शक्ति भन्ने बित्तिकै हामी शारीरिक शक्ति, बन्दुकको शक्ति, गुरुत्वाकर्षण शक्ति इत्यादिलाई बुझ्छौँ तर शक्तिको अर्थ यत्तिकैमा सिमित रहँदैन । यस शब्दले मानसिक शक्ति, विचारको शक्ति, सौन्दर्यको आकर्षण शक्ति इत्यादिलाई पनि जनाउँछ । साहित्यको शक्ति दोस्रो परिभाषासँग मेल खान्छ किनभने यसको भौतिक स्वरूप भन्दा अभौतिक अस्तित्व बढी महत्वको हुन्छ । यसले पाठकको भौतिक शरीरमा कोत्य्राएर घाउ पार्दैन र बनेको घाउलाई मलहमपट्टी पनि लगाउने होइन । साहित्यमा विचार निहित हुन्छ र सो विचार प्रवाह गर्नु साहित्यकारको उद्देश्य हुन्छ ।
साहित्य लेखन लहडको काम होइन न त यो कुनै बुद्धि विलासको माध्यम हो । साहित्यका दुई मुख्य उदेश्यहरू हुन्छन्-एउटा उदेश्य पाठकलाई आनन्द दिनु, मनखुस बनाउनु, रमाइलो पार्नु र अर्को उदेश्य पाठकलाई ज्ञानन बुद्धि दिनु, सुसंस्कार दिनु र सभ्य समाजको निर्माण गर्नु । गैरसाहित्यिक जगतका विद्वान व्यक्तिहरूले साहित्यलाई केवल मनोरञ्जनको माध्यम मान्छन् । साहित्यिक जगतका सर्जक र त्यसको रसास्वादन गर्ने पाठक र समालोचकहरूले साहित्यलाई जीवन परिवर्तनको माध्यम मान्छन् । यसर्थ साहित्य शक्तिशाली हुन्छ भन्ने कुरामा आज धेरै विवाद छैन ।
कुनै बेलाको परिभाषामा साहित्यभित्र कविता, आख्यान, नाटक, र निबन्धमात्र पर्थे । त्यसरी लेखिने साहित्यका विधाभित्र पनि विचारको पक्ष अत्यन्त शक्तिशाली हुन्थ्यो । सेक्स्पियरका नाटक, दोस्तोब्स्कीका आख्यान, कालीदासका काव्य, देवकोटाका कविताले प्रस्तुत गर्ने विचार अरू कुनै लेखनले गर्नेभन्दा धेरै गुना शक्तिशाली छन् ।
साहित्यको शक्ति
साहित्य स्वयममा अन्तर्निहित शक्ति रहेको हुन्छ । यसले पार्ने प्रभाव अप्रत्यक्ष भएर पनि अत्यन्त शक्तिशाली हुन्छ । त्यसो भए कस्तो साहित्य चाहिँ विशेष शक्तिशाली हुन्छ ? कोही भन्छन् साहित्यको एउटा विधा अर्को विधाभन्दा शक्तिशाली हुन्छ । अरू कसैले भन्छन् यसको कलात्मक पक्षले यसलाई शक्तिशाली बनाउँछ । यी दुवै दाबी सत्य छन् तर निरपेक्ष सत्य भने होइनन् । साहित्यका सबै विधाले उत्तिक्कै प्रभाव पार्न सक्दैनन् । साहित्यको कुन रूप बढी शक्तिशाली हुन्छ भन्ने कुरामा पनि विवाद छ । कोही भन्छन् कविता साहित्यको उच्चतम रूप हो त्यसैले यसले बढी प्रभाव पार्छ । अरू कोही भन्छन् नाटक नै जीवनको यथार्थ चित्रण हो किनभने यसका पात्रहरू जीवन्त हुन्छन् जीवन्त पात्रले बोलेको कुराम स्वयम् जीवन बोल्छ ।
अझै अरू भन्छन् आख्यान पो साहित्यको पूर्णरूप हो किनभने यसमा पात्र र कथाकार दुवै बोल्छन्, दुवै सक्रिय हुन्छन् र तिनको अन्तक्र्रियामा संसार झल्किन्छ, जीवन बोल्छ । निबन्धले पनि लेखकका मुखबाट समग्र जीवन र जगतको चित्रण हुने भएकाले निबन्ध शक्तिशाली हुन्छ भन्ने पनि ठानिन्छ । त्यसैगरी साहित्य लेखनको कलात्मक पक्षले मात्र पनि साहित्यलाई शक्तिशाली बनाउन सक्दैन । साहित्यमा कलारहित प्रस्तुतिभन्दा कलात्मक प्रस्तुति अवश्य नै बढी आकर्षक हुन्छ तर यो पनि निरपेक्ष रूपले शक्तिशाली हुँदैन किनभने साहित्यमा कस्तो कलात्मक पक्ष बढी सुन्दर हुन्छ भन्ने कुरा पनि समयसापेक्ष फरक हुँदै जान्छ ।
साहित्यका अन्य पक्षभन्दा विचार पक्ष सबैभन्दा बढी शक्तिशाली हुन्छ तर साहित्यमा प्रयुक्त विचार पनि निरपेक्ष रूपले शक्तिशाली हुँदैन । साहित्य शक्तिशाली हुन यसको विचार पक्ष सवै स्थान र सबै कालमा उत्तिकै लागू हुनसक्ने हुनुपर्छ । सबै साहित्यको विषयवस्तु सर्वकालिक हुन सक्दैन । साहित्यका अनगिन्ती विषयवस्तुहरूमध्ये केहीमा मात्र विराट शक्ति हुन्छ जसले एक समयको एउटा पाठकलाई मात्र नभएर सबै समयको समग्र समाजलाई उत्तिकै प्रभाव पार्न सक्छ ।
कुनै बेलाको परिभाषामा साहित्यभित्र कविता, आख्यान, नाटक, र निबन्धमात्र पर्थे । त्यसरी लेखिने साहित्यका विधाभित्र पनि विचारको पक्ष अत्यन्त शक्तिशाली हुन्थ्यो । सेक्स्पियरका नाटक, दोस्तोब्स्कीका आख्यान, कालीदासका काव्य, देवकोटाका कविताले प्रस्तुत गर्ने विचार अरू कुनै लेखनले गर्नेभन्दा धेरै गुना शक्तिशाली छन् । नवजागरण काल र आधुनिक युगका उपर्युक्त साहित्यकारहरूले आफ्ना साहित्य लेखनमा सामन्य जीवनको मात्र कुरा नगरेर जीवन र जगतका सबभन्दा महत्वपूर्ण पक्षहरूलाई उजागर गरेका छन् । जन्म, मृत्यु, जीवनका उकाली ओराली, आरोह अवरोहजस्ता जसको पनि जीवनमा लागू हुने जीवनसापेक्ष पक्षले नै यी साहित्यलाई सर्वकालिक बनाएका हुन् ।
अहिले साहित्यको परिभाषा फराकिलो भएको छ । विचारप्रधान कुनै पनि डिस्कोर्सलाई हिजोआज साहित्य नै मानिन्छ । यस अर्थमा धार्मिक र राजनीतिक डिस्कोर्सहरू शक्तिशाली साहित्य हुन् । जसरीमाथि उल्लेख गरिएका नाटककार, आख्यानकार, कवि र निबन्धकारले लेखेका कृतिहरू साँघुरो अर्थमा साहित्य हुन् त्यसैगरी धार्मिक ग्रन्थर राजनीतिक दस्तावेजहरू पनि साहित्यकै रूप हुन् । वेद, उपनिषद, पुराण, बाइबल, कुरान जस्ता धार्मिक ग्रन्थहरू जस्तै अमेरिकी स्वतन्त्रताको घोषणापत्र, फान्सिसी क्रान्तिको दस्तावेज, माक्र्सको कम्युनिष्ट घोषणापत्रले युगान्तकारी परिवर्तन ल्याएका छन् । विस्तृत अर्थमा ती पनि साहित्य नै हुन् ।
धार्मिक साहित्य
यसै पनि जुनसुकै साहित्य शक्तिशाली हुन्छ । यस आलेखमा अन्य साहित्यको तुलनामा धार्मिक साहित्यको शक्तिको सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ । जुनसुकै धर्मका धार्मिक ग्रन्थ छन् । सनातन धर्मका पूर्वीय वाङ्मयमा लेखिएका वेद, उपनिषद, पुराण, रामायण, महाभारत, श्रीमद्भागवत, चाणक्य नीति, विदुर नीति जस्ता नीति प्रधान र उपदेशमूलक डिस्कोर्स पनि विस्तृत अर्थमा साहित्य नै मानिन्छन् । त्यसैगरी बौद्ध धर्म, इस्लाम धर्म, इसाई धर्मका धर्मग्रन्थहरू पनि साहित्य नै मानिएका छन् । यी ग्रन्थहरू देवताका प्रत्यक्ष वाणीमात्र नभएर त्यस बेलाका मानव सभ्यता र संस्कृतिका उपज पनि हुन् । त्यत्तिमात्र नभएर ती सभ्यता र संस्कृतिको निर्माण गर्ने माध्यम पनि हुन् ।
पूर्वीय वाङ्मयमा लेखिएको साहित्यमात्र होइन पाश्चात्य साहित्य पनि अत्यन्त शक्तिशाली रहेको छ । पाश्चात्य जगतकै सेक्सपियर र टाल्स्टायका साहित्यले पार्ने सर्वकालीक प्रभाव त हामीले बुझेकै छौँ तर बाइबल जस्ता धर्मग्रन्थहरूले पनि यहुदी र इसाई समुदायको जीवनमा प्रभाव पारेको छ ।
दक्षिण एशियाली संस्कृतिमा विद्यमान वेदका ऋचालाई सनातन/हिन्दु धर्मका व्याख्याकारहरूले साक्षात् देववाणी मान्दछन् । उनीहरू उपनिषद् र पुराणलाई पनि तिनकै निरन्तरताकोको रूपमा लिन्छन् । कतिपय समालोचकहरूले ती ग्रन्थलाई ईश्वरका नाममा व्यास जस्ता विद्वान् व्यक्तिले रचना गरेका हुन् भन्ने दाबी गरेका छन् । ती ग्रन्थहरू साक्षात् देव वाणी होउन् वा विद्वान् लेखकद्वारा रचित सिर्जनात्मक कृति होउन् तिनमा प्रयुक्त विषयवस्तु र वैचारिक पक्षले ती धार्मिक ग्रन्थहरू सर्वकालीक साहित्यका उच्चतम रूप नै हुन् ।
कसैकसैले ती ग्रन्थहरू शक्तिशाली हुनुको कारण ती ग्रन्थमा प्रयुक्त छन्द, लय, स्वर इत्यादिलाई ठान्छन् । यो कुरा साँचो हो किनभने छन्द र लयले साहित्यलाई उच्च कोटीको बनाउँछन् । तर, छन्दबद्ध भएर मात्र ती ग्रन्थ शक्तिशाली साहित्य भएका होइनन् । छन्द र लयभन्दा बढी महत्वका कुरा ती ग्रन्थका विषयवस्तु र वैचारिक पक्ष हुन् । ती ग्रन्थमा सारा ब्रह्माण्ड नै अटाएको छ । चराचर जगतको सृष्टि, तिनको अस्तित्व, त्यसभित्र मानवको सिर्जना, उसले गर्नुपर्ने कार्य, उसको भाग्य र भविष्य जस्ता कुराहरू समावेश गरिएको हुनाले ती ग्रन्थहरू उच्च कोटिका साहित्य भएका हुन् ।
पौराणिक कालमा ग्रन्थाकारमा आएका पुराणलगायत त्यसपछि बिकसित भएका ग्रन्थहरूमा मानिसका कैयौं जुनीको कुरा गरिएको छ । यो जुनीमा पुनित कार्य गरेमा अर्को जुनी सुखमय हुने र अझ असल कार्य गर्दै गएमा अन्त्यमा सुखस्वर्गमा बास हुने, अर्को जन्म लिएर पुनः दुखमय पृथ्वीमा फर्कनु नपर्ने, सदासर्वदा ईश्वरमा लीन हुन पाइने जस्ता कुराले सामान्य मानिसको मानसपटलमा कहिल्यै नमेटिने छाप पारेको छ । त्यसैले ती धर्मग्रन्थहरू शक्तिशाली साहित्य बनेका हुन् । जुनसुकै स्थानका जुनसुकैसमयका मानिसलाई पनि दुःखको डर लाग्ने र सुखको खोजी गर्ने प्रवृत्ति हुन्छ । ती धर्मग्रन्थले जन्म र मृत्यु, सुख र दुःख, देवता र राक्षस, पुण्य कर्म र पाप कर्मजस्ता विषयवस्तु समावेश भएकाले ती साहित्य शक्तिशाली भएका हुन् ।
पूर्वीय वाङ्मयमा लेखिएको साहित्यमात्र होइन पाश्चात्य साहित्य पनि अत्यन्त शक्तिशाली रहेको छ । पाश्चात्य जगतकै सेक्सपियर र टाल्स्टायका साहित्यले पार्ने सर्वकालीक प्रभाव त हामीले बुझेकै छौँ तर बाइबल जस्ता धर्मग्रन्थहरूले पनि यहुदी र इसाई समुदायको जीवनमा प्रभाव पारेको छ । यस अर्थमा बाइबल पनि शक्तिशाली साहित्य होभन्न सकिन्छ । यसकारणले कि बाइबलमा सृष्टिको सुरुवातमै शब्द थियो भनिएको छ । अर्को कारणले पनि कि बाइबलमा शब्दलाई सृष्टिकर्ता मानिएको छ ।
अर्थात् इसाई धर्म ग्रन्थ बाइबलको न्यु टेस्टामेन्टमा जिजस नै शब्द हुन् र शब्द नै जिजस हुन् भनेर समीकरण बनाइएको छ । शब्द भनेकै साहित्य हो भने साहित्य त जिजस जत्तिकै शक्तिशाली हुने नै भयो । माथि भनिएका कुनै पनि धार्मिक ग्रन्थ अमुक विधामा लेखिएका भएर वा कलात्मक पक्ष आकर्षक भएर मात्र शक्तिशाली भएका होइनन् । बरू तिनमा रहेका विचारपक्ष सर्वकालीक रूपमा मानव जीवनलाई प्रभाव पार्ने भएर तिनीहरू शक्तिशाली भएका हुन् । यस अर्थमा अन्य साहित्यको तुलनामा धार्मिक साहित्य बढी शक्तिशाली हुन्छ भनिएको हो ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको