रोल्पा । रोल्पाका बस व्यवसायी समितिहरुले अनलाइन टिकट प्रणाली सेवा सुरु नगर्दा यात्रुहरु लामो समयदेखि सास्ती भोग्दै आएका छन्।
नेपालका ७० भन्दा बढी जिल्लाका बस व्यवसायी समितिहरुले सार्वजनिक बसको टिकट अनलाइन प्रणालीमार्फत बुकिङ सेवा सञ्चालन गर्दै आएका भए पनि रोल्पामा भने अझैसम्म यस्तो सेवा प्रारम्भ हुन सकेको छैन।
यात्रुहरुको भनाइ अनुसार डिजिटल युगमा पनि अनलाइन प्रणाली नहुँदा उनीहरू घण्टौँ पैदल हिँडेर टिकट काउन्टरमै पुग्नुपर्ने बाध्यता छ। चाडपर्वको समयमा त झन् काउन्टरमा लाइन लाग्दा घण्टौँसम्म पालो नआएर अर्को दिनसम्म पर्खिनुपर्ने अवस्था आउने गरेको यात्रुहरूले गुनासो गरेका छन्।
उनीहरूका अनुसार बस समितिले अनलाइन टिकट बुकिङ सेवा सञ्चालन गरे यात्रुहरू सजिलै जुनसुकै ठाउँबाट, जुनसुकै समयमा घरमै बस्दै टिकट काट्न सक्नेछन्। यसअघि सम्बन्धित पक्षलाई पटक–पटक आग्रह गरे पनि हालसम्म सुनुवाइ नभएको यात्रुहरूको भनाइ छ।
यता, अनलाइन टिकट प्रणालीको सफ्टवेयर र व्यवस्थापनमा काम गर्दै आएका एक व्यवसायीका अनुसार बस समितिले चासो देखाएमा मोबाइल एपमार्फत यो सेवा अत्यन्त न्यून लागतमा एकै दिनमै सञ्चालन गर्न सकिन्छ। उनका अनुसार अनलाइन प्रणालीमा जान कुनै ठूलो समस्या वा खर्चिलो प्रक्रिया छैन।
रोल्पा जलजला यातायात प्रालिका अध्यक्ष शंकर बिष्टले भने समितिले अनलाइन टिकट प्रणाली सुरु गर्ने प्रक्रिया अघि बढाइसकेको र यसलाई दसैँअघि नै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो।
हाल रोल्पामा जलजला यातायात, त्रीशिद्धेश्वरी राप्ती यातायात, नमस्ते यातायात प्रालिका बसहरू सदरमुकाम लिवाङ र सहिदमार्गको बाघमारा हुँदै दैनिक काठमाडौं चल्दै आएका छन्। यस्तै, यी समितिका साथै अन्य सार्वजनिक सवारी साधन रोल्पाबाट दाङ, नेपालगञ्ज, बुटवल, पोखरा लगायतका स्थानसम्म चल्ने गरेका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम