दशैँको मूल सन्देश भनेको दैवी शक्तिको विजय, आत्मिक शुद्धता र सामाजिक मेलमिलाप हो । देवी दुर्गाले राक्षसको संहार गरेजस्तै हामीले पनि आफ्ना आन्तरिक राक्षसी प्रवृत्तिमाथि विजय प्राप्त गर्नुपर्ने हो । दशैँ केवल खान-लाउन, देखासिकी गर्न र ऋणधनमा फस्न मनाउने चाड होइन । यो आत्मनिरीक्षण, सम्बन्धको पुनर्निर्माण र परम्पराको पुनर्जागरणको समय हो ।
गच्छेअनुसार खर्च गर्ने, ऋण लिएर देखासिकी नगर्ने, आफ्ना संस्कार जोगाउने, टाढाका आफन्तसँग साँचो प्रेम बाँड्ने र कममा पनि रमाउने संस्कार पुनस्र्थापित गर्नु आजको आवश्यकता हो ।
संस्कार भनेको केवल कर्मकाण्ड होइन, त्यो त सम्बन्धको अनुशासन, आचरणको मर्यादा र जीवनशैलीको गहिराइ हो । हामीले हाम्रा चाडबाडहरूलाई ‘पछौटेपनको प्रतीक’ होइन, विवेकपूर्ण र समायोजित ढंगले अगाडि बढ्न सक्ने स्रोत बनाउनुपर्छ ।
नेपालीहरूको साझा चाड ‘दशैँ’ फेरि ढोका ढकढक्याउँदै आइसकेको छ । सिंगो मुलुक चाडपर्वको रौनकमा विस्तारै लपेटिँदै छ । परम्परा, संस्कृति र सामूहिक स्मृतिको गर्भमा पलाएको दशैँ अहिले केवल टीका र जमरामा सीमित छैन- यसले समाज, अर्थतन्त्र, राजनीति र प्रविधिसम्मको मुहानलाई छोएको छ । तर, यो परिवर्तनको यात्रामा हाम्रो दशैँमा अनेकौं विकृति र विसंगति पनि भित्रिएका छन् । दशैँले हामीलाई सामाजिक समरसता, सांस्कृतिक गर्व, आन्तरिक शुद्धता र पारिवारिक एकता दिने गर्दछ । यिनै पक्षले गर्दा दशैँ हामी नेपालीहरूको मूल पहिचान, संवेदनाको आधार र संस्कारको स्रोत बनेको हो । तर, हिजोको भन्दा आजको दशैँ फरक छ- मात्र स्वरूपमा हैन, सोचाइमा पनि ।
संस्कृति र चैतन्यको उत्सव
दशैँ सनातनकालदेखि मनाउँदै आएको शक्ति आराधनाको पर्व हो । देवी दुर्गाले राक्षस महिषासुरलाई संहार गरेपछि दैवीशक्तिको विजयको प्रतीक स्वरूप यो चाड मनाउन थालिएको हो । यो केवल धार्मिक चाड नभएर न्यायमाथि अन्यायको विजय, सदाचरणमाथि दुष्टताको पराजय र जीवनमाथि सकारात्मकताको विजयोत्सव हो । घर-घरमा टीका-जमरा लगाउने, मान्यजनबाट आशीर्वाद थाप्ने, नयाँ लुगा लगाउने, आफन्तसँग भेटघाट गर्ने, हराएको सम्बन्ध फेरि गाँस्ने समय नै दशैँ हो । यी पक्षहरूले दशैँलाई केवल परम्परा हैन, जीवन्त सामाजिक प्रयोगशाला बनाएको छ ।
तर, अहिलेको दशैँ : मौलिकताको संकट र बढ्दो विकृतिले घेरिएको छ । हालको दशैँमा मौलिकताभन्दा विकृति बढी देखिन थालेको छ । खर्चमा देखासिकी, ऋण लिएर विलासीपन प्रदर्शन, आवश्यकताभन्दा बढी उपभोग र जुवातासजस्ता विकृतिले दशैँको मूल भावना ओझेल पर्दै गएको छ ।
आज धेरैले दशैँलाई बजारमुखी चाड बनाएका छन् । मोबाइल, मोटरसाइकल, लत्ताकपडाको अफर, भारी डिस्काउन्ट र विज्ञापनको चकचकेले मानिसलाई उपभोगतिर तानिरहेको छ । मूल कुरा, ‘टीका थाप्न’ होइन, ‘सेल्फी हाल्न’ दौडिने हाम्रो प्रवृत्तिले मूल्यको साटो ब्राण्ड रोज्न थालेको छ । बालबालिका र युवापुस्तामा पनि चाडको भावनाभन्दा डिजिटल रमझम बढी देखिन्छ । उखाने शैलीमा भन्नुपर्दा- ‘साँझ टीका, बिहान टिकटक’ भएका छन् हाम्रा चाडहरू ।
विकृति देखियो भनेर मौन बस्ने कि सचेत नागरिकको हैसियतले संस्कार जोगाउने ? उत्तर स्पष्ट छ- हाम्रो कर्तव्य संस्कृति बचाउने हो । संस्कार भनेको केवल कर्मकाण्ड होइन, त्यो त सम्बन्धको अनुशासन, आचरणको मर्यादा र जीवनशैलीको गहिराइ हो । हामीले हाम्रा चाडबाडहरूलाई ‘पछौटेपनको प्रतीक’ होइन, विवेकपूर्ण र समायोजित ढंगले अगाडि बढ्न सक्ने स्रोत बनाउनुपर्छ ।
आफ्नो धर्म, पर्व, संस्कारमाथि हामीले गर्व गर्ने संस्कारको विकास गर्न जरुरी छ ।
दशैँ अब केवल परम्परागत ढाँचामा मात्र सीमित राख्ने बेला छैन । यो सन्देश दिने बेला हो-संस्कारले हामीलाई एकताबद्ध गर्छ, विकृतिले छिन्न-भिन्न । हाम्रा चाडहरू केवल अघाउने र थकाइ लाग्ने भोज होइनन्, तिनमा हाम्रो मूल्य, दृष्टिकोण र पहिचान लुकेको छ ।
यो वर्ष जेन-जीको आन्दोलनमा देशमा भएको अकल्पनीय क्षतिबीच हामीले हाम्रो परम्परा दशैँ मनाउन गइरहेका छौँ । यस्तै दशैँको पूर्वसन्ध्यामा आएको बाढी, पहिरोले हामीलाई थप पीडा दिएको छ । प्राकृतिक विपद्ले जनजीवन प्रभावित बनाएको छ ।
हामीमध्ये धेरैजना रमाइरहँदा देशको एउटा ठूलो हिस्सा भने बाँच्न संघर्ष गरिरहेको छ । यस्तो बेला हाम्रो चाड मनाउने शैली पनि संवेदनशील हुन जरुरी छ ।
पारिवारिक खुसीसँगै सामूहिक पीडाको अनुभूति गर्न सक्ने चेतना विकास गर्न सकेमात्रै हाम्रो दशैँ सम्पूर्ण बन्छ । हामीले खर्च गर्ने एक–दुई हजार कुनै पीडित परिवारका लागि नयाँ जीवनको आधार हुन सक्छ । दशैँमा सहयोग, सेवा र करुणा पनि एक पर्वीय कर्तव्य हो भन्ने बुझेमा मात्र हामीले साँच्चिकै दशैँ मनाएको ठहर हुन्छ ।
सिर्जनात्मक बनाऔं
दशैँ अब केवल परम्परागत ढाँचामा मात्र सीमित राख्ने बेला छैन । यो सन्देश दिने बेला हो-संस्कारले हामीलाई एकताबद्ध गर्छ, विकृतिले छिन्न-भिन्न । हाम्रा चाडहरू केवल अघाउने र थकाइ लाग्ने भोज होइनन्, तिनमा हाम्रो मूल्य, दृष्टिकोण र पहिचान लुकेको छ । यो वर्ष, हामीले मनाउने दशैँ कम खर्चिलो, बढी सिर्जनशील, कम देखासिकी, बढी आत्मिक र कम उपभोग, बढी योगदानमुखी होस् । जेन-जी मात्र होइन, जेनेरेसन एक्स, वाई र सबै पुस्ताले आ-आफ्नो तरिकाले तर साझा भावनाले चाड मनाउने हो भने दशैँ अझ गहिरो र समावेशी बन्छ ।
आउनुहोस्, यस दशैँलाई प्रविधिमय, संवेदनशील र संस्कारमैत्री बनाऔं । देवी दुर्गाले हामी सबैलाई विवेक, करुणा र सदाचारको मार्गमा अघि बढ्ने शक्ति दिऊन् । बडादशैँ २०८२ को सबैमा हार्दिक मङ्गलमय शुभकामना । दुर्गा भवानीले देश विकास र समृद्धिका लागि सबैमा सद्बुद्धि प्रदान गरून् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच