काठमाडौं । नेपालीहरूको महान् चाड दशैँले राजधानीको बजारमा रौनक त ल्याएको छ, तर व्यापार भने अपेक्षाअनुसार बढ्न सकेको छैन । काठमाडौं उपत्यकाका मुख्य बजारमा विगतको तुलनामा ग्राहक संख्या कम भएको व्यवसायीहरूले बताएका छन् । व्यापारीहरूका अनुसार, दशैँमा हुने भिडभाडका बाबजुद पनि व्यापार आधाभन्दा कम मात्र भएको छ । असन, न्युरोड, महाबौद्ध, भोटाहिटी जस्ता व्यस्त बजारमा मानिसहरूको चहलपहल बढेको देखिए पनि बिक्री अपेक्षाअनुसार भएको छैन । ग्राहकहरू पुगे पनि महँगा फेन्सी पसलभन्दा सस्तो फुटपाथ पसलमा बढी किनमेल गरेको व्यवसायीहरूको भनाइ छ ।
भृकुटीमण्डपका कपडा व्यवसायी सन्तोष लामाले भन्नुभयो, ‘मुलुक आर्थिक मन्दीको चपेटामा थियो । अहिले अविरल वर्षा, बाढीपहिरो र हालैको ‘जेन-जी’ आन्दोलनले थप संकट सिर्जना गरेको छ । विगतको तुलनामा आधाभन्दा कम मात्रै व्यापार भएको छ ।’ उहाँ थप्नुहुन्छ, ‘दशैँको मुख्य ‘पिक’ समय घटस्थापनाबाट फूलपातीसम्म मानिन्छ । तर, अहिले त्यस्तो अवस्था छैन । भिडभाड केही देखिए पनि बिक्री नगण्य छ ।’
असन क्षेत्रका व्यापारी प्रभा श्रेष्ठले भन्नुभयो, ‘आन्दोलनको प्रभावले व्यापार अलि कम छ । चहलपहल विस्तारै बढ्न थालेको छ । अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नुपर्ने अवस्था छ । यसपालि पहिलेभन्दा कम नै छ ।’ न्युरोडकी कपडा व्यापारी स्वस्तिका विष्टको पनि भनाइ उस्तै छ । उहाँ पनि व्यापार कम हुनुमा आर्थिक मन्दी, बाढीपहिरो र ‘जेन-जी’ आन्दोलनलाई नै देखाउनुहुन्छ । विगतको तुलनामा करिब ६० प्रतिशत व्यापार कम भएको उहाँको भनाइ छ । उहाँहरू मात्र होइन अन्य व्यापारीहरू पनि बजारमा भिडभाड रहेको तर व्यापार नभएको बताउँछन् ।
विशेषज्ञहरूको दृष्टिमा, महामारीपछिको बजार फस्टाउने क्रममा यस्तो राजनीतिक र प्राकृतिक संकटले व्यवसाय क्षेत्रमा प्रतिकूल प्रभाव पारेको देखिन्छ । दशैँ जस्तो ठूलो चाडमा पनि व्यापार अपेक्षाकृत कम हुनु, अर्थतन्त्रको वर्तमान स्थितिको संकेत हो । काठमाडौंका व्यापारीहरूले अब दशैँको शेष दिनमा व्यापार सुधार होस् भन्ने आशा राखेका छन् । उनीहरूको भनाइअनुसार, बजारमा चहलपहल बढे पनि वास्तविक बिक्री बढ्नु आवश्यक छ, नत्र आर्थिक मारमा परेका व्यवसायीहरू थप संकटमा पर्ने जोखिम रहन्छ ।
छुट अफरले पनि तानेन ग्राहक
दशैँलाई लक्षित गरी ग्राहक आकर्षित गर्न व्यवसायीहरूले विभिन्न छुट अफरहरू ल्याएका छन् । तर, छुट र अफरका बाबजुद ग्राहक पसलभित्र नपस्दा व्यापारी भने चिन्तित बनेका छन् । नयाँ बानेश्वरका व्यापारी विक्रम श्रेष्ठले यसपालि दशैँको मुखमा व्यापारमा कमी आएको अनुभव सुनाउँदै भन्नुभयो, ‘हामीले हरेक सामान छुटमा दिँदा पनि विगतजस्तो ग्राहक पसलमा किन्न आउन सकेका छैनन् । दुई-चार रुपैयाँ मात्र कमाएर सामान कटाउने योजना बनाएका थियौँ, तर यसपालि व्यापार निकै कम छ । प्राकृतिक विपद् र जेन-जी आन्दोलनको असर बजारमा देखिएको छ । अब फूलपातीसम्म केही सुधार हुन्छ कि ?’
भृकुटीमण्डका व्यापारी विष्णु सुवेदीले पनि विगतको तुलनामा व्यापार आधा घटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिडको बेलामा जस्तो आर्थिक मर्का परेको थियो, त्यसैगरी हालको आन्दोलनले बजारमा फेरि असर पारेको छ । मान्छेहरू त हेर्न आउँछन्, तर किन्ने भने आधा पनि छैनन् । चहलपहल जस्तो देखिन्छ, तर व्यापार सोचेअनुसार छैन ।’
न्युरोडमा नयाँ पसल सञ्चालन गर्दै आएका व्यापारी रमेश श्रेष्ठले पनि आन्दोलनको कारणले गर्दा सामान्य व्यापारीहरूलाई ठूलो चुनौती परेको गुनासो गर्नुभयो । ‘बाहिरको बजारमा त व्यापार हुनसक्छ, तर भित्री बजारमा भने अवस्था निकै कठिन छ । हामी यही व्यापारबाट आफ्ना जीविकोपार्जन गर्छौं । विगत वर्षको तुलनामा यसपालि हाम्रो व्यापार निकै खस्किएको छ’, उहाँले भन्नुभयो ।
यद्यपि, केही स्थानमा व्यापार सामान्य रहेको देखिन्छ । न्युरोडकी व्यापारी रेखा पौडेल श्रेष्ठले भने दशैँको बेला पसलहरू सामान्यतया भरिभराउ रहेको र ग्राहकको संख्या पनि सामान्य देखिएको बताउनुभयो । उहाँले थप्नुभयो, ‘ग्राहकहरूले सामानको मूल्य बढेको गुनासो गरेका छन् । पाँच सयदेखि हजार रुपैयाँसम्म मूल्य बढेको छ । आन्दोलनले गर्दा आपूर्ति प्रभावित भएको देखिन्छ ।’
यता, जानकारहरूले भने यो अवस्था अस्थायी हुनसक्ने उल्लेख गरेका छन् । चाडपर्वको बजारमा पुनः चहलपहल बढ्ने सम्भावना रहेको छ, तर व्यापारीहरूले अहिलेको कठिन परिस्थिति व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था छ । यसरी, दशैँ नजिकिँदै व्यापारमा कमी, मूल्यवृद्धिको गुनासो र ग्राहकको कम चहलपहलले व्यापारीहरूमा चिन्ता सिर्जना गरेको छ । चाडपर्वको अवसरमा व्यापारलाई पुनः सक्रिय बनाउने चुनौती अहिलेको प्रमुख विषय बनेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच