गुल्मी । गुल्मीका एक युवा जसले फोटोग्राफीमा निकै रुचि देखाएर लागेका छन् । बैंकिङ क्षेत्रमा काम गर्दै आउनुभएका यस जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर-७, ठूलापोखराका दिनेश बस्नेतले फुर्सदको समयमा फोटोग्राफीको माधयमबाट आफ्नो गाउँ, संस्कृति र प्रकृतिको सौन्दर्यलाई देश-विदेशसम्म पुर्याउनुभएको छ ।
सानैदेखि फोटोग्राफीमा दृढ इच्छा भएको हुँदा मोबाइलको ग्यालेरी सधैं फोटोले नै भरिएको उहाँले सुनाउनुभयो । पेशाले बैंकर दिनेश, गरिमा विकास बैंक लिमिटेड तम्घासमा कार्यरत हुनुहुन्छ । मनको एउटा ठूलो भाग फोटोग्राफीमा गढेको उहाँले बताउनुभयो । उहाँले खिच्ने फोटोरहरूमा गाउँको हरियाली, हिमाल, पहाड, डाँडाकाँडा, ऐतिहासिक धार्मिक महत्व बोकेका मठ मन्दिर र परम्परागत जीवनशैली झल्किन्छ ।
‘मोबाइलबाट सुरु भएको फोटोग्राफीको मेरो यात्रा विदेशमा बसोवास गर्दै आउनुभएका नजिकको दाजुले क्यामेरा उपहार दिनुभएपछि फोटोग्राफी मेरो जीवनको अभिन्न हिस्सा बन्न पुग्यो ।’ उहाँले भन्नुभयो, ‘दाजुले भाइ तिमिलाई के ल्याइदिउँ भनेर सोध्नुभएको थियो । मैले ठट्यौली पारामा आइफोन ल्याइदिनु भनेको थिएँ । केहि वर्षपछि उहाँ नेपाल आउँदा मलाई क्यामरा उपहार ल्याइदिनुभयो ।’ फोटोग्राफीमा निकै रुचि राख्ने बस्नेतले आफूले क्यामरा उपहार पाउँदा मन फुरुङ भएको बताउनुभयो ।
त्यसपछी उहाँले बिस्तारै आफ्नो गाउँ ठाउँ, लुकेका धार्मिक महत्व बोकेका मठ मन्दिर हिमाल, पहाड, डाँडा-काँडाहरूको फोटो खिच्न सुरु गर्नुभयो । सुरुमा अलि गाह्रो लाग्यो, बिस्तारै फोटोग्राफीमा राम्रो प्रतिक्रियाहरू आउन थालेपछि थप नयाँ लेन्सहरू जोडेको उहाँले बताउनुभयो । ‘मैले हाम्रो लुकेको ठाउँलाई यही फोटोको माध्यमबाट चिनाउनुपर्छ भन्ने लाग्यो अनि फोटोग्राफीलाई निरन्तर अगाडि बढाएको हुँ । बिस्तारै खिच्दै जाँदा नेपालको चर्चित फेसबुक पेजहरूमा पठाउन सुरु गरेँ ।’ उहाँले भन्नुभयो, ‘मेरो फोटोहरू पनि फिचर हुन थाले । आफूले गरेको कामहरू पेजहरूमा फिचर हुँदा मलाई खुशीको सीमा रहेन ।’
बस्नेतले आफूले खिचेका फोटाहरू पोष्ट गर्नका लागि ‘काजी फोटो’ नामक फेसबुक पेज खोल्नुभएको छ । अहिले आफूले खिचेका फोटोहरू आफ्नै पेजबाट पोष्ट गर्ने गरेको उहाँले बताउनुभयो । गर्जुरास्थित रेसुंगा लेखिएको बोर्डसँगै हिमाल समेटिएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । धेरैले फेक भनेर प्रतिक्रिया दिएका थिए । त्यो फोटो बस्नेत स्वयंले खिच्नुभएको थियो । आफ्नो ठाउँलाई चिनाउने प्रयासमा निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
उहाँले फोटोलाई सुहाउने लेखहरू पनि लेख्दै आउनुभएको छ । गाउँको बस्ती रित्तिएको कुराले निकै चित्त दुखेकाले रित्तिएका बस्तीहरूको विषयमा धेरै लेख पनि लेखेको बताउनुभयो । फोटोग्राफीको माध्यमबाट धेरै मान्छेहरूसँग जोडिन पाएकोमा खुशी लागेको बस्नेतले बताउनुभयो । ‘अघिल्लो वर्ष एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको प्रधानमन्त्री कप खेलको फोटो खिच्ने मौका पाएको थिएँ । त्यो बेला विभिन्न राष्ट्रिय खेलाडीको फोटो खिच्नेसँगै भेट गर्ने मौका मिलेको थियो ।’
आफ्नो गाउँ ठाउँको कुराहरूलाई हामी आफैंले बाहिर निकाल्नु पर्छ । चाहे फोटोग्राफीको माध्यमबाट होस् या त अरू कुनै माध्यमबाट, पर्यटनको प्रचुर सम्भावना बोकेको गुल्मी जिल्ला एवं धार्मिक क्षेत्र रेसुंगालाई चिनाउन सकियो भने गुल्मीमा पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने कुरा उहाँले बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच