हालैमात्र तीनवटा सन्दर्भ समाप्त भए । ती तीन सन्दर्भमध्ये एक रमाइलो पर्व विशेषको उत्सव रह्यो बडादशैँ भने अरू दुई सन्दर्भ नेपालीहरूले भोगेका दुःखद् सन्दर्भका रूपमा रहे । एक महिना पहिले जेन-जी आन्दोलन र यसले निम्त्याएको एउटा दुःखद् घटना जसले देश आगोको लप्कामा दनदन बलेको थियो । त्यो घाउ ताजै भएका बेला नेपालीहरूको महान् चाड बडादशैँ आयो र यो पर्व मनाउन नेपालीहरू राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिए । लाखौंको संख्यामा राजधानीबाट बाहिरिने बेलामा मौसमले त्यति बाधा पुर्याएन । मानिसहरू आ–आफ्नो घर गए र दशैँ मनाए तर उनीहरू विजया दशमीको दिन आ-आफ्ना घरमा टीका ग्रहण गरी माइत-मावल जाने वा आफ्नो गन्तव्य–कार्यथलो काठमाडौं फर्किने बेला मौसममा प्रतिकूलता पैदा भयो ।
आ–आफ्ना घरमा टीका लगाएर आफन्तकोमा जाने र राजधानी फर्किनेहरू बीच बाटोबाटोमै अलपत्र भए । गत वर्ष ठीक यसैबेला यस्तै खालको मौसमी प्रतिकूलता पैदा भएको थियो र धेरै धनजनको क्षति हुन पुगेको थियो । जलवायु परिवर्तनका कारण यस प्रकारको मौसमी प्रतिकूलता केही वर्षदेखि भोग्दै आएका छौं । सामान्यतया असोज महिनाको आधाआधीतिर मनसुन निख्रिसक्नुपर्ने हो तर निख्रिँदो मनसुनका बेला अझै बढी धनजनको क्षति भएको कुरा पोहोर र अहिलेको मौसमी अवस्थाले पुष्टि गरेको छ । यसमा केही मानवीय कारण जिम्मेवार होलान् तर बढीजसो मौसमी कारण नै जिम्मेवार छ । नेपालको भूवनोट यसका लागि प्रतिकूल छ ।
हुन त संसारका जुनसुकै राष्ट्रहरूमा पनि कुनै न कुनै प्रकारको प्राकृतिक प्रकोप सिर्जना भइरहेको हुन्छ । कतै सामुद्रिक सुनामी, कतै बढी मात्रामा चट्याङ पर्ने त कतै नियमित रूपमा भूकम्प गइरहने हुन्छ । यसरी नै कतै डुबानको समस्या पैदा हुने गर्दछ । हाम्रो देश भिरालो पहाडी मुलुक भएको कारण यहाँ बाढी र पहिरोको जोखिम सधैँ हुनेगर्छ र तराईको समथल जमिनमा भने डुबानको भय बर्खामा सधैँभरि हुनेगर्छ । गतवर्ष सरकारको तदारुकता नभएका कराण मानवीय क्षति बढी हुन पुगेको भनेर तत्कालीन सरकारको व्यापक आलोचना भयो । आपत्मा परेकालाई सरकारले बेलैमा उद्दार गर्न सकेन ।
बगेर, डुबेर र भौतिक संरचनामा थिचिएर पुरिएर मानिस धेरै संख्यामा मरेका थिए तर अहिलेको सरकारले बेलैमा सावधानी र सतर्कता अपनाउनका साथै सञ्चारमाध्यमबाट सबैलाई चेतावनी दिनुका साथै जोखिमपूर्ण यात्रा गर्न रोक लगाउने काम ग¥यो । यातायातका साधनह सञ्चालन गर्न रोक्ने तथा धेरै संख्यामा स्वयं सेवक र सुरक्षाकर्मीलाई परिचालन गर्ने काम गरेको हुँदा भौतिक क्षति भए पनि मानवीय क्षति भने धेरै हुन पाएन । यसो भन्दाभन्दै पनि पहिरोमा परेर इलाममा धेरै जनाको मृत्यु भयो । यसलाई सरकारले रोक्नसक्ने कुरा थिएन, प्राकृतिक प्रकोप भनेको मानिसको नियन्त्रणभन्दा बाहिरको कुरा हो ।
