सम्माननीय प्रधानमन्त्रीज्यू,
देश राजनीतिक हिसाबले तरल तथा संवेदनशील अवस्थामा छ । केही दिनअगाडि भएको जेन-जी आन्दोलनले मुलुकलाई अस्तव्यस्त बनाएको छ । नागरिकको पीडा, असन्तोष र आक्रोशको अभिव्यक्तिबाट उठेको यो आन्दोलनले सरकारको असफलता, भ्रष्टाचारले वर्षौंदेखि गहिरो जरा गाढेर बसेको वर्तमान परिस्थितिमा नेतृत्वको दम्भलाई उदागो बनाएको छ । नेपालको इतिहासमा तपाईंले पहिलो महिला प्रधानमन्त्री बनेर आमनागरिकको मनबाट निभ्न लागेको दीयोलाई चीर स्थायी बनाउदै समृद्ध नेपाल बनाउने अवसर पाउनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु । हुन त तपाईंको नियुक्ति वर्तमान संविधानको भावनाविपरीत भएको भन्दै आठ दलले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका छन् भने वरिष्ठ संविधानविद्हरूले दलहरूको आरोपलाई पुष्ट्याई गरिरहेका छन् । यस्तो जटिल र चुनौतीपूर्ण समयमा तपाईंले पाउनुभएको जिम्मेवारीबाट आमनागरिकमा एकातिर आशा र अर्कोतिर गहिरो प्रश्न जन्माएको छ । वर्तमान सरकारले जेन-जी आन्दोलनको उद्घोष, भ्रष्टाचार तथा अनियमितताको नियन्त्रण, वेथिति र अराजकतालाई नियन्त्रण गर्दै ६ महिनाभित्र आमनिर्वाचन गराउनेलगायत जिम्मेवारी पूरा गर्न सक्ला त ? नागरिकले गम्भीरताका साथ हेरिरहेका छन् ।
‘शासक होइन, सेवक’ बन्ने संकल्प बोकेर अघि बढ्नुभयो भनेमात्रै नागरिकको तपाईंप्रति सम्मान बढेर जान्छ । अनिमात्रै तपाईंसँग युवा तथा आमनागरिकले राखेको विश्वास र भरोसा पूरा हुनसक्छ । असफलतातर्फ धकिलिएको मुलुकले गति लिनेछ । राजनीतिक दलविनाको लोकतन्त्र कल्पना पनि गर्न सकिँदैन ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
जेन-जी आन्दोलन र उठेका गम्भीर चुनौती :
२०८२ भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनले राज्य संरचनालाई आश्चर्य चकित बनायो । आन्दोलन सुरु भएको २७ घण्टाभित्र हाराहारी दुईतिहाइको सरकारले राजीनामा दिनुपर्यो । यो आन्दोलनमा सयौं नागरिक घाइते भए, धेरै निर्दोषले ज्यान गुमाए । केन्द्रीय सरकारको मुख्यालय सिंहदरबार, सर्वोच्च अदालत, अख्तियारलगायत ऐतिहासिक संरचना खरानीमा परिणत भए । अर्बाैंको नोक्सानि हुनपुग्यो । ‘भूतो न भविष्यति’ यस्तो अकल्पनीय घटना विरलै हुन्छ विश्व इतिहासमा । निजी उद्योग, कारखाना र उद्यम ध्वस्त भए । यसमा दलहरू, नागरिक समाजलगायत सबै पक्षबाट घुसपैठको आशंका गरिएको छ । यसको निष्पक्ष छानविन गरी दोषिमाथि कडा कारबाही हुन जरूरी छ । निष्कपट जेन–जीको नाममा घुसपैठ गरी अराजकता मच्चाउनेलाई कानुनी कठघरामा ल्याउनु सरकारको दायित्व हो । तथापि यस आन्दोलनले स्पष्ट सन्देश दिएको छ कि नागरिक अब खाली भाषण वा आश्वासनमा बस्न तयार छैनन् । उनीहरू तत्काल राहत, न्याय र दिगो विकास चाहन्छन् ।
सम्माननीय प्रधानमन्त्रीज्यू
सरकारका प्राथमिकता र जिम्मेवारी
तपाईंको नेतृत्वमा बनेको वर्तमान सरकारले ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने जिम्मेवारी पाएकाले यसलाई समयमै सम्पन्न गराउनुपर्दछ । राजनीतिक दलसँगको समन्वयमा निर्वाचन हुनसकेन भने संवैधानिक रिक्तता आउने भएकाले यसप्रति ज्यादा जवाफदेहीता तपाईंको पर्दछ । आन्दोलनमा भएको क्षतिको निष्पक्ष मूल्यांकन र पुनर्निर्माण तपाईंको प्राथमिकतामै पर्ने भयो । किनकि तपाईं स्वयं बस्ने प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारभित्रका अधिकाश मन्त्रालय तोडफोड एवं आगजनीबाट खण्डहर भएका छन् । देशभरका कार्यालय र त्यहाँका आवश्यक उपकरण खरिद गर्नुपर्ने बाध्यता छँदैछ । क्षति भएको निजी सम्पत्तिको लेखाजोखा, राहत, सहयोग तथा सरकारको अविभावकत्वको महसुस गराउनु तपाईंको कर्तव्य हो ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
निष्पक्ष छानविन र दोषी उपर कारबाही
आन्दोलनको स्वतन्त्र छानविन र दोषीलाई कानुनी सजाय दिएन भने भोलिको दिनमा खुलेआम डकैती, चोरी र लुटपाट हुनेछ । अराजकता बढ्नेछ । कानुनी राज्यको अनुभूति नागरिकलाई दिलाउनु सरकारको दायित्व हो । २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सुरक्षा निकायले विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई अन्धधुन्ध गोली चलाई हत्या भयो । यसबाट सरकारप्रति गम्भीर प्रश्न उठ्न पुग्यो । अविभावक, समकक्षी विद्यार्थी, आमनागरिकमा आक्रोश देखियो । सामाजिक सञ्जाल बन्द गरेदेखि नै सरकारसँग आक्रोशित विद्यार्थी, नागरिकमा थप असन्तुष्टि बढ्नपुग्यो । विद्यार्थीको त्यो हृदयविदारक लासको थुप्रो देख्दा नभक्कानीको मानिस थिए होला र ! सैकडौं विद्यार्थी प्रहरीको गोली लागेर मृत्युसँग जुधिरहेका छन् अस्पतालको बेडमा । देशी विदेशी शक्तिको घुसपैठको गम्भीर कुरा आएको छ । अतः यसको निष्पक्ष ढंगबाट छानविन गरी दोषीउपर कडा कारबाही गर्नुपर्ने तपाईंको दायित्व छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू
तपाईंको नियुक्ति र दलहरूको असन्तुष्टि
राजनीतिक दलहरूले दशकौं लामो संघर्षपछि लोकतन्त्र ल्याए तर आज जनतामा उनीहरूप्रतिको विश्वास घटेको देखिन्छ । दलभित्र आन्तरिक लोकतन्त्र कमजोर छ । अवसरवादी गठबन्धन र कुर्सी राजनीतिले स्थायित्वलाई नोक्सान पु¥याएको छ । नेताहरूले पदलाई सेवाभन्दा सत्ताको साधन बनाएका छन् भन्ने धारणाको विकास गराउन व्यवस्थाविरोधीको ठूलो भूमिका रहने नै भयो । नागरिकलाई सगरमाथा चुम्ने आशा बाँड्ने तर सामान्य समस्या समाघान गर्न नसकी निराश बनाउने प्रवृत्ति देखियो ।
यसले के देखिन्छ भने नागरिक पुराना दलको विकल्पमा नयाँका शक्तिको खोजिरहेका छन् । तपाईंको स्वतन्त्र न्यायिक पृष्ठभूमि तथा निष्कलंकित छविले नागरिकमा आशा जगाएको छ । यो आशालाई पूरा गर्न दलहरूलाई जवाफदेही र पारदर्शितामा ल्याउँदै राष्ट्रिय हितलाई दलगत स्वार्थभन्दा माथि राख्न तपाईंको नेतृत्व निर्णायक हुनेछ । दलहरू वा राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका हुन् भन्ने नागरिकमा छाप परेको छ । पूर्वाग्रह नराखी निष्पक्ष र पारदर्शी ढंगले छानविन होस् ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
भ्रष्टाचार नियन्त्रणको कडा पहल
नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । यसले विकास रोक्छ, नागरिकको विश्वास गुमाउँछ र व्यवस्थालाई नै कमजोर बनाउँछ । यसलाई नियन्त्रण गर्न तपाईंले निम्न कदम चाल्न आवश्यक देखिन्छ :-
ड्ड उच्चपदस्थ राजनीतिकर्मी, कर्मचारी, सरकारी कोष उपभोग गर्ने तथा अनुदान लिने व्यक्ति वा संस्थाको आवश्यक सम्पत्ति छानविन गर्न केन्द्रदेखि नगरसम्म एक शक्तिशाली स्वतन्त्र आयोग गठन गरियोस् । भरसक आयोगमा बस्ने कसैलाई तलब, भत्ता र अन्य सेवासुविधा नदिइयोस् ।
ड्ड ठेक्का, बजेट र सेवा प्रवाहमा अनिवार्य पूर्ण डिजिटल युक्त प्रविधि प्रयोग गरियोस् । साथै समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गरियोस् ।
ड्ड सम्पत्तिको श्रोत खुलाउन नसक्ने राजनीतिकर्मी, कर्मचारी वा राज्यकोषबाट सुविधा लिनेको सम्पत्ति तत्कालै राष्ट्रियकरण गरियोस् ।
ड्ड निर्वाचनको समयमा टिकट खरिदबिक्री गर्ने, मासुभात खुवाउने, मोटरसाइकललगायत सवारीसाधन बाड्ने संस्कृतिलाई कडाइका साथ नियमन गरि निर्वाचनमा पैसा खर्च गर्न नपाउने कानुनी व्यवस्था गरियोस् । पैसा खर्च गरेको पुष्टि भएमा सोही बखत् सो जिम्मेवारी सकियोस् र भविष्यमा उम्मेद्वार हुन अयोग्य ठहरियोस् ।
यसपटक पनि भ्रष्टाचार नियन्त्रण भएन भने र सुशासनको व्यस्था गर्न ठोस् कानुन बनाइएन भने जेन-जी आन्दोलनभन्दा अझ गहिरो संकट निम्तिन सक्छ । यसको अपजस यहाँको थाप्लामा आउनेछ । यसप्रति सम्माननीय प्रधानमन्त्रीज्यूले गम्भीरता पूर्वक कदम चाल्न जरूरी छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू ,
पारदर्शिता आफूबाट सुरु गरौं
अहिले आमनागरिकको गुनासो छ नेतृत्व पारदर्शी भएन । सुशासन कायम हुन सकेन । केन्द्र हुँदै अनियमितता बढेर पालिकाबाट टोलसम्म पुग्यो । सार्वजनिक जिम्मेवारी लिनेले सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी प्रावधान छ । तर, नागरिकको पहँचभन्दा बाहिरछ । कानुन कार्यान्वयन भएको छैन । त्यसैले तपाईंले प्रधानमन्त्रीको शपथग्रहण गरेको १५ दिन र सत्ता छोडेको १५ दिनभित्र आफ्नो, मन्त्री, सल्लाहकार, सचिवालय टिमको तीन पुस्ते सम्पत्ति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु हुन अनुरोध छ । नागरिकमा यो व्यवस्थाप्रति विश्वास जगाउन मद्दत पुग्नेछ । त्यतिमात्र होइन सबै तहका राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, राज्यकोष प्रयोग गर्ने र गरेकाको सम्पत्ति विवरण सार्वजनिक गर्न तत्कालै समय–सीमा निर्धारण गर्दा अझै तपाईंप्रति विश्वास र भरोसा बढेर जान्छ । यसले सुशासन र पारदर्शिता कायम गर्न मद्दत पुग्नेछ ।
तपाईंबाट दलको विश्वास जित्न आवश्यक पहलकदमी गर्नुपर्दछ । भ्रष्टाचारको मूहान् सफाहुने गरी कडा कानुन बनाउनसके तपाईंको ठूलो सफलता हुनेछ । सबैतह र प्रकारको भ्रष्टाचार रोकिए राष्ट्रले विकासमा फड्को मार्नेछ । तपाईंको पालामा कडा कानुन बने भ्रष्टाचारमुक्त नेपाल राष्ट्रको स्वाभिमानी नागरिक बन्न सफल हुनेछौं ।
स्थानीय स्रोत, वातावरणमैत्री विकास र बाँदर नियन्त्रण
दिगो विकासको आधार स्थानीय स्रोत र सीपमा छ । यस सन्दर्भमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गत फागुनमा दिक्तेलमा आयोजना गरेको ‘नेपालको पहिलो राष्ट्रिय बाँस सम्मेलन एउटा उदाहरणीय काम हो । यस सम्मेलनले बाँस केवल परम्परागत प्रयोगको वस्तु होइन, बरू भविष्यको हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्छ । घर, पुल, फर्निचर, हस्तकला, ऊर्जा र आधुनिक प्रविधिबाट बाँस प्रयोग गर्न सकिन्छ । यसले वातावरणमैत्री विकासमात्र होइन, रोजगारी सिर्जना र उद्यमशीलतालाई सबल बनाउँछ । आयातमा निर्भरता घट्छ, आन्तरिक बजार बलियो बन्दै नेपाल आत्मनिर्भर बन्नसक्छ । धार्मिक र सांस्कृतिक हिसाबले बाँसको महत्व छ । त्यसैले सरकारले स्थानीय स्रोतलाई प्राथमिकता दिनुपर्छ भन्ने बाँस सम्मेलनको निष्कर्ष थियो ।
अतः वर्तमान सरकारले बाँस, माटो, ढुंगा, काठ, जडिबुटी, गाँजा, रैथाने रक्सी उद्यम, खाडी, राडीपाखीलगायत स्रोतको अनिवार्य प्रयोग गर्ने नीति व्यवहारमा ल्याउनै पर्छ । हरित भवन प्रविधि र नवीकरणीय ऊर्जाको काम बढाउन जरूरी छ । स्थानीय उद्यमलाई कर छुट र प्रविधि सहयोग गर्ने हो भने विकासले फड्को मार्नेछ । यसरीमात्रै विकासले नागरिकलाई प्रत्यक्ष लाभ दिनेछ । वातावरणमैत्री समाज बनाउँदै दिगो विकास हुनेछ । देशभरका किसान बाँदरलगायत वन्यजन्तुको थिचोमिचोबाट आक्रान्त छन् । किसानको मिहिनेतबाट उत्पादित खाद्य सामग्रीबाट बाचेका छौं । त्यसैले बादरलगायत बन्य जन्तुको आक्रमणलाई रोकथाम गर्न आवश्यक नीति र कानूनी व्यवस्था जरूरी छ । यदि यो विकराल समस्या समाधान हुनसकेन भने गाउँघर रित्तिने र त्यहाँको बसोवास अन्यत्र सर्ने निश्चित छ । उत्पादनशील माटो र गाउँ रित्तो हुँदा देश समृद्ध हुँदैन त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले बादरलगायत वन्यजन्तुको समस्या समाधान गर्न तत्काल अग्रसरहुन आग्रह गर्दछु ।
तपाईंले सुशासन र पारदर्शि काम गरेर सफल राष्ट्र बनाउनुहुनेछ भन्ने विश्वास गरेका छन् । ‘शासक होइन, सेवक’ बन्ने संकल्प बोकेर अघि बढ्नुभयो भनेमात्रै नागरिकको तपाईंप्रति सम्मान बढेर जान्छ । अनिमात्रै तपाईंसँग युवा तथा आमनागरिकले राखेको विश्वास र भरोसा पूरा हुनसक्छ । असफलतातर्फ धकिलिएको मुलुकले गतिलिनेछ । राजनीतिक दलविनाको लोकतन्त्र कल्पना गर्न सकिँदैन । त्यसैले तपाईंबाट दलको विश्वास जित्न आवश्यक पहलकदमी गर्नुपर्दछ । भ्रष्टाचारको मुहान् सफा हुनेगरी कडा कानुन बनाउनसके तपाईंको ठूलो सफलता हुनेछ । सबैतह र प्रकारको भ्रष्टाचार रोकिए राष्ट्रले विकासमा फड्को मार्नेछ । तपाईंको पालामा कडा कानून बने भ्रष्टाचारमुक्त नेपाल राष्ट्रको स्वाभिमानी नागरिक बन्न सफल हुनेछौं । बासलगायत कच्चा पदार्थको सरकारी मान्यता दिने व्यवस्था गरेर हरित क्रान्तिमार्फत समृद्ध राष्ट्र बनाउनु हुनेछ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू समक्ष यो नागरिक आवाज हो । सम्पूर्णको तहका नेपालीको तर्फबाट यो खुला पत्र पठाइरहेको छु । पक्कै कार्यान्वयन गर्नुहुनेछ र जेन-जीको आवाज तथा नागरिकको जनजीविकालाई पारदर्शी र सुखमय बनाउन सफलता पाउनुहुने विश्वास लिएको छु । (तीर्थराज भट्टराई दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिका दिक्तेल, खोटाङका नगर प्रमुख हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर