वर्षौंदेखि घरबाट टाढा रहेका नेपालीहरूलाई दशैँको सम्झना हुँदा जसरी आमाको हातको खाना, बाल्यकालको न्यानो सम्झना आउँछ, त्यसैगरी आउँछ- जमराको हरियो झलमल चित्र । टीकासँगै कानमा वा कपालमा सजिने जमराले दशैँको मात्र परिचय दिँदैन, यो नेपाली पहिचान, संस्कृति, धार्मिक आस्था र स्वास्थ्यसँग जोडिएको मौलिक परम्परा पनि हो ।
नेपालीको जीवनशैली, परम्परा र पर्वहरूले सधैं बहुपर्यायी अर्थ बोकेका हुन्छन् । तिनैमध्ये एक उत्कृष्ट उदाहरण हो-विजयादशमीमा लगाइने जमरा, जसको महत्व केवल पूजा वा सौन्दर्यमा सीमित छैन, यसले नेपाली सभ्यता, परम्परा, वानस्पतिक मूल्य, औषधीय गुण र वैज्ञानिक सूक्ष्मता पनि समेटेको छ ।
जमरा भन्नाले विजयादशमीको दिन मान्यजनबाट टीका ग्रहण गर्दा कानमा लगाइने वा कपालमा सिउरिने हरिया अंकुरहरूलाई जनाइन्छ । यी अंकुरहरू विशेषगरी जौ, कहिलेकाहीं धान, गहुँ वा मकै पनि मिसाएर घटस्थापनाको दिन छरिन्छन् । यसरी रोपिएको बीउ नौ दिनसम्म पूजा–आराधना गर्दै हुर्काइन्छ र दशैँको मुख्य दिन देवीको प्रसादका रूपमा शरीरमा अंकित गरिन्छ ।
जमरालाई नेपाली हिन्दू संस्कृतिको मौलिक विशेषता मानिन्छ । भारत वा अन्य राष्ट्रका हिन्दू समाजमा यस्तो परम्परा पाइँदैन । यही कारणले पनि जमरा नेपाली दशैँको विशेष सांस्कृतिक पहिचान बनेको छ ।
गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरूमा अन्नको राजा भनिने जौ धार्मिक र पौराणिक हिसाबले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।
दशैँको आरम्भ आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनाबाट हुन्छ । पूजाकोठा वा दशैँघरमा गाईको गोबरले पवित्र रेखा कोरिन्छ । त्यसमा नदी वा धाराबाट ल्याइएको पवित्र बालुवा वा माटो राखेर त्यसमा जौ छरिन्छ । बाली छर्ने बेलामा धान, गहुँ वा मकै मिसाउने परम्परा पनि कतिपय समुदायमा प्रचलनमा छ ।
त्यस माटोभित्र जमरा रोपिन्छ र थालीमा भगवती दुर्गाको मूर्ति राखिन्छ । त्यसपछि नौ दिनसम्म दुर्गाको नौ अवतार, नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री) को पूजा गरिन्छ ।
महासप्तमी, महाअष्टमी र महानवमीको दिन क्रमशः महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरी घडा वा वेदीमा जमेको जमरामा शक्ति सञ्चार हुने विश्वास गरिन्छ । दशमीको दिन त्यसैलाई देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।
सामाजिक-सांस्कृतिक एकता
जमरा दशैँको धार्मिकमात्र होइन सामाजिक एकता र भावनात्मक सम्बोधनको प्रतीक पनि हो । वर्ष दिनसम्म परदेशमा वा कामविशेषले टाढा रहेका छोराछोरी, बाबुआमा वा आफन्तहरू दशैँमा घर फर्कने प्रमुख उद्देश्य टीका र जमरा थाप्नु हो ।
घरका जेठो, बुबा वा पितामहले आशीर्वादसहित टीका र जमरा लगाइदिनु नेपाली समाजको संस्कार र पौराणिक परम्पराको निरन्तरता हो । पुरुषले जमरा ढाका टोपीमा सिउरेर, महिलाले कपालमा गुथेर लगाउँदा त्यो सजावटमात्र नभई निष्ठा, श्रद्धा र परम्पराको प्रतिबिम्ब बन्छ ।
धार्मिक दृष्टिले जमरा आस्था, समर्पण र देवीको अनुकम्पा प्राप्त गर्ने माध्यम हो । संस्कृतमा जौलाई ‘यव’ भनिन्छ । यो अन्न वैदिक कालदेखि नै पवित्र अन्नका रूपमा परिचित छ । यज्ञ, होम, तर्पण र पूजामा यसको प्रयोग अनिवार्य मानिन्छ ।
ज्योतिष पं. भरतमणि मरासिनीका अनुसार धार्मिक ग्रन्थहरूमा भनिएको छ कि- ‘यज्ञार्थे भूतानां धर्मो भवति यवेन हि’ अर्थात् यव (जौ) ले जीवहरूको धर्मको पालनमा सहायता पुर्याउँछ । बराह पुराण, अथर्ववेद र महाभारतमा पनि जौलाई बल, प्राण, ओज, आरोग्य र दीर्घायु प्रदान गर्ने अन्नका रूपमा चित्रित गरिएको छ ।
श्रीमद्भगवद्गीताअनुसार पनि भगवान् श्रीकृष्णले ‘औषधिहरूमा म जौ हुँ’ भन्ने उद्घोष गर्नुले यसको दैवी महत्व पुष्टि गर्छ ।
वैज्ञानिक र आयुर्वेदिक महत्व
पौराणिकसँगै वैज्ञानिक दृष्टिले पनि जमराको महत्व अपार छ । आधुनिक चिकित्सा र आयुर्वेद दुवैमा जौ र त्यसको अंकुर (जमरा)लाई महत्वपूर्ण औषधीय वनस्पति मानिएको छ । जमरा पिसेर बनाइएको रस नियमित सेवन गर्नाले उच्च रक्तचाप, मधुमेह (डायबेटिज), क्यान्सरजस्ता रोगमा लाभ पुग्ने चिकित्सिकहरू बताउछन् । चिकित्सकका अनुसार जमराले शरीरमा डिटक्सिफिकेसन अर्थात् विषाक्त तत्व हटाउने प्रक्रिया बढाउँछ । चम्किलो छाला, स्वस्थ हाड र बलियो पाचन प्रणालीका लागि जमरा लाभदायक हुन्छ ।
अमेरिकी भूविज्ञ डा. आर्क टकसको अध्ययनअनुसार जमरामा पाइने पोषक तत्व अन्य हरिया सागपातभन्दा धेरै गुणा बढी पाइन्छ । क्लोरोफिल, भिटामिन ‘बी’, ‘सी’ आइरन, क्याल्सियम, पोटासियम, फाइबर र एन्टिअक्सिडेन्ट पाइने जमरा आधुनिक औषधिका लागि उपयुक्त प्राकृतिक स्रोत हो ।
दशैँ, नेपालीहरूको जीवनशैली, संस्कृति र चाडपर्वको मेरुदण्डमध्येको एक प्रमुख पर्व हो । दशैँ केवल चाडमात्र होइन, यो भावनाको उत्सव हो, एकता र आस्थाको समर्पण हो । यसले नेपाली समाजमा पारिवारिक पुनर्मिलन, सामूहिक शक्ति, मातृशक्तिप्रति श्रद्धा र संस्कारको निरन्तरता दिने कार्य गर्छ ।
भारतमा पनि वैकल्पिक चिकित्सकहरूले जमराको प्रयोगबाट आन्द्रा, पेट, हाड, छाला र जठरासयसम्बन्धी रोगमा आश्चर्यजनक लाभ देखिएको बताएका छन् ।
नेपाली समाज, गाउँघरमा अहिले पनि दशैँको जमरा सुकाएर राखिन्छ । कहिले ज्वरो आएमा उमालेर खाइन्छ, कहिले पेट दुख्दा औषधिका रूपमा प्रयोग गरिन्छ । कुनै कालमा वैद्यहरूले तयार पार्ने औषधिको मूल कच्चा पदार्थ यही जमराको रस थियो । अहिले शहरीकरण र आधुनिकताको प्रवाहसँगै यस्तो अभ्यास हराउँदै गए तापनि यसको आवश्यकता भने झनै बढिरहेको छ ।
अहिले जौको खेती भने निरन्तर घट्दो क्रममा छ । बजारमा भित्रिएका विकासे जातका विदेशी अन्नहरूले गर्दा जौजस्ता देशी र परम्परागत अन्नहरू विस्तारै विस्थापित हुँदै गएका छन् । फलस्वरूप खाद्य असुरक्षा, पोषणको कमी, आत्मनिर्भरताको अभावजस्ता समस्या देखा परेका छन् । वैज्ञानिकहरू भन्छन्, ‘यदि जौजस्ता परम्परागत बालीको संरक्षण भएन भने भावी पुस्ताले न जमरा रोप्न जान्नेछन्, न यसको उपयोग गर्न ।’
आज शहरी अपार्टमेन्ट वा विदेशमा बस्ने नेपालीहरू पनि जमरा उमार्न चाहन्छन् । जमाना बदलिँदै छ तर भावना उस्तै छन् । अब बजारमा जमरा किट, प्लास्टिक ट्रे, हाइड्रोपोनिक जमरा उमार्ने सेट जस्ता सामग्री पाइन्छन् जसले आधुनिक जीवनशैलीसँग मेल खाँदै परम्परालाई जोगाइरहेका छन् ।
दशैँ नेपालीहरूको जीवनशैली, संस्कृति र चाडपर्वको मेरुदण्डमध्येको एक प्रमुख पर्व हो । दशैँ केवल चाडमात्र होइन, यो भावनाको उत्सव हो, एकता र आस्थाको समर्पण हो । यसले नेपाली समाजमा पारिवारिक पुनर्मिलन, सामूहिक शक्ति, मातृशक्तिप्रति श्रद्धा र संस्कारको निरन्तरता दिने कार्य गर्छ । तर, दुःखको कुरा के छ भने वर्षेनी यस महान् पर्वको नाममा विकृति, तामझाम, देखासिकी र विकराल खर्च बढ्दो क्रममा छ । दशैँको मौलिक भावनाभन्दा देखावटीमा हामी रुमलिरहेका छौँ । अतः दशैँमा विकृति होइन, संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी सबैले लिनुपर्छ । यसका राम्रा पक्षलाई अनुशरण गरौँ । बडादशैँ २०८२ को सबैमा हार्दिक शुभकामना ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…