सरकारका सिफारिशमा आएका अध्यादेशहरूलाई राष्ट्रपतिबाट सदर गर्ने काम सुरु भएको छ । प्रतिनिधिसभा विघटन भएकाले कानुनी रिक्ततालाई टार्ने एकमात्र विकल्प अध्यादेश नै भएको देखिन्छ । संविधान औपचारिक रूपमा बहाल भए पनि व्यवहारमा ‘आवश्यकताको सिद्धान्त’ अनुसार काम भइरहेकाले यसलाई निष्क्रिय अवस्थामा रहेको भन्न सकिन्छ । संविधान सक्रिय भएको भए हरेक कार्य संविधानमै तोकिएको प्रक्रिया अनुसार हुनुपर्ने थियो । तर, वर्तमान सरकार संविधानबमोजिम नभएर संविधानको फरक भाष्यद्वारा बनेको हो अर्थात् राष्ट्रपतिबाट प्रत्यक्ष घोषणा गरिएको सरकार हो ।
संविधानसम्मत प्रक्रिया अनुसार प्रधानमन्त्री संसद्को सदस्य हुनुपथ्र्यो, कुनै दलको संसदीय दलबाट चयन भई विश्वासको मत लिनुपथ्र्यो । तर, यो सरकार जेन–जी प्रदर्शन र त्यही पूदर्शनका आधाररमा विकसित भएको असामान्य राजनीतिक परिस्थितिको परिणामस्वरूप बनेको हो । यसैले कानुनी शून्यता भर्ने उपायस्वरूप प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्दै आएका छन् ।
यही क्रममा राष्ट्रपतिबाट मतदाता नामावलीमा नयाँ पुस्तालाई समेट्ने गरी अध्यादेश जारी गरिएको छ । अध्यादेश भन्नु नै व्यवस्थापिका नभएको वा तत्कालीन अवस्थामा कानुनी आवश्यकता उत्पन्न भएको बेला राष्ट्रप्रमुखबाट अस्थायी कानुन जारी गर्ने प्रक्रिया हो । इतिहासमा पनि प्रतिनिधिसभा कायम हुँदा प्रतिपक्षको अवरोधका कारण सरकारलाई काम गर्न नदिइएको अवस्था आएको थियो, जसका कारण पटक–पटक अध्यादेशको सहारा लिनुपरेको उदाहरण भेटिन्छ ।
आजको सन्दर्भ फरक छ । यो संक्रमणकालीन अवस्था हो । आगामी निर्वाचनलाई सहज बनाउन कानुनको अभाव वा कानुनकै अवरोध हटाउन अध्यादेश आवश्यक भएको हो । यसैनुसार जारी अध्यादेशले नयाँ पुस्तालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने बाटो खोलिदिएको छ । वर्तमान कानुन अनुसार १८ वर्ष उमेर पुगेपछिमात्र मतदान गर्न पाउने व्यवस्था छ । पञ्चायतकालमा यो सीमा २१ वर्ष थियो, जुन प्रजातन्त्र पुनः स्थापनापछि तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले १८ वर्षमा झारिदिनुभएको हो । यसपटक समस्या अर्कै थियो–निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नयाँ नाम थप्न नपाइने प्रावधानका कारण गत निर्वाचन यतामात्रै १८ वर्ष पुगेका हजारौं युवाहरू मताधिकारबाट वञ्चित हुने जोखिम थियो ।
२०७९ सालको निर्वाचनमा १५ वर्ष उमेर पुगेका व्यक्तिहरू अहिले १८ वर्ष भइसकेका छन् । उनीहरू मतदान गर्न योग्य भइसके पनि कानुनी व्यवस्थाका कारण मताधिकार गुमाउने स्थितिमा थिए । त्यसैले अध्यादेशमार्फत तिनीहरूलाई समेट्ने पहल गरिएको हो । यसले १८ देखि २१ वर्षमुनिका सबैलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने बाटो खुलेको छ । आन्दोलनमार्फत नयाँ यथार्थ निर्माण गर्नेमा यो पुस्ताको ठूलो योगदान रहेकाले उनीहरूलाई मताधिकारबाट वञ्चित नगराउनु लोकतान्त्रिक न्यायको माग हो ।
