यस शीर्षकको पहिले प्रकाशित लेखको अन्त्यमा लेखेको थिएँ ‘यो कृति विशुद्ध सैद्धान्तिक पक्षसँग सम्बन्धित छ । अहिले मानिसहरू विचार र सिद्धान्तसँग व्यवहार पनि बुझ्न र जान्न चाहन्छन् । बीपी कोइरालाको विचारसँगै, उहाँको चिन्तन र सिद्धान्तकासँगै, उहाँका भोगाइ र अनुभवसँगै उहाँका केही प्रभावशाली व्यवहारको पनि अध्ययन अनुसन्धान हुनुपर्छ भन्ने मेरो धारणा छ ।’
(क) मेसिनभित्र हराएको आजको मान्छे :
कुनै पनि दर्शन व्यवहारमा उतार्न सकिएन भने अरूलाई दिने शिक्षा र विचार व्यक्तिले अनुशीलन गर्न सकेन भने त्यो विशुद्ध पाखण्ड, ढोङ र आडम्बरमात्र हुन्छ । सिद्धान्तको कमण्डलु देखाएर विपन्नहरूको, असमर्थहरूको, कोमल हृृदयशालीहरूको आध्यात्मिक, मानसिक, भौतिक दोहन र शोषणमात्रै हुन्छ । सिद्धान्तको नामको ढोङको कमण्डलु यतिखेर माक्र्सवादी, माओवादी, गान्धीवादी, पुँजीवादी, साम्यवादी, समाजवादीसहित अनेक धर्मवादी, सम्प्रदायवादीहरूको खेती भइरहेको छ । तर, समाजको गति आश्चर्यजनक र तीव्रतर भएर अगाडि प्रस्थान बिन्दुको खोजीमा लागेको छ ।
लेख आयो । बीपीले आफ्ना प्रत्येक विचार, विश्लेषणलाई सदा मानिसमा केन्द्रित गर्नुभएको पाइन्छ । मानिसका पछि उहाँले मानिसले पाउनुपर्ने हक, समानता र न्यायका विषयलाई महत्व दिनुभएको छ । भूगोल र भूगोलभित्रको परिचयको अस्तित्व रक्षाका सन्दर्भमा उहाँले राष्ट्रियताको विषयलाई बेजोडरूपमा उठाउनुभएको छ । बीपीको सम्पूर्णता नै मानिस, मानिसका हक र न्याय, अनि राष्ट्रियतासँग जोडिएको छ ।
अहिले धेरैले भन्न थालेका छन् अबको युग कुनै पुराना वादले निर्देशित गर्दैन ‘टेक्वाद, अन्तर्गत टेक क्यापिटलिज्म र टेक प्mयुडलिज्म’ले संसार ढपक्क छोपिएको छ । मानिस आफैंले बनाएको आफ्नै आविष्कार मेसिनमा परिणत भएको छ र मेसिनको आदेश र पथप्रर्दशनमा हिँड्न बाध्य छ । बीपी कोइरालाको एक बहुचर्चित कथन छ : मानिस ‘ब्रेडले होइन ब्रेन’ ले चल्छ तर मान्छेको ब्रेनले बनाएको मेसिन नियति भएको छ । अब मान्छेको ब्रेन सञ्चालन गर्ने मेसिन भएको छ । ब्रेडले नचलाएको ब्रेन मेसिनको पहरेदार हुनु आफैंमा अद्भूत र आश्चर्यजनक छ ।
(ख) सिद्धान्तको पुस्तान्तरण आवश्यक :
सिद्धान्तभन्दा शक्तिशाली तत्व यसरी रूपान्तरित भइरहेको छ । यस्तो समयमा बीपी इतिहासको पाठ भए पनि निरन्तर अध्ययनको विषय अवश्य हो । उहाँले परिभाषित गरेका विचार, सिद्धान्त, प्रयोग गरेको रणनीति वा नीति, देशको सार्वभौमिक स्वतन्त्रता र सम्प्रभूताका लागि, अनि नागरिक हक अधिकारका लागि गर्नुभएको संघर्ष, त्याग र सहनुभएको पीडालाई पुस्तान्तरण नगरी हुँदैन । बीपीले करिब चार दशक गरेको संघर्षपूर्ण यात्रा कम रोमाञ्चकारी र कम कष्टपूर्ण छैन । एउटा कृति वा एक कालखण्डमा मात्रै अनुसन्धान, अध्ययन र निक्र्यौल निकालेरमात्रै पुग्दैन । प्रा.कृष्ण खनालले गहन अध्ययनका साथ तयार गर्नुभएको प्रस्तुत कृति विश्वेश्वरप्रसाद कोइराला चेतना चिन्तन र राजनीति राजनीतिक इतिवृत्त जस्तो लाग्छ ।
तर, कृतिमा प्रत्येक पृष्ट विवेच्य छन् र नवीन सूचना, पक्ष, तर्क र विश्लेषणले भरिपूर्ण छन् । बीपीको समग्र पक्षको अध्ययन यसभित्र अटाउनु सम्भव थिएन । यसमा पनि धेरै पक्ष र सन्दर्भहरू छुटेका छन्, अथवा थोरै महत्व प्राप्त छन् । बीपी कोइरालाको ब्रेन चाइल्ड जस्तो रहेको आजको नेपाली कांग्रेसको इतिहाससँग बीपीलाई जोडेर गरिएको विमर्श हो यो कृति । नेपाली कांग्रेसका विषयमा लेखिएको सबैभन्दा बृहदाकारको कृति हो प्राडा.राजेश गौतमको नेपाली कांग्रेसको इतिहास । धेरै भागमा प्रकाशित भएको हुनाले मैले बृहदाकार भनेको हुँ तर बीपीलाई मात्रै केन्द्रमा राखेर प्रकाशित वैचारिक, सांगठनिक, नीतिगत, केही थोरै भए पनि मनोवैज्ञानिक रूपले समीक्षात्मक कृति सम्भवतः यही नै पहिलो हुनुपर्छ ।
(ग) प्रमुख राजनीतिक तत्व नागरिक :
बीपीले राजनीतिक विचारका आधारमा नागरिकलाई प्रमुख तत्व मान्नुभएको छ । जनताको तत्वविनाको राज्यको कुनै अर्थ हुँदैन । राज्यको निर्माण नै नागरिकको सुरक्षा, स्वतन्त्रता, समानता, न्याय र विवेकसहित प्रगतिको सहयोगी संस्थाका रूपमा विकास भएको हो । हावा बहिरहन्छ त्यो एक व्यक्ति वा एक भूगोलको होइन सर्वत्र छ, माटो उडिरहन्छ, भत्किरहन्छ, बगिरहन्छ र मानिसविना त्यो रेगिस्तान समान हुन्छ । आकाश पृथ्वीका वरिपरि छ सबैतिर छ । पानी कुनै एका ठाउँमा हुँदैन । प्रकाश जहाँ पनि समान छ । अर्थात् मानिसबाहेक राज्यको कुनै सीमा र केन्द्र हुँदैन । मानिसलाई वाद गरेर स्थापित कुनै पनि मान्यता र सिद्धान्तहरूको कुनै मूल्य हुँदैन ।
यसैकारण बीपीले आफ्ना प्रत्येक विचार, विश्लेषणलाई सदा मानिसमा केन्द्रित गर्नुभएको पाइन्छ । मानिसका पछि उहाँले मानिसले पाउनुपर्ने हक, समानता र न्यायका विषयलाई महत्व दिनुभएको छ । भूगोल र भूगोलभित्रको परिचयको अस्तित्व रक्षाका सन्दर्भमा उहाँले राष्ट्रियताको विषयलाई बेजोडरूपमा उठाउनुभएको छ । बीपीको सम्पूर्णता नै मानिस, मानिसका हक र न्याय, अनि राष्ट्रियतासँग जोडिएको छ । उहाँको साहित्यको क्षेत्र राजनीतिको संयन्त्रगत वा वादगत सीमा बाहिर रहे पनि प्रमुख पक्ष मानव र मानवतासँग साक्षात् छ ।
अर्थात् बीपीको विचार क्षेत्रको प्रमुख केन्द्र मान्छेमा नै साहित्य पनि छ तर बीपीले आफूलाई राजनीतिमा समाजवादी प्रजातन्त्रवादी र साहित्यमा अराजकतावादी भन्नुभएकोमा मेरो सहमति छैन । किनभने राजनीति जसरी मानिस र मानवताको रक्षार्थ स्थापित मान्यता, संस्था र संयन्त्रहरूको निर्मायक हो त्यसरी नै साहित्यको पूर्ण, प्रमुख र अन्तिम केन्द्र पनि मानव र मानवता नै हो । साहित्य र राजनीतिको सन्धि बिन्दु मानिस र मानिसमात्रै हो । यिनलाई कुनै पनि अर्थमा भाष्य गर्नु र अलग पार्नु सही हुँदैन । बीपीको चिन्तनले गरेको यो आत्ममूल्यांकनका विपक्षमा मेरो मत रहेको छ ।
(घ) कृतिभित्र अटाएका विषय :
प्रस्तुत कृतिभित्र ११ शीर्षक र सन्दर्भ सामग्रीको सूची छ । चेतना र चिन्तन, जीवनदर्शन, पारिवारिक विरासत, २००७ को क्रान्ति, राणाशासनको अन्त्य र संक्रमणका चुनौती, आमचुनाव र संसदीय राजनीतिको अभ्यास, किन भयो २०१७ सालको कू ?, मेलमिलाप नीति र जनमतसंग्रह, गणेशमानजी र किशुनजी : बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना, गिरिजा, प्रचण्ड र संघीय गणतन्त्र नेपाल, लोकतन्त्र संवैधानिक अभ्यास र राजनीति यसमा अटाएका विषय हुन् । पहिलो शीर्षक चेतना र चिन्तनलाई ऐतिहासिक सन्दर्भसँग हेरिएको छ । मानिसलाई चेतनाको पुञ्ज भनिएको छ र विशिष्ट उद्घोषित छ तर गहिरो गरी हेर्ने हो भने मानिस आफैंले गरेको घोषणा हो यो ।
पूर्वीय आध्यात्मिक धार्मिक ग्रन्थहरूमा देवतालाई त्यसमा पनि ब्रह्मा, विष्णु, शिव र आद्यशक्ति भनेर विशिष्टीकरण गरिएको छ । लेखक ऋषिहरू थिए । उनीहरूले सर्वश्रेष्ठ जसरी देवता र ऋषिलाई बनाए त्यसरी नै मानिसले पनि आफूलाई विशिष्ट मानेका छन् । यन्त्र आविष्कार र सुविधाको अनुसन्धानमा मानिस निश्चय पनि अरूभन्दा श्रेष्ठ होला तर निर्माणको, प्रेमको, आत्मीयताको, जीवनको, भयको, विश्वासको, हिंसा र प्रतिहिंसाको, यौन र सम्बन्धको, आहारविहार, निद्रा, भोक, तिर्खा, तृष्णा, इष्र्या, आत्मरक्षा, प्रतिरक्षा हरेकमा मानिस समान कीट, पतंग पशु र पक्षी छन् । मानिस र ती सबै पशुप्राणी नामधारीहरूका आचरण मिल्ने गर्दछन् ।
जलचर, थलचर, आकाशचर, निशाचर, प्रकाशचर जता जुन रूपमा भए पनि मानिसले आफूलाई श्रेष्ठ प्रमाणित गर्ने प्रयास गरेको छ तर अरूले त मानिस तिमी श्रेष्ठ हौ, मानवताले भरिपूर्ण छौ, चेतना र चिन्तनमा अग्र छौ भनेका छैनन् । मलाई यदाकदा लाग्छ मानिस चेतनाको भन्दा पनि अहंकारको पुञ्ज हो । हरेक कुरा र विषयमाथि उसका अहंकारयुक्त वाणी र व्यवहार छन् । मलाई पनि लागेको कुरा भनेको हुँ तर प्रा.खनालले चेतना विकासको सूक्ष्म विश्लेषण, यसको विकास र केही आयामहरू प्रस्तुत गर्नुभएको छ ।
चौध अर्ब वर्षअघिदेखि कसरी मानव अस्तित्वसँगै चेतना विस्तार भयो, युरोपको भूगोलमा आरम्भ पुनर्जागरणको समय होस् कि आदिवैदिक काल, वैदिक काल र उत्तर वैदिक कालको प्रसंगलाई समेत छुसुक्क छुनुभएको छ । वरिष्ठ पत्रकार लेखक साहित्यकार मदनमणि दीक्षितको त्यो अत्यन्त महत्वपूर्ण व्याख्या यसमा पनि छ ‘चेतना भनेको ज्ञानभन्दा भिन्न तत्व हो जुन भौतिकवादीभन्दा पृथक पारभौतिक तर गैरअध्यात्मवादी चेतना हो ।’ (प्रस्तुत कृति पृ.२)
(ड.) चेतना र चिन्तनाधारको प्रश्न :
प्रा.खनालले चेतना र चिन्तनका सन्दर्भमा आध्यात्मिक पक्षलाई गम्भीरताका साथ लिएको देखिन्छ । विकासवाददेखि फ्रायडवादका अनेक भौतिक तर्क छन् । माक्र्सवादले समाज विकासको क्रमका सन्दर्भमा पदार्थवादी दृष्टिकोणलाई जर्वजस्त अगाडि सारेको छ । सूक्ष्म पदार्थ र पदार्थको विकासका आधारमा द्वन्द्वात्मक भौतिकवादको विश्लेषण गर्दा पदार्थबाट नै चेतना विकसित भएको तर्क गरेका छन् काल माक्र्सले तर उनले भौतिकवादको व्याख्याका सन्दर्भमा वाद (थेसिस), प्रतिवाद (एन्टिथेसिस) र सम्वाद (सिन्थेसिस) उल्लेख गर्दै समाजविकास क्रमलाई राख्ने सन्दर्भमा पहिलो थेसिसको उत्पत्ति कसरी भयो ? त्यसको उत्तर दिएका छैनन् ।
पूर्वीय दार्शनिकहरूले उत्पत्तिको अर्थात् सृष्टिको विषयमा परब्रह्ममा सम्पूर्ण तर्कहरूलाई बिसाएका छन् । यद्यपि साकार र निराकार रूपका विषयमा उनीहरू पनि अलमलमा छन् । निराकार निरञ्जन छ ईश्वर र उसैको लीला भन्ने अनौठो तर्क छ । ईश्वर निराकार छ भने कसरी मनोरञ्जनका लागि लीलाको रचना गर्ने होला ? तर अध्यात्मवादी चेतना चिन्तनले ज्ञानको पल्लो सीमासम्म सायद पुग्दै अन्ततः सृष्टि, स्थिति र लयको व्याख्यालाई ईश्वरीय इच्छामा परिणत गरेका होलान् । माक्र्सको भौतिकवादी चिन्तनको आधार यति गहिराइसम्म पुग्न सकेको छैन । यसै कारण अन्तस्थ भावना कि बाह्यस्थ भौतिक विषय भन्ने विवाद माक्र्सवाददेखि निरन्तर अहिले पनि चलिरहेको छ ।
प्रा.खनालले चेतना र चिन्तनका सन्दर्भमा आध्यात्मिक पक्षलाई गम्भीरताका साथ लिएको देखिन्छ । विकासवाददेखि फ्रायडवादका अनेक भौतिक तर्क छन् । माक्र्सवादले समाज विकासको क्रमका सन्दर्भमा पदार्थवादी दृष्टिकोणलाई जबरजस्त अगाडि सारेको छ । सूक्ष्म पदार्थ र पदार्थको विकासका आधारमा द्वन्द्वात्मक भौतिकवादको विश्लेषण गर्दा पदार्थबाट नै चेतना विकसित भएको तर्क गरेका छन् ।
बीपी कोइराला पनि यही जटिलताको व्यूहभित्रै आफ्ना विचारहरूलाई प्रक्षेपण गर्नुहुन्छ । प्रा.खनालको चिन्तन र चेतनाको मूल्यांकन यतै कतै परिभ्रमित छ । बीपी चिन्तन र विचारको समीक्षाक्रममा प्रदीप गिरिको त्यो बहुचर्चित उद्धरण ‘बीसौं शताब्दीमा कोइराला (बीपी) बराबरको अर्को व्यक्ति नेपालमा जन्मेन’ लाई राख्नुभएको छ । स्वयं खनालको बीपी विचारबारेको अभिमत छ ‘विश्वेश्वरप्रसाद कोइराला आधुनिक राष्ट्रिय अन्तर्राष्ट्रिय चेतनाको विशिष्ट उत्पादन र सन् बीसौं शताब्दीका श्रेष्ठतम नेपाली प्रतिनिधि हुन्, विश्वराजनीतिको चर्चित नेतृत्वपंक्तिमा नेपालले देखाउन लायक राजनेता पनि ।’ (पृष्ट-३)
(च) बीपी चिन्तनमा दृश्य विषय :
बीपीको चिन्तनमा राष्ट्र, राष्ट्रियता, नेपाली समाज, नेपालको भूगोल, नेपालको विकास, नेपालको सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा मात्रै होइन मानवता र मानव स्वभावसम्म पुगेको छ । उहाँले अनगिन्ती साहित्यको अध्ययन गर्नुभएको छ । कानुनको ज्ञाता हुनुन्थ्यो । दक्षिण एसियाको भूगोलबाट अन्तर्राष्ट्रिय क्षेत्रमा विचार र प्रयोगको मूर्त मानव महात्मा गान्धीसँगको सम्पर्क, भारतीय स्वतन्त्रता आन्दोलनका अधिकांश ख्यातनामाहरूसँगको सान्निध्यता र सहकार्य, समाजको सामाजिक आर्थिक रूपान्तरणमा प्रकट अनेक विचार र सिद्धान्तको अध्ययन अनुसन्धान, आध्यात्मिक साहित्य र दर्शनको अध्ययन आदिबाट बीपी विचार र चिन्तन खारिएको देखिन्छ । चेतना र चिन्तनको प्राकट्य कसरी हुन्छ होला ? यो प्रश्न सजिलो छैन ।
अन्तर्निहित चेतनामा आएका स्थूल पक्षको विकास विस्तृतीकरण भएर मानिसले अनेक योजना, परिकल्पनाको आधार तयार पार्छ कि समाजको भौतिक अवस्थाका आधारमा चिन्तनको दायरा फराक पार्छ ? भन्न सकिँदैन तर बीपीले पूर्वी पहाडी सानो गोरेटोमा हत्कडी लगाएर हिँड्दै गर्दा देख्नुभयो समाजको जीवनको कष्ट र उहाँ आर्थिक सामाजिक रूपान्तरणप्रति गहिरोसँग प्रवृत्त हुनुभयो । प्रा.खनालले यही अवस्थागोचर पश्चात् बीपीको सोचलाई एकाग्र बनाएको तर्कमा समर्थन जनाएका छन् ।
एक प्रकारले बीपीको यो प्रारम्भिक चिन्तनका आधारमा उहाँ माक्र्सवादी भौतिक दर्शनको प्रत्यक्ष प्रभावमा देखिनुभएको छ तर बीपीले पछिल्लो चरणमा आफ्नो डायरीमा लेखेको सन्दर्भमा ‘मैले आफूलाई गान्धीले भन्दा बढी माक्र्सले प्रभाव पारेको भन्ने गरेको भए तापनि व्यवहारमा म माक्र्सबाट होइन, गान्धीबाट नै प्रभावित छु’ (पृ.११) भन्नुभएको छ । यस भनाइले बीपीलाई समाजवादी र आध्यात्मिक चेतना र चिन्तनको समवेत भन्न मिल्ने भएको छ । (क्रमशः)






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि