मेरो माटो बोल्छ कणकणमा
सगरमाथाभै उभिन्छ दृढतामा
शान्ति सन्देश प्रज्ज्वलित गर्देे
छर्दछ अमृत पवित्र धर्तीमा
तथापि
देख्न सक्दैन यो परायाले
थिचोमिचो गर्छ नित्य
मेरो आकाश र धर्तीमा
यो धूर्ततामा म तिलमिलाउछु
माटो प्रतीकार गर्छ मौन भाषामा
यो केवल बुझ्न सुन्न सकिन्छ
कोशी काली र गण्डकीको सुस्केरामा
कालापानी, लिम्पियाधुराको पीडामा
त्यसैले
रगत उम्लन्छ पराई पीडामा
विद्रोही बन्छ मन अत्यचारका रापमा
धड्किन्छ मुटुको स्पदन पलपलमा
देशका घातका हरेक तानाबानामा
म हुन्छु सचेत डटेर सुपुत्र
आमाको निम्ति हुन सक्दिन कुपुत्र
सक्दिन झुक्न सास जाओस् तर,
म भन्छु
मेरो धर्ती हुन सक्तैन अन्तस् देखी पर ।
म सक्छु पोलिन घामको रापमा
मलाई बाच्नु छैन कसैको
छत्रछायाँको छहारीमा
कदापि आमाको अस्मितामा सम्झौता गर्दिन
झण्डाको मानमा छायाँ पार्दिन
चन्द्रसूयअंकित झण्डाको शानै अर्को
इतिहास छ त्यसमा शहीदका बलिदानको
जब-जब लहराउँछ झण्डा
गुञ्जन्छन् वीरताका गाथाहरू हावाको स्वरमा,
मनभित्र गुञ्जिन्छ स्वाभिमानको गर्जन ।
जहाँ उभिएको छु म, त्यहीँ मेरो शान,
माटोमै भेटिन्छ जीवनको पहिचान ।
हिमालको हिउँजस्तै स्वच्छ नियत
तराईको अन्नझैँ उदात्त प्रित
पर्वतले सिखाएको दृढताको पाठ,
प्रकृतिका बगैंचाको माया र साथ ।
यिनै हुन् मेरा
देशको नाममा लेखिने आत्माका गीत,
न राग न रञ्जना केवल शुद्ध प्रीत ।
म जन्मन्छु पटक-पटक यो धर्तीमा
आमाको काखमा गाउन यी नै गीत ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच