काठमाडौं । जेन-जी विद्रोहबीच परम्परागत राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरण र पार्टी पुनर्गठनको बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको निष्कर्ष निकालेको छ । जेन-जी विद्रोहपछि परिवर्तित राजनीतिक परिवेशको बेला बिहीबार र शुक्रबार दुई दिनसम्म काठमाडौंमा चलेको केन्द्रीय कमिटी बैठकले पार्टी नेतृत्व मात्रै नभएर सबै रूपान्तरण हुनुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा कोसीबाट अजम्बर काङमाङ, मधेसबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्र शाही, सुदूरपश्चिमबाट हरि ज्ञवाली, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत धारणा राख्नुभएको थियो ।
बैठकमा समूहगत धारणा राख्ने सबै नेताहरू अध्यक्ष प्रचण्ड निकटका हुन् । उनीहरूले प्रचण्डको प्रस्तावको समर्थन गर्दै मंसिरमा विशेष महाधिवेशन, केन्द्रीय कमिटी विघटन र प्रचण्ड नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने धारणा राखेका थिए । १० वटै समूहका टोली नेताको साझा भनाइ थियो, ‘पार्टी रूपान्तरण गर्नुपर्छ तर, प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्छ । सबै दोष अध्यक्षलाई देखाएर अरू उम्कन मिल्दैन ।’ समूहगत धारणा राख्ने बेलामा ९५ प्रतिशतभन्दा धेरै नेताहरू प्रचण्डको प्रस्तावमा उभिएको दाबी गरिएको छ । प्रचण्डलाई नेतृत्व छाड्न भन्दै प्रस्ताव अघि सारेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको पक्षमा केही कुरा उठे पनि धेरैले आलोचना गरेको बताइएको छ ।
प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै विशेष महाधिवेशनमा होमिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा महाधिवेशनमा होमिने निर्णय गरेको हो । केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशनमा होमिने निर्णय गरेको जानकारी दिँदै नेता देवेन्द्र पौडेलले भन्नुभयो, ‘केन्द्रीय कमिटी आयोजक कमिटीमा बदलिने, पदाधिकारी सबै सदस्य मात्र रहने र अध्यक्षको संयोजकत्वमा महाधिवेशनमा जाने निर्णय भएको छ ।’ बैठकले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले फागुन २१ मा घोषित चुनाव समयमै गर्न सरकारलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।
फेरि अध्यक्ष नै बस्न खोज्यो भन्ने आशंका नगरियोस् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जीवनको अन्तिम समयसम्म जिम्मेवारी, पार्टी, आन्दोलन, देशप्रति सक्रिय रहने बताउनुभएको छ । केन्द्रीय कमिटी बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले अन्तिम समयसम्म जिम्मेवारीबाट विश्राम नलिने जवाफ दिनुभएको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अहिलेकै नेतृत्वबाट पार्टी अगाडि जान नसक्ने भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पेस गरेका थिए । जवाफमा प्रचण्डले भन्नुभयो, ‘म यति वर्षपछि छोड्छु भन्ने, छोडेर सुख पाइने चिज होइन । तर, त्यसको अर्थ विल्कुल के नलागोस् भने अध्यक्ष नै बस्न खोजेको, महाधिवेशन गरेको दुराशयपूर्ण छ भन्ने, प्रिय कमरेडहरू, यो स्तरको आशंका नगरियोस् । यो पार्टी सामान्य रूपमा रूपान्तरण हुने स्थिति नदेखिएपछि विशेष महाधिवेशनको प्रस्ताव गरिएको हो ।’
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
अध्यक्ष प्रचण्डले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । काठमाडौंको प्रज्ञा भवनमा शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन गर्ने क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सम्पत्ति छानविन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ ।’ केन्द्रीय कमिटीको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानविन गर्न आयोग गठनको प्रस्ताव नै प्रस्तुत भएको थियो । बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका थिए ।
सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवालीले प्रस्तुत गरेको निष्कर्षमा भनिएको छ, ‘पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानविनका लागि पूर्व-महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरूको सहभागितामा सम्पत्ति छानविनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।’
नारायणकाजी र जनार्दनको प्रस्ताव गुटबन्दी होइन : पोखरेल
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले प्रस्तुत गरेका प्रस्तावलाई गुटबन्दीको हिस्सा नभई पार्टीलाई नयाँ दिशातर्फ लैजाने प्रयासका रूपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ । पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको अवस्थामा यस्ता प्रस्तावलाई नेतृत्व कमजोर पार्ने कदम मात्रै भनिनु गलत हुने तर्क गर्दै पोखरेलले भन्नुभयो, ‘आन्दोलनलाई सही दिशा दिन हामी सक्षम भएनौँ, केवल मुद्दामा समर्थन गर्ने मात्र भूमिकामा सीमित भयौँ ।’
माओवादी विघटन गरौँ : कार्की
नेकपा माओवादीका सचिव राम कार्कीले पार्टी जलेका घरजस्तै मर्मत नहुने अवस्थामा पुगेको भन्दै विघटन गरी पुनर्निर्माण गर्नुपर्ने धारणा राख्नुभएको छ । केन्द्रीय कमिटीको बैठकमा शुक्रबार धारणा राख्दै सचिव कार्कीले भन्नुभयो, ‘अब यी पुराना पार्टीहरूले थेग्न सक्दैनन्, अगाडि बढ्न सक्दैनन् । प्रदेश अध्यक्षहरूको संयोजन समिति बनाएर पार्टीलाई विघटन गरौँ र नयाँ शिराबाट नयाँ पार्टी निर्माण गरौँ । हाम्रा पार्टीहरूले प्रतिनिधित्व गर्ने दाबी गर्ने वर्ग र वास्तवमा त्यो वर्गबीच ठूलो फल्ट लाइन बनेको छ ।’
सडकबाट उठेको आवाजले पार्टीको नेतृत्व परिवर्तन हुँदैन : गजुरेल
उपमहासचिव हरिबोल गजुरेलले नेतृत्व परिवर्तनबारे उठेका आवाजप्रति असन्तुष्टि जनाउनुभएको छ । सडकबाट उठेको आवाजले सरकार परिवर्तन हुने भए पनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने जिकिर गर्दै गजुरेलले भन्नुभयो, ‘सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन । त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ । पार्टी अहिले सिद्धान्तविहीन र उपयोगितावादी ढंगले चलेको छ, जसलाई सच्याउन भने आवश्यक छ ।’
प्रचण्डको राजीनामाको माग जेन-जीको होइन : लीलामणि
नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले प्रचण्डको राजीनामाको माग बालेन साह र सुदन गुरुङहरूको भएको टिप्पणी गर्नुभएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि धारणा राख्दै सचिव पोखरेलले भन्नुभयो, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेन-जी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’
आगामी केन्द्रीय कमिटीमा जेनजीको अधिकतम प्रतिनिधित्व हुने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी केन्द्रीय कमिटीमा जेन–जी उमेर समूहको अधिकतम प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जेन-जीलाई आगामी केन्द्रीय समितमा अधिकतम प्रतिनिधित्व गर्न अहिलेदेखि तयारी गरिनेछ । सक्रिय र क्षमतावान जेन–जीहरू केन्द्रीय कमिटीमा आउनेछन् ।’
प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे प्रश्न उठेपछि...
काठमाडौंमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्ड’ले लगाउने गरेको महँगो घडी र उहाँकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्यागबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य तथा सार्क इञ्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाउनुभएको हो । नेता पन्तले चुनौती दिँदै भन्नुभयो, ‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ । यदि मिडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मिडिया र कांग्रेस सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौँ ।’ पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्कसमेत गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच