको आँखाको कसिंगर भएपछि, केही नलागेपछि, नेपाल बस्न नसक्ने स्थिति भएपछि भारत प्रवासमा बसाइँ सर्नुभएको थियो । त्यसैले कारणले गर्दाखेरि बीपी कोराइरालाको जन्म भारतमा हुनगएको हो । जब विसं १९८६ मा भीमशमशेर राणा नेपालका श्री ३ महाराज भए, भीम शमशेर राणाले आफू प्रधानमन्त्री हुने बित्तिकै कृष्णप्रसाद कोइरालालाई माफी दिए । त्यसपछि कृष्णप्रसाद कोरइराला र उहाँका अन्य परिवार पुनः नेपाल आई बस्न थाल्नुभयो ।
विसं २०१५ मा भएको आमनिर्वाचनपछि छोटो समयका लागि बीपी कोइराला देशको कार्यकारी प्रमुख अर्थात् देशको प्रधानमन्त्री हुँदा गर्नुभएका केही अविस्मरणीय कामहरूलाई हामीले सम्झनुपर्छ । जस्तै सबैभन्दा पहिले त्यो बेला सकार प्रमुखको मासिक बेतन २५०० रहेकोमा आफू प्रधानमन्त्री हुने बित्तिकै घटाएर १५०० बनाउनुभयो । त्यसैगरी मन्त्रीको बेतन १५०० रहेकोमा त्यसलाई घटाएर १००० मा झार्नु भएको थियो ।
यसै सन्दर्भमा भन्नुपर्दाखेरि यही भदौ २४ गते बीपी जन्म-जयन्ती मनाइँदैछ । यसरी बीपी जन्म-जयन्ती मनाउँदै गर्दाखेरि बीपीले खोल्नुभएको, बीपी संस्थापक रहनु भएको नेपाली कांग्रेस पार्टीले बीपी कोइरालाको सिद्धान्त, आदर्श, विचार नीति तथा कार्यक्रम अनुसार आफू सरकारमा जाँदा वा नेपाली कांग्रेसको सरकार बन्दा यस पार्टीका नेता तथा कार्यकर्ताहरूले आफू प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री एवं सहायकमन्त्री हुँदा के-कति काम गरे ? त्यसको फेहरिस्त पेश गर्ने काम त नेपाली कांग्रेस पार्टीसँग होला नै र भविष्यमा पनि गर्दै जाला । त्यो काम नेपाली कांग्रेस पार्टीको निजी मामिला भयो । त्यसैले सो सम्बन्धमा धेरै कुरो यहाँ चर्चा गरिरहन जरुरी रहेन ।
स्मरणीय छ, सुरुमा दुई पार्टी मिलेर एक भएर ‘नेपाली कांग्रेस पार्टी’ भएको हो । त्यसअघि सन् १९४६ अक्टोबर ३१ (विसं २००३ कात्तिक १५) का दिनमा बनारसमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक तदर्थ समिति गठन गरियो । सन्दर्भः ‘बीपी विचार राष्ट्रिय समाज’ द्वारा प्रकाशित ‘नेपाली कांग्रेस सिद्धान्त र दृष्टिकोण’ किताबको पाना-३८ बाट उद्धृत गरिएको हो । यसरी सुरुमा गठन गरिएको ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’को प्रमुख सूत्राधार चाहिँ बीपी कोइराला हुनुहुन्थ्यो । स्वयम् बीपी कोइराला उक्त संगठनको संयोजक रहनुभएको थियो । साथै अध्यक्षमा देवीप्रसाद सापकोटा, उपाध्यक्षमा बालचन्द्र कर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्रीमा गोपाल भट्टराई एवं सदस्यहरूमा दीनानाथ सापकोटा, लक्ष्मीप्रसाद सापकोटा रहनुभएको थियो भने, कार्यलयमन्त्री चाहिँ ईश्वर बराल रहनुभएको थियो ।
त्यसपछि सन् १९४७ जनवरी २५ र २६ (विसं २००३ माघ १२ र १३) मा ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक जुन तदर्थ समिति थियो, त्यसको अधिवेशन भारतको पश्चिम बंगालको कलकत्तामा गर्ने निर्णय गरियो । सो अधिवेशनमा नेपालको जेलबाट भागेर भारतमा भूमिगत जीवन बिताइरहनु भएका गणेशमान सिंहले पनि ‘डीएन प्रधान’को नक्कली आवरण (आफ्नो वास्तविक नाम गणेशमान सिंह नराखेर, डीएन प्रधान नाम राखेर) मा भाग लिनुभएको थियो ।
यता विसं २००५ को साउन १ गते तदनुसार सन् १९४८ जुलाई १६ मा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन भएको थियो । यो पार्टीका स्थापना गर्नमा मुख्य भूमिका चाहिँ राणा शासनकालमा रोलक्रममा चढ्न नपाईने अर्थात् श्री ३ महाराज हुन, बन्न नपाइने ‘सी क्लास’का राणाहरू सुवर्णशमशेर र महावीर शमशेरले खेलेका थिए । के भन्ने गरिन्छ भने, ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गर्दाखेरि नेपाली राष्ट्रिय कांग्रेसका तत्कालीन मध्यमस्तरका नेताहरू पुष्लाल श्रेष्ठ, महेन्द्रविक्रम शाह, सुन्दरराज चालिसेलगायत धेरै सक्रिय सदस्यहरूले सरसहयोग गरेका थिए । यसरी ‘नेपाल प्रजातन्त्र कांग्रेस’को पहिलो सम्मेलन पनि भारतको पश्चिम बंगालको कलकत्ता सहरमै भयो । ‘नेपाल प्रजातन्त्र कांग्रेस’ ले अधिवेशनलगत्तै नेपालमा सशस्त्र संघर्ष गर्ने भनेर पूर्णसिंह ठाकुरको अध्यक्षतमा जनमुक्ति सेना गठन गर्ने निर्णय गर्यो ।
तर, नेपालमा लगभग १०४ वर्षदेखि जरा गाडेको राणा शासन त्यति सजिलै ढल्नेवाला थिएन । त्यसैले गर्दा ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ एक हुनुको विकल्प थिएन । नभन्दै विसं २००६ चैत १४ गते तदनुसार सन् १९५० मार्च २६ का दिन राष्ट्रिय कांग्रेस’का अध्यक्ष बीपी कोराइराला एवम् ‘नेपाल प्रजातन्त्र कांग्रेस’का अध्यक्ष महेन्द्रविक्रम शाहले एक संयुक्त वक्तव्य प्रकाशित गर्नुभयो । त्यसको लगत्तै २६ चैत २००६ मा कलकत्ताको टाइगर सिनेमा हलमा एकीकृत सम्मेलनकै झल्को दिने बृहद् भेला आयोजना गरियो । उक्त भेलामा उपस्थित भएका प्रतिनिधिहरूले आफ्नो राजनीतिक पार्टीमा रहेको, आफ्नो पार्टीको नामको बीचमा रहेको शब्द ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ भन्ने शब्द हटाउन सहमत भएका थिए ।
विसं २०१५ मा भएको आमनिर्वाचनपछि छोटो समयका लागि बीपी कोइराला देशको कार्यकारी प्रमुख अर्थात् देशको प्रधानमन्त्री हुँदा गर्नुभएका केही अविस्मरणीय कामहरूलाई हामीले सम्झनुपर्छ । जस्तै सबैभन्दा पहिले त्यो बेला सकार प्रमुखको मासिक बेतन २५०० रहेकोमा आफू प्रधानमन्त्री हुने बित्तिकै घटाएर १५०० बनाउनुभयो । त्यसैगरी मन्त्रीको बेतन १५०० रहेकोमा त्यसलाई घटाएर १००० मा झार्नु भएको थियो ।
त्यो केवल लोकरिझ्याइँ र सस्तो प्रचारका लागि मात्रै नभएर शुसानको संकेत र कम खर्चमा नयाँ सरकारले धेरै गर्न सक्छ भन्ने पूर्वसंकेतका रूपमा चालिएको कदम थियो । त्यस्तै गरेर बीपीले देश विदेशमा समेत प्रभाव पर्ने काम गर्नुभएको थियो । बिर्ता उन्मूलन गर्नु, भूमि सुधार कार्यक्रम लागू गर्ने प्रयास गर्नु, वनजंगल राष्ट्रियकण गर्नु, नेपाली मुद्रा प्रचलनमा ल्याउनु, भारतीय रुपैयाँको स्थिर विनिमय दर (१०० भारुको १६०) तोक्नु, करको दर तोक्नु र सबैलाई करको दायरामा ल्याउने प्रयास गर्नु आदि रहेका थिए । अहिले सम्झने हो भने, बीपी कोइरालाले त्यस बेलाको जमानामा पनि सबैभन्दा क्रान्तिकारी र महत्वपूर्ण कदम चालेको चाहिँ सामन्तवादको अवशेषका रूपमा रहेको स-साना भुरे-टाकुरे राज्यका राजा अर्थात् राज्य-रजौटाहरूलाई उन्मूलन गरेकोलाई लिनुपर्ने हुन्छ । जुन काम लरतरो आँटले गर्न सकिँदैनथ्यो ।
त्यसैले कांग्रेसजनले मात्रै नभएर देशका सबै जनले बीपीले आफू प्रधानमन्त्री हुँदा र नहुँदा गर्नुभएका र गर्न प्रयास गर्नुभएका कामको सही मूल्यांकन गर्दै अघि बढौं, यही नै ११२औं बीपी जन्म-जयन्तीको सार्थकता हुनेछ । अन्यथा नेपाली कांग्रेस पार्टी र नेपाली कांग्रेसका नेता एवं कार्यकताले बीपी कोइरालालाई फगत ‘महामानव’ कहलाएको प्रतीत हुनेछ, कांग्रेस जनहरूमा चेतना भया ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत