काठमाडौं । गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन कसैले नसक्ने बताउनुभएको छ । जेन-जी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो नहुने उहाँको भनाइ छ ।
उहाँले जेन-जीको आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको र त्यो पीडा बोकेर बाँचिरहेको स्पष्ट पार्नुभएको छ ।
‘सेवामूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोल्दा । म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आमजनताको नजरमा परेका रहेछौँ,’ उहाँले अगाडि भन्नुभएको छ, ‘यो होटल मेरोमात्र नभई गाउँको रगत-पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।’
‘मेरो जीवन तपाईंहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ,’ उहाँ अगाडि थप्नुहुन्छ, ‘गीत गाएर रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देश-विदेशले मेरो स्वरमार्फत् नेपाललाई चिनाए । करिब १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेँ, सेवामुखी जीवन बिताउने संकल्पसहित । २०७४ सालमा राष्ट्रियसभामा सांसद निर्वाचित भई चारवर्षे कार्यकालभर सकेसम्म सबैको सेवा गरेँ ।’ उहाँले आफ्नो जीवन इमान र निष्ठामा अडिएको र कहिल्यै भ्रष्टाचार नगरेको स्पष्ट पार्नुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…