अध्यादेश अस्थायी व्यवस्था हो, जसको अवधि छ महिनासम्म मात्र हुन्छ । यसबीचमा प्रतिनिधिसभा बहाल भएमा त्यसबाट पारित हुनुपर्ने हुन्छ, अन्यथा स्वतः खारेज हुन्छ । तर, यो अध्यादेश बहाल रहेको अवधिभित्रै निर्वाचन सम्पन्न हुने भएकाले यसको व्यावहारिक प्रयोजन सुनिश्चित भएको छ । यद्यपि, अझै अगाडि बढ्दै १६ वर्ष पुगेका युवायुवतीलाई समेत मताधिकार दिने व्यवस्था गरिएको भए आन्दोलनका अग्रपंक्तिमा रहेर संघर्ष गर्ने जेन–जी पुस्ताप्रति अझ न्याय हुने थियो । नेपाली समाजमा १६ वर्षलाई परिपक्व उमेर मान्ने परम्परा रहिआएको छ । विश्वका थुप्रै मुलुकमा मताधिकारको उमेर १६ सम्म घटाउने बहस भइरहेको छ । यसैले आगामी दिनमा यो विषयमा गम्भीर बहस आवश्यक छ ।
हालको अध्यादेशले तत्कालीन समस्याको समाधान गरेको छ । तर, दीर्घकालीन रूपमा लोकतन्त्रलाई सुदृढ गर्न निर्वाचन कानुनहरूलाई समयानुकूल अद्यावधिक गर्दै लैजानु जरुरी छ । युवापुस्तालाई लोकतान्त्रिक प्रक्रियामा पूर्णरूपमा सहभागी गराउनु नै स्थायी राजनीतिक स्थिरता र न्यायको आधार बन्नेछ ।
अध्यादेश कुनै पनि लोकतान्त्रिक व्यवस्थाको स्थायी समाधान होइन, तर विशेष परिस्थिति र संक्रमणकालीन अवस्थाको बाधा-अड्चन हटाउने अस्थायी उपाय हो । निर्वाचन प्रक्रियामा नयाँ पुस्तालाई सहभागी गराउनु लोकतन्त्रलाई जीवन्त राख्ने र भविष्यलाई सुदृढ बनाउने महत्वपूर्ण कदम हो ।
जेन–जीविरोध प्रदर्शन र त्यसपछि उत्पन्न विकराल परिस्थितिले वर्तमान राजनीतिक यथार्थ निर्माणमा निर्णायक भूमिका खेलेको छ । त्यसैले यस पुस्तालाई औपचारिक रूपमा मताधिकार दिलाउनु केवल कानुनी व्यवस्थाको विषयमात्र होइन, लोकतान्त्रिक न्याय र राजनीतिक स्वीकार्यताको विषय पनि हो । जुन पुस्ताले आन्दोलनमार्फत नयाँ आशा र सम्भावनाको द्वार खोलेको छ, उसैलाई राजनीतिक प्रक्रियाबाट अलग्याउनु अनुचित हुन्छ ।
यद्यपि, यसले दीर्घकालीन प्रश्न पनि उठाएको छ । के भविष्यमा १६ वर्ष पुगेका युवायुवतीलाई पनि मताधिकार दिन सकिने हो कि होइन ? नेपाली समाजमा १६ वर्षलाई परिपक्व उमेरको रूपमा मान्ने चलन छ, र अन्तर्राष्ट्रियस्तरमा पनि यसबारे बहस बढ्दो छ । यदि हाम्रो लोकतन्त्रलाई अझ सहभागीमुखी र पुस्तानुकूल बनाउन चाहिन्छ भने यसबारे गम्भीर छलफल अपरिहार्य छ ।
अन्ततः, तत्कालको अध्यादेशले समस्या समाधान गरेको छ । तर, दीर्घकालीन रूपमा कानुनी र संवैधानिक व्यवस्थालाई समयानुकूल अद्यावधिक गर्दै युवा पुस्तालाई लोकतान्त्रिक अभ्यासमा समेट्न सके लोकतन्त्रलाई अझ गहिरो, स्थायी र विश्वसनीय बनाउन सकिनेछ ।
विस्तारै परिस्थिति अनुकुल र शान्त वातावरण हुनेक्रम छ । पन्ध्र दिन पहिलेको त्यो भयानक अनिश्चयको वादल फाट्न लागेको छ र संविधान सही मार्गमा पुग्न लागेको छ । त्यो सही मार्ग भनेको फागुन २१ को निर्वाचन नै हो । अब अरू विषयतिर ध्यान दिनुभन्दा निर्वाचनबाट नै निर्मित संसद्बाट समाधान खोज्नु जरुरी छ भन्ने विषय नै विमर्शको केन्द्रमा रहनु आवश्यक छ ।







बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०