काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार महासंघमा आयोजित कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै अध्यक्ष ढकालले देशको सबैभन्दा ठूलो रोजगारदाता निजी क्षेत्र भए पनि हरेक आन्दोलनमा यसलाई निशानामा पारिनु गम्भीर विषय भएको बताउनुभयो ।
उहाँले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्ति नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिँदै, ‘निजी क्षेत्रमाथि आक्रमण हुनु यसको महत्व नबुझेको परिणाम हो’, भन्नुभयो ।
ढकालका अनुसार निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिँदै आएको छ भने रोजगारीको ८६ प्रतिशत हिस्सा यसले ओगटेको छ । उहाँले सरकारद्वारा हालै घोषणा गरिएका राहत प्याकेजलाई मनोबल उकास्ने कदमका रूपमा सकारात्मक रूपमा लिएको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हालका घटनाले उद्योगी व्यवसायीमा असुरक्षाको भावना बढाएको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गरी व्यवसायिक वातावरण सुधार्न आग्रह गर्नुभयो । उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासनका लागि निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माणको आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, कोषाध्यक्ष भरतराज आचार्यले आर्थिक पुनर्निर्माणका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा र सहकार्य सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेजनका अध्यक्ष भागवत भट्टराईले खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका मुद्दामा पत्रकार समाजले निरन्तर पैरवी गर्दै आएको उल्लेख गर्दै महासंघसँगको सहकार्यलाई अझ सुदृढ बनाइने बताए ।
महासंघले बदलिँदो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै, ‘यी विषयहरू समग्र देशको समृद्धिका लागि हो भन्ने बुझिनुपर्छ’, आग्रह गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच