काठमाडौं । लोकप्रिय कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला ‘छक्कापञ्जा कमेडी टुर’का क्रममा अमेरिकामा हुनुहुन्छ । टुरको सिलसिलामा अमेरिकाको टेक्सास पुगेका दीपक-दीपाले त्यहाँ आयोजित विशेष समारोहबीच ‘न्यू सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सास शाखाको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा हास्यकलाकार महादेव त्रिपाठी पनि सहभागी हुनुभएको थियो । कार्यक्रमपछि दीपक-दीपाले सो सैलुनमा हेयर कटिङ र कलरिङ सेवासमेत लिनुभएको थियो । सैलुनलाई सुरेन्द्र ठाकुरले सञ्चालनमा ल्याउनुभएको हो । उहाँ २५ वर्षदेखि यो पेशामा आब हुनुहुन्छ । सुरेन्द्रकी श्रीमती सुनिता ठाकुरले समेत उहाँलाई साथ दिँदै सैलुन व्यवसाय अगाडि बढाइरहनु भएको छ ।
उद्घाटनपछि कलाकार दीपकराज गिरीले हेयर तथा ब्युटी हेरचाहलाई व्यक्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको कुरा बताउँदै सबैले यसमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । ‘कपालको स्टाइल र हेरचाहले मानिसको आत्मविश्वास र प्रस्तुति दुवैमा प्रभाव पार्छ’, उहाँले भन्नुभयो, ‘विदेशमा नेपालीहरूले सुरु गरेका यस्ता सेवा व्यवसायले हाम्रो गौरव बढाएको छ, खुशी लाग्यो ।’
त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सैलुनबाट प्रदान हुने गुणस्तरीय सेवाप्रति विश्वास प्रकट गर्दै भन्नुभयो, ‘अमेरिकामा नेपालीहरूले यति व्यवस्थित र प्रोफेसनल ब्युटी सैलुन सञ्चालन गरेको देख्दा गर्व लागेको छ । यहाँका नेपाली कलाकार र नेपाली समुदायले यसको लाभ लिन सक्नेछन् ।’
‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’को सुरुवात ललितपुरको कुमारीपाटीबाट भएको हो । त्यसपछि काठमाडौंको सुन्धारास्थित सिभिल महलमा दोस्रो शाखा सञ्चालनमा आएको थियो । अमेरिकाको टेक्सास शाखा यसको अन्तर्राष्ट्रिय विस्तारको दोस्रो ब्रान्च हो । अमेरिकामा पहिलो शाखाको उद्घाटन अभिनेता राजेश हमालले गर्नुभएको थियो भने हालै उद्घाटन भएको टेक्सास शाखाको सम्पूर्ण व्यवस्थापन कलाकार महादेव त्रिपाठीले गर्नुभएको थियो ।
दीपक–दीपा हाल ‘छक्कापञ्जा कमेडी टुर’मार्फत अमेरिकाका विभिन्न राज्यहरूमा प्रस्तुति दिइरहनुभएको छ । पहिलो प्रस्तुति टेक्सासमा आयोजित ‘मम फेसिटभल २०२५-दशैंतिहार मेला’ मा गरिएको थियो । कार्यक्रममा हास्यकलाकार जीतु नेपालको कमेडी प्रस्तुति साथै गायक–गायिका प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्लेलगायतको आकर्षक सांगीतिक प्रस्तुतिसमेत समावेश थियो ।
टुरअन्तर्गत दीपक-दीपा र टिमका अन्य कलाकारहरूले अमेरिकाका अन्य शहरमा पनि प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’को टेक्सास शाखा उद्घाटनसँगै नेपाली कला, उद्यम र पेशागत दक्षताको संयुक्त सन्देश अमेरिका लगायत विश्वभर पुगेको छ । एकातिर ‘छक्कापञ्जा टिम’ ले हाँस्य मनोरञ्जनमार्फत नेपाली कला प्रस्तुत गर्दैछन् भने अर्कातिर नेपाली उद्यमीहरूले सौन्दर्य र सेवा क्षेत्रमा सफलता देखाइरहेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच