काठमाडौं । नेपाल महिला क्रिकेट टोलीले मलेसिया भ्रमणअन्तर्गतको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा सानदार प्रदर्शन गर्दै घरेलु टोली मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको छ । यस जितसँगै शृंखला दुई-दुईको रोमाञ्चक बराबरीमा पुगेको छ । अब आज (बुधबार) हुने अन्तिम तथा निर्णायक खेलले विजेता टुंगो लगाउनेछ ।
मंगलबार क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । जवाफमा नेपालले स्थिर सुरुवात र कप्तान इन्दु बर्माको उत्कृष्ट प्रदर्शनका बलमा १७.३ ओभरमै लक्ष्य पूरा गर्यो ।
नेपालले खेलका क्रममा चार विकेटमात्र गुमायो । कप्तान इन्दु बर्माले अविजित रहँदै ४८ रनको सानदार योगदान दिनुभयो । उहाँले ५७ बलमा पाँच चौका प्रहार गर्दै पारीलाई सम्हाल्नुभयो । त्यस्तै, अनुभवी रुविना क्षेत्रीले पनि अविजित २३ रन जोड्नुभएको थियो । ओपनर कविता कुँवरले १६ रन र सम्झना खड्काले ११ रनको योगदान गर्नुभयो । मलेसियाका तर्फबाट आइना हमिजा हसिम, नुर डानिया स्युहदा र माहिरा इज्जती इस्माइलले समान एक-एक विकेट लिनुभएको थियो ।
यसअघि ब्याटिङ थालेको मलेसियाका लागि मास एलिसाले ६३ बलमा पाँच चौका प्रहार गर्दै अविजित ५६ रनको उत्कृष्ट पारी खेल्नुभयो । त्यस्तै, माहिरा इज्जती इस्माइलले १८ र नुर डानिया स्युहदाले १५ रन जोड्नुभएको थियो ।
नेपालका बलरहरूमध्ये कविता कुँवर सबैभन्दा सफल रहनुभयो । उहाँले ४ ओभरमा २३ रन खर्चिँदै ३ विकेट हात पार्नुभयो । त्यस्तै, पूजा महतो र कविता जोशीले समान एक-एक विकेट लिनुभयो । नेपालको बलिङ विशेष गरी मध्य ओभरपछि अनुशासित रह्यो, जसका कारण मलेसिया ठूला साझेदारी बनाउन असफल रह्यो ।
पाँच खेलको यो शृंखलामा अहिले दुवै टोलीले दुई–दुई खेल जितेका छन् । पहिलो खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको थियो भने दोस्रो खेलमा पनि मलेसियाले ३ रनको जित निकालेको थियो । तर, तेस्रो खेलमा नेपालले ६ विकेटले र चौथो खेलमा पुनः ६ विकेटकै अन्तरले जित निकाल्दै शृंखलामा पुनरागमन गरेको हो । अब आज हुने पाँचौं तथा अन्तिम खेल निर्णायक हुने भएको छ । उक्त खेलमा जो विजयी हुनेछ, त्यसले शृंखलाको उपाधि जित्नेछ ।
खेलपछि नेपाली कप्तान इन्दु बर्माले टोलीको सामूहिक प्रदर्शनको प्रशंसा गर्दै भन्नुभयो, ‘हामीले अघिल्ला खेलका गल्तीबाट धेरै सिक्यौं । आजको जित हाम्रो आत्मविश्वासका लागि ठूलो प्रेरणा हो । अन्तिम खेलमा पनि यही लय कायम राख्नेछौं ।’
टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्नुभएको छ । यससँगै उहाँ यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी बन्नुभएको छ । मंगलबार मलेसियाविरुद्ध टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा इन्दुले यो उपलब्धि हासिल गर्नुभएको हो । उक्त खेलमा उहाँले अविजित ४८ रन प्रहार गर्नुभएको थियो । इन्दुले ७७ खेलमा एक अर्धशतकसहित एक हजार ३३ रन प्रहार गर्नुभएको छ । उहाँको औसत १८.७८ तथा स्ट्राइक रेट ८३.७१ छ । इन्दुले आफ्नो करियरमा एकमात्र अर्धशतक सन् २०२१ मा कतारविरुद्ध प्रहार गर्नुभएको थियो । त्यस खेलमा उहाँले अविजित ५५ रन बनाउनुभएको थियो । इन्दुले सन् २०१९ मा चीनविरुद्धको खेलमार्फत् टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच