मुलुक फेरि एकपटक संक्रमणकालीन मोडमा छ । लोकतान्त्रिक मूल्य-मान्यता, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता जोगाउनुपर्ने बेला छ । यस्तै, सन्दर्भमा जेन-जी पुस्ताले उठाएको आन्दोलन, खासगरी भदौ २३ मा राजधानीमा भएको प्रदर्शनले, अबको नेपाली राजनीतिलाई नयाँ दिशातर्फ डोर्याउने संकेत दिएको छ ।
यस आन्दोलनको केन्द्रमा केवल सरकारप्रति असन्तोष होइन, निरंकुशताको विरुद्धमा गहिरो आक्रोश छ । सामाजिक सञ्जाल बन्द गर्नु, सरकारको आलोचकलाई दमन गर्नु, जनभावनाको खिल्ली उडाउनु, सत्ता बचाउन कानुनी प्रक्रियाहरूको अवमूल्यन गर्नु-यी सम्पूर्ण क्रियाकलापले ओली नेतृत्वलाई एक अघोषित तानाशाहको रूपमा प्रस्तुत गरिदिएका छन् ।
आज ओली सरकारको चरित्र जनउत्तरदायी नभई, सत्ता जोगाउने भरमुक्त स्वेच्छाचारमा परिणत भएको छ । आफ्ना नजिकका आसेपासेलाई संरक्षण गर्दै भ्रष्टाचार, अनियमितता र कुशासनको संरक्षक बन्नु कुनै नेताको नेतृत्व होइन-जनताको भरोसामाथि गरिएको विश्वासघात हो । भदौ २३ को शान्तिपूर्ण आन्दोलनमा सहभागी युवा, विद्यार्थी र सर्वसाधारणको निर्मम हत्याले ओली सरकारको निर्दयी चरित्र झनै उजागर गरेको छ । ती निर्दोष नागरिकहरूको बलिदानले केवल एक आन्दोलनको बलिदान होइन, नयाँ युगको थालनीको उद्घोष गरेको छ । राजनीतिको नाममा स्वार्थ, पहुँच र शक्तिको नांगो खेल भइरहेको यो समय यस्तो हो जब एक वृद्ध, स्वास्थ्यले कमजोर, राजनीतिक स्खलनको शिकार भइसकेका व्यक्तिलाई छैटौंपटक प्रधानमन्त्री बनाउने निर्णय लिइन्छ । यस्तो निर्णय राजनीतिमा विवेक शून्यता र लोकतान्त्रिक संस्थाको अपमान हो ।
यो परिप्रेक्ष्यमा जेन-जी आन्दोलन केवल असन्तुष्ट युवाको हुंकार होइन, यो पुरानो राजनीतिक चरित्रको पतन र नयाँ राजनीतिक संस्कृतिको उठान हो । जेन-जीले उठाएका मुद्दाहरू केवल सडकमै सीमित छैनन्, ती दलहरूले कहिल्यै सम्बोधन गर्न नसकेका जनता-केन्द्रित सवालहरू हुन् । २००७ सालदेखि आजसम्म जनताले पटक-पटक बलिदान दिएर परिवर्तनको आशा गरेका छन् । त्यो आशा माओवादी सशस्त्र युद्धपछि संविधानमार्फत साकार हुने अपेक्षा थियो । तर, त्यो इतिहास अधुरो छ, अधूरा छन् ती सपना र मागहरू । आज त्यो अधुरोपन पूरा गर्ने जिम्मेवारी दोस्रो पुस्ताको काँधमा आएको छ । यो केवल राजनीतिक आन्दोलन होइन, यो सपना साकार पार्ने ऐतिहासिक जिम्मेवारी हो ।
अबको आवश्यकता हो-सबै दलहरू, विशेषगरी माओवादी, कांग्रेस र एमालेले आत्ममूल्यांकन गरेर नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्ने । दलहरूले सत्ता-समीकरण होइन, सहमति र साझा दृष्टिकोणमार्फत देशलाई निकास दिनुपर्दछ । भ्रष्टाचार, बेथिति, लोकतान्त्रिक संस्थाको आफूखुशी प्रयोग र निरंकुश प्रवृत्तिविरुद्ध जेन-जी आन्दोलनले दिएको सन्देश स्पष्ट छ-अब फेरि जनताको आवाजलाई दबाउन सकिँदैन । शहीदहरूको सपना पूरा गर्न अब प्रतीक्षा गर्ने समय छैन । इतिहास फेरि बदलिँदैछ-यसपटक नयाँ पुस्ताको नेतृत्वमा, नयाँ चेतनाको बलमा । समयमै सबैले मनन् गर्नु जरुरी छ ।
कोल्हबी, बारा
हाल काठमाडौं







thank you hita