सरकारले यसलाई रोक्नसक्ने थिएन तर घटनाभए पछि उद्दारमा नेपाली सेना र नेपाल प्रहरी सक्रियताका साथ खटेको पाइएको छ । विपद् व्यवस्थापना गर्न यसपटकको सरकार सामान्यतया सफल भएको देखिएको छ । सरकारका मन्त्रीहरू आफैं स्थलगत अध्ययनमा लागेको देखियो । त्यस अर्थमा गतवर्षको बाढीको बेला सरकारको चोतर्फी आलोचना भए जसरी यसपटक त्यसो हुन पाएन । ठाउँठाउँमा स्थानीय निकाय तथा स्थानीयसँग समन्वय गरी अलपत्र परेकाका लागि खान बस्नको प्रबन्धसमेत गरियो । यस अर्थमा वर्तमान सरकारलाई धन्यवाद दिनैपर्छ । अब पनि पीडित र प्रभावितलाई उद्दार, राहत र पुस्र्थापनाका लागि सरकराले धेरै काम गर्न बाँकी नै छ । त्यसमा सरकार चुक्नु हुँदैन ।
यसरी हर्ष र पीडाका बीच यसपटकको दशैँ पर्व समाप्त भएको छ । जे भए पनि अब सबैजना लयमा फर्किनुको कुनै विकल्प छैन । जे भयो जस्तो परिणाम आयो त्यो भोग्नै पर्छ । दशैँ नियमित रूपमा आउने नेपालीहरूको महान् पर्व थियो । परम्परादेखि मनाइँदै आएको यो पर्व अहिले पनि आयो र गयो पनि । पर्वहरूले परम्परा र रीति संस्कृति बोकेका हुन्छन् । यस्ता पर्व हर्षका साथ मनाइन्छन् । कहिले बढी हर्षका साथ मनाउने अवसर प्राप्त हुनेगर्छ भने कहिले कुनै कारणले त्यसमा कमी आएको हुन्छ, चौतर्फी उल्लासको वातावरण सिर्जना हुन पाउँदैन । यसवर्ष एकातिर जेन–जी आन्दोलनका कराण देश शोकमा भएका बेला दशैँ मनाउनुपर्यो भने अर्कोतिर दशैँकै समयमा प्राकृतिक विपत्ति थपियो । आगोले खरानी भएको देशलाई पुनः पानीले तहसनहस बनायो ।
हर्षका साथ दशैँ मनाउने बेलैमा सिर्जना भएका यस्ता व्यवधानहरूमध्ये एउटा प्राकृतिक कारण थियो भने अर्को मानवीय उन्माद । यसरी पैदा भएका यी दुबै अवस्थाको अब समाप्ति भइसको छ । मौसममा सुधार आएको छ । पानी पर्न छोडेको छ । आगामी दिनहरूमा यातायात लगायतका सम्पूर्ण कुरा क्रमशः नियमित हुँदै जानेछन् भन्ने आशा गर्न सकिन्छ । जनजीवन बिस्तारै सहज बन्दै जाने अपेक्षा गर्न सकिन्छ । सबै मनिसहरू आ–आफ्नो लयमा फर्किंदै गएको यस सन्दर्भमा भोलिका दिन हिजोका जस्ता पीडादायी नबनून् । प्राकृतिक विपत्तिमा परेर मृत्यु वरण गर्न पुगेकोहरूप्रति श्रद्धाञ्जलि तथा घाइते र असहाय बन्न पुगेकाहरूप्रति सहानुभूति प्रकट गर्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच