‘द्वन्द्वकालीन प्रशासकका पीडाहरू’ पूर्वप्रशासक तारानाथ गौतमकृत पुस्तक हो । उहाँले ‘भोगाइ’ भन्नुभएको छ । हुन त समय जति अगाडि बढ्छ त्यति नै ठूला ठूला विद्रोह र द्वन्द्वहरू हुने गर्छन् । हाम्रै देशका यस्ता आन्दोलनबाट यसको पुष्टि भएको छ । हालैमात्र उठेको आँधीतुफान जस्तो विद्रोहले दुई दिनमै सिङ्गो देश सखाप बनायो र देशको राजनीतिलाई नै अर्कोतिर मोड्यो । एक दशकसम्म चलेको माओवादी को सशस्त्र विद्रोह त्यस बेलाको यस्तै एउटा त्रासदीपूर्ण विद्रोह थियो । गौतम त्यसबेला प्रशासकका रूपमा विभिन्न जिल्लामा बस्नुभएका कारण उहाँले यस्ता भयपूर्ण दिनको सामना नजिकबाट गर्नुपरेको थियो । त्यसलाई उहाँले यस रूपमा अभिलेखबद्ध गर्नुभएको यो काम सराहनीय छ ।
शान्ति प्रक्रियाको सुरुवात भएपछि पनि विभिन्न जिल्लामा रहँदा भरखर सार्वजनिक भएका र हतियार बिसाएर आएका पार्टीका कार्यकर्ताबाट विद्रोहकै शैलीमा दुःख दिने, धम्क्याउने र अपमान गर्ने गरिन्थ्यो । त्यस्ता अनेकौं भोगाइ उहाँले यस पुस्तकमा समेट्नुभएको छ । एकातिर द्वन्द्वबाट आएका उक्त पार्टीका कार्यकर्ता र अर्कातिर मन्त्रीहरूबाट समेत हप्कीदप्की र हुलहुज्जत भएको पीडाबोध उहाँले गर्नुपरेको थियो ।
यस्ता आतङ्कको सामना गर्नुपरेको उहाँले मात्र होइन । अरू केही प्रशासकहरूले त मारिनु परेको थियो भने केहीले घाइते हुनुपरेको थियो । यस्ता विभत्स घटनाको भोक्ता र साक्षी बन्नुपरेकाहरू मध्ये सबैले यसरी लेखेर त्यस्ता अनुभवहरूलाई लिपिबद्ध गर्न सक्नुभएको छैन, तारानाथ गौतमले भने यसरी त्यस बेलाका भोगाइलाई लिपिबद्ध गर्नुभएको छ । त्यसैले उहाँले यसलाई भोगाइ भन्नुभएको छ । यस पुस्तकको प्रकाशनको काम लेखक आफैंले गर्नुभएको छ । यो यस पुस्तकको पहिलो संस्करण हो । जुन २०८२ सालमा अर्थात् हालैमात्र प्रकाशनमा आएको छ । यसको सर्वाधिकार लेखक आफैँमा निहित छ । डिएमआई आकारको यो पुस्तकको छपाइ स्तरीय छ ।
पहेँलो तौलयुक्त कागज यसमा प्रयोग भएको छ । अशुद्धिहरू कमै भेटिन्छन् । पुस्तकको भूमिका खण्डमा १८ र पाठ्य खण्डमा १७५ गरी जम्मा १९३ पृष्ठ छन् । यसको मूल्य ५०० रुपैयाँ छ । यसको समग्र सेटिङको काम चिरञ्जीवी खड्काले गरेको पाइन्छ । आवरण पृष्ठ सुन्दर छ । वनपाखा, खोलानाला, गाउँबस्ती जस्तो लाग्ने मधुरो चित्रका बीच एकजना प्रशासक नेपाली पोशाकमा आफ्नो कार्यालयको ब्याग लिएर उभिएको, वरिपरि नेपाली सेना अथवा माओवादी विद्रोहीको घेरा रहेको र त्यहाँ धेरै सङ्ख्यामा सर्वसाधारण देखाइएको छ ।
पृष्ठावरणमा लेखक गौतमको फोटोसहितको चिनारी दिइएको छ । जसमा उहाँको पारिवारिक विवरण, प्रकाशित कृतिहरू, सम्पादन गरेको कृतिहरू, सल्लाहकार भएर कार्य गरेको विवरण, पदक, पुरस्कार, सम्मान र कदर पत्र, विदेश भ्रमण, संघसंस्थामा आबद्धतालगायत कुराहरू यहाँ देखाइएको छ । पुस्तकको भूमिकाखण्डमा सुरुमा उहाँले आफ्ना पिता तथा माताप्रति यो कृति समर्पण गर्नुभएको छ । त्यसपछि लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीको ‘शुभकामनाका दुई शब्द’, पूर्वसचिव तथा लेखक शम्भु कोइरालाको ‘द्वन्द्वकालीन प्रशासकहरूका पीडाहरूलाई शुभकामना’ र लेखक गौतमको ‘मेरो भनाइ’ छन् । त्यसपछि विषय सूची छ । पुस्तकमा दुईवटा खण्ड छन् ।
पहिलोखण्डमा विद्रोहको समयमा उहाँले भोगेका, देखेका घटनालाई समेटिएको छ । अछामको त्यो विभत्स रातको सम्झना, दिउँसोको भिडन्त, तीन युवकको अन्त्य, निवासमा बम प्रहार र बालमस्तिष्कमा परेको असर गरी पाँचवटा शीर्षकमा उहाँले पहिलोखण्डमा यस्ता विभिन्न घटनाको चित्रण गर्नुभएको छ ।
दोस्रो खण्डमा १६ वटा शीर्षक छन् । यो भाग माओवादी सशस्त्र विद्रोहको समापन भएर शान्तिप्रक्रियाको थालनी भइसकेपछिको अवस्थाको चित्रणमा केन्द्रित छ । त्यसबेला सङ्क्रमणकालीन अवस्थाकै रूपमा रहेको हुँदा प्रशासकहरूका लागि चुनौतीपूर्ण थियो । उहाँले विभिन्न जिल्लामा रहँदा भरखर सार्वजनिक भएका र हतियार बिसाएर आएका उक्त पार्टीका कार्यकर्ताबाट विद्रोहकै शैलीमा दुःख दिने धम्क्याउने र अपमान गर्ने गरिन्थ्यो । त्यस्ता अनेकौं खालका भोगाइ उहाँले यस पुस्तकमा समेट्नुभएको छ । एकातिर द्वन्द्वबाट आएका उक्त पार्टीका कार्यकर्ता र अर्कातिर मन्त्रीहरूबाट समेत हप्कीदप्की र हुलहुज्जत भएको पीडाबोध उहाँले गर्नुपरेको थियो ।
यसरी प्रशासकले त्यसबेलामा भोग्नुपरेका पीडाहरूलाई भोगाइ अथवा अनुभवको सँगालोका रूपमा उहाँले यो पुस्तक लेख्नुभएको छ । यसका लागि उहाँलाई बधाई छ । यो एउटा पठनीय र सङ्ग्रहणीय पुस्तक हो । यो तत्कालीन समयको इतिहास हो । लामो समालोचना यहाँ सम्भव नहुने भएकाले यो छोटो टिप्पणीका साथ पुस्तकको सफलताको कामना । साथै लेखक गौतमको लेखनयात्रा सधैँ यसरी नै अगाडि बढिरहोस् अग्रीम शुभकामना ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर