काठमाडौं । देशभर दशैँको रौनक सुरु भइसकेको छ । गाउँघरमा परिवारसँग दशैँ मनाउन सर्वसाधारण घर फर्किरहेका छन् । तर, निरन्तर वर्षाका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरू गन्तव्यमा पुग्न कठिनाइ खेपिरहेका छन् ।
पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
चितवनको इच्छाकामना-३ स्थित तुइनखोला क्षेत्रमा मंगलबार अपराह्न ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । पहिरोले करिब १६० मिटर सडक क्षेत्र पुरेको छ भने यसको उचाइ २० मिटरभन्दा बढी पुगेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक डिभिजनका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बुधबार बिहानैदेखि पहिरो पन्छाउने कार्य तीव्र पारिएको छ । बिहान ६ बजेदेखि दुवैतर्फ दुई-दुई गरी चारवटा भारी उपकरण (डोजर) परिचालन गरिएको भए पनि काम सुस्त भएको छ । ‘ठूला-ठूला ढुंगाहरू भेटिँदा काम जटिल र ढिलो भइरहेको छ’, आचार्यले भन्नुभयो, ‘अतिरिक्त पहिरो नखसेको खण्डमा बिहीबार साँझसम्म सडक खुल्ने अपेक्षा गरिएको छ ।’
यद्यपि, डोजर चालकहरूले भने निरन्तर प्रयास भएमा शुक्रबारसम्म सडक पूर्णरूपमा खुलाउन सकिने विश्वास व्यक्त गरेका छन् । सुरक्षा जोखिमका कारण एकपटकमा दुवैतर्फ दुई–दुई गरी मात्रै डोजर सञ्चालन भइरहेको जनाइएको छ ।
पोखरा-काठमाडौं आवागमन प्रभावित
तुइनखोला पहिरोको असर पोखरा-काठमाडौं आवागमनमा पनि परेको छ । मुग्लिनखण्डमा सवारी साधनको भिड बढेपछि पृथ्वीराजमार्गमा नियमित चल्ने करिब ४०० बस प्रभावित भएका छन् । यात्रु समयमै गन्तव्यमा पुग्न नसक्दा थप समस्या सिर्जना भएको छ ।
कोसी-अरनिको राजमार्ग अवरुद्ध
नेपाल प्रहरीका अनुसार कोसी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा सडकखण्डमा पहिरो खस्दा सम्पूर्ण आवागमन ठप्प बनेको छ । सो खण्डबाट चीनतर्फ जाने पुल नभएकाले यातायात पूर्णरूपमा रोकिएको हो । यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ कोदारीमा पनि पहिरो खसेपछि सडक पूर्ण अवरुद्ध भएको छ । दशैँको मुखमा बाटो बन्द भएपछि टिकट काटिसकेका यात्रुलाई पैसा फिर्ता दिन यातायात व्यवसायी बाध्य भएका छन् ।
राजधानीका नाकामा चाप
यता, राजधानीबाट बाहिरिने यात्रुको संख्यामा पनि दैनिक वृद्धि भइरहेको छ । थानकोट, जडीबुटी, बल्खु, ककनी लगायतका नाकामा सवारी चाप बढेको छ । नयाँ बसपार्कलगायत स्थानमा यात्रुहरूको ठूलो भिड देखिएको छ । असोज १ गतेदेखि नै हजारौँ मानिस गाउँ फर्कन थालेका छन् । काम, पढाइ र रोजगारीका सिलसिलामा काठमाडौं बस्नेहरू फूलपाती र टीकासम्म अझ बढी संख्यामा बाहिरिने अनुमान छ ।
दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग
नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ-मुग्लिङ सडक खण्डमा पटक-पटक पहिरो खस्दा देशको आपूर्ति प्रणाली नै अस्तव्यस्त बन्न पुगेको भन्दै सरकारले दिगो समाधान ल्याउनुपर्ने माग गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार मंगलबार साँझ ४ देखि ५ बजेसम्म चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा खसेको भीषण सुक्खा पहिरोका कारण उक्त सडक अनिश्चित कालका लागि अवरुद्ध बनेको हो । निरन्तर पहिरो खसिरहेको, सडक भासिएको र उच्च जोखिम देखिनुले यातायात व्यवसाय गम्भीर संकटमा परेको उहाँको भनाइ छ । यसअघि असोज ३ गते साँझ खसेको ठूलो पहिरो हटाउन ठूलो मेहनत लागेपछि मात्रै सडक सञ्चालनमा ल्याइएको थियो । तर, केही दिनमै पुनः अर्को ठूलो पहिरो खसेर आवागमन ठप्प बनेको महासंघले जनाएको छ । यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जवाडखोला (बाँदरे मोड) मा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइए पनि छोटो समयमै पुनः अर्को पहिरो खस्नुले यो क्षेत्रमा दीर्घकालीन समाधान अपरिहार्य भएको स्पष्ट भएको महासंघको निष्कर्ष छ । सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्याउन नसक्दा ठूलो क्षति भएको महासचिव बाँनियाले बताउनुभयो । विशेषगरी कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली अस्तव्यस्त बन्नुले जनजीवन प्रत्यक्ष प्रभावित भएको र चालक तथा सर्वसाधारणको सुरक्षामा समेत गम्भीर जोखिम थपिएको उहाँले उल्लेख गर्नुभयो । महासंघले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान गर्न सकिँदैन भन्दै नारायणगढ-मुग्लिङ सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढंगले पूर्वाधार निर्माण गर्न सरकारसँग माग गरेको छ । साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोग योग्य बनाउनुपर्ने आवश्यकता पनि महासंघले जोड दिएको छ ।
काठमाडौं उपत्यका आसपासमा भारी वर्षा, नदीहरूमा बाढी
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारी वर्षासँगै यहाँका नदीहरूमा बाढी आएको छ । बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीमा बाढी आएको हो । बागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदीमा बाढी आएको छ । वर्षा निरन्तर रहे जल सतह पार गर्ने भन्दै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । जलवायु परिवर्तनको कारण जलचक्रीय प्रणालीमा आएको असरको कारण पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि