काठमाडौं । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको चलचित्र ‘बलिदान’हेरेपछि आफू गहिरो रूपमा प्रभावित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले चलचित्रलाई नेपाली फिल्म उद्योगको ‘फरक स्तरको प्रतिनिधि चलचित्र’ को रूपमा मूल्यांकन गर्दै यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सम्भावना उजागर गरेको जिकिर गर्नुभयो ।
चलचित्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामाले भन्नुभयो, ‘बलिदानमा मैले ठूलो बलिदानै पाएँ । यो चलचित्रसँग आबद्ध सबैको ठूलो योगदान देखेँ । नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो ।’ उहाँले निर्देशक सन्तोष सेनको दृष्टि र मिहिनेतको खुलेर प्रशंसा गर्नुभयो ।
‘मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला’ उहाँले भन्नुभयो । लामाले चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र उहाँका पिता अभिनेता विराज भट्ट दुवैको योगदानलाई छुट्टाछुट्टै समयका लागि महत्वपूर्ण र ऐतिहासिक रहेको बताउनुभयो । ‘विराज विराज नै हो, समीर समीर नै हो । विराजको समयमा विराजको अधिपत्य थियो, अब समीरको पालो हो’, उहाँले भन्नुभयो ।
चलचित्रकी अभिनेत्री ऋचा शर्माले आमाको भूमिकामा निभाएको अभिनयले दर्शकसँग गहिरो भावनात्मक सम्बन्ध बनाएको बताउनुभयो । ‘मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुशीको कुरा हो’, ऋचाले भन्नुभयो ।
दोस्रो सातामा पनि बलियो प्रदर्शन
बडादशैँको फूलपातीदेखि प्रदर्शनमा आएको ‘बलिदान’ दोस्रो सातामा प्रवेश गरे पनि देशभर १३० भन्दा बढी शोका साथ प्रदर्शन भइरहेको छ । वितरकहरूका अनुसार, चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारिसकेको छ ।
दर्शकले समीर भट्टको दमदार एक्सन र भावनात्मक अभिनयको प्रशंसा गर्दै उहाँलाई ‘नयाँ पुस्ताको एक्सन स्टार’को रूपमा चित्रण गरिरहेका छन् । आमा-छोराबीचको प्रेम, बलिदान र आत्मिक सम्बन्धमा आधारित कथाले सामाजिक र पारिवारिक सन्देश प्रवाह गरेको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ । सन्तोष सेनको निर्देशन रहेको यो चलचित्रलाई समकालीन नेपाली चलचित्रमा सामाजिक यथार्थ, पारिवारिक भावना र प्राविधिक समृद्धिको संयोजनको रूपमा हेरिएको छ ।
बडादशैँमा प्रदर्शित तीन चलचित्र : कसको व्यवसाय कस्तो ?
यसपालिको बडादशैँका लागि भन्दै फूलपातीदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ले एक सातासम्म कति आम्दानी गरे भन्ने प्रष्ट हरहिसाब आधिकारिक रूपमा बाहिरिएको छैन । तीनवटै चलचित्रका निर्माण पक्ष यतिबेला आ-आफ्नो चलचित्रले राम्रो व्यवसाय गरिरहेको दाबी गर्दै आएका छन् । चलचित्र विकास बोर्डले भने पछिल्लो बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । दशैँमा रिलिज भएका तीनै चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ सोमबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन् । निर्माताहरूका अनुसार यी तीनवटै चलचित्रले दर्शकको साथ पाइरहेका छन् ।
एकसाथ रिलिज भएका तीन चलचित्रमध्ये सुरुमा ‘हरिबहादुरको जुत्ता’ले सबभन्दा कम शो पाएको थियो । तर, अभिनेता हरिवंश आचार्यको मुख्य अभिनय रहेको यस चलचित्रलाई ‘वर्ड अफ माउथ’ राम्रो मिलेको छ । चलचित्रले धेरै शो पनि पाएको छ । निर्माता सरोज वलीका अनुसार दर्शकको साथ र राम्रो प्रतिक्रियाका कारण यो चलचित्र लामो रेसको घोडा बन्ने विश्वास छ । दीपेन्द्र के.खनाल निर्देशित यस चलचित्रमा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्कीलगायतको मुख्य अभिनय छ ।
सन्तोष सेन निर्देशित ‘बलिदान’मा दर्शकहरूले अभिनेता समीर भट्टको एक्सनको खुलेर प्रशंसा गरिरहेका छन् । वितरकहरूका अनुसार यस चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म राम्रो दर्शक पाइरहेको छ ।
यस्तै, चलचित्र ‘माइतीघर’लाई मोफसलका थुप्रै सहरमा हाउसफुल दर्शकका साथ प्रदर्शन भएको वितरण कम्पनीले जनाएको छ ।
काठमाडौंका हलमा पनि दर्शकको चाप देखिएको निर्माणपक्षको दाबी छ । रोहित अधिकारीको निर्माणमा तयार भएको यो चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नुभएको हो । चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ ।
पाँच लाख रुपैयाँ पुरस्कार
चलचित्र ‘माइतीघर’ को भिडियो प्रतियोगिताको विजेता घोषणा गरिएको छ । बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह भिडियो प्रतियोगिताको विजेता बनेका हुन् । दुवैले समान अंक ल्याएका कारण दुवैलाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ ।
विजेतालाई पाँच लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार, अब सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बालिकाहरू दुवैलाई दुई लाख ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । चलचित्रको शीर्षक गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा भिडियो प्रतियोगिता आयोजना गरिएको थियो । विजेताहरूको भिडियो चलचित्रमा समेत समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजारभन्दा बढीबाट दुईजनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गर्नुभएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच