काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति पूर्णरूपमा बदलिएको छ । जननिर्वाचित सरकार अपदस्त भएर पूर्व-प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनेको छ । ‘जेन-जी’ आन्दोलनपछि परम्परागत राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुगेका छन् । पुराना पुस्ताका नेताहरूबाट अब राजनीति अगाडि बढ्न नसक्ने बहस परम्परागत राजनीतिक दलहरूभित्र बलियो बन्दै छ । दलहरूभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको दबाब दिनप्रतिदिन तीव्र बन्दै गएको छ ।
मुलुकको संसदीय राजनीतिमा एकलौटी जस्तै गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरणको लागि नेतृत्व युवा नेताहरूले दबाब दिइरहेका छन् । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा आबद्ध २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूलाई घचघच्याएका छन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका युवाले दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो÷तेस्रो तहका नेताहरूलाई आग्रह गरेका हुन् ।
‘जेन-जी’ आन्दोलनको सन्देशअनुसार अघि बढ्न संयुक्त आह्वान गर्दै उनीहरूले भनेका छन्, ‘दलहरूमा अलमल, पुरानै नेताहरूको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरूको बोलवाला, बाहिरी शक्तिहरूको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त हो ।’ नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य नेताहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुन नसक्ने निष्कर्ष उनीहरूको छ । विभिन्न राजनीतिक दलका २८ नेताले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आ-आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ ।’
पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई ‘जेन-जी’ आन्दोलनले घुँडा टेकाएको उनीहरूको भनाइ छ । ‘जेन–जी’ आन्दोलनले नेपालीहरू राजनीति, प्रशासन र न्यायपालिकालगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको र त्यसका लागि दलहरू जिम्मेवार बन्नुपर्ने रहेको वक्तव्यमा उल्लेख छ । मुख्य राजनीतिक दलका नेताहरूले अझै पनि नेतृत्व पुस्तान्तरण र हस्तान्तरण सन्देश नसुनेझैँ गरेको भन्दै विज्ञप्तिमा फेरि पनि नेतृत्वमा रहन छलछाम भइरहेको बहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्नेतर्फ सचेत गराइएको छ ।
‘जेन-जी’को आन्दोलनलाई उच्च सम्मान रहेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘यो परिस्थिति अचानक आएको होइन । राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो । ‘जेन–जी’ले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो ।’ पार्टी पुनर्गठन गर्न माग गर्नेहरूमा अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबी विश्वकर्मा, नवीन तिवारी, निराजन पौडेल, पासाङ डोल्मा, प्रकाश देवकोटा, प्रकाश पौडेल, प्रकाश श्रेष्ठ, प्रतीक कार्की, भरत महतारा, भावना घिमिरे, भावना शाह, ममता अधिकारी, महेश पाण्डेय, राजेश राई, राजेन्द्र परियार, राधिका परियार, रोमश खतिवडा, रोशन रिमाल, विराज थापा, समकृति पुन, सवल दाहाल र सन्दीप पुन हुनुहुन्छ ।
उता, नेपाली कांग्रेसमा पनि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस बलियो ढंगले अगाडि बढेको छ । पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन भइरहेको छ । विशेष महाधिवेशनको माग गर्दै संकलित हस्ताक्षर असोज २५ गते केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी भएको छ । असोज ६ गते इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर संकलन अभियान थालेका थिए । देउवालाई तत्काल हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइराला उभिनुभएको छ । विधानअनुसार विशेष महाधिवेशन माग्नको लागि ४० प्रतिशत हस्ताक्षर संकलन भइसकेको नेताहरूको दाबी छ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टी विधानमा व्यवस्था छ ।
२४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गर्नुभएको छ । मंगलबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले भन्नुभएको छ, ‘विशेष महाधिवेशनको लागि हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस् ।’ २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै शर्माले भन्नुभएको छ,‘ लगनपछिको पोते के काम ?’ विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको तर्क छ । विशेष महाधिवेशनका लागि आफूले टेलिफोन गरी कसैलाई हस्ताक्षर गर्न नभनेको तर आफूलाई टेलिफोन गरेर सोध्नेलाई हस्ताक्षर गर्न सुझाएको स्पष्ट पार्दै महामन्त्री शर्माले भन्नुभयो, ‘आफैँले टेलिफोन गरेर कसैलाई विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुस् भनेको छैन । तर, मलाई हस्ताक्षर गरौँ कि नगरौँ भनेर सोध्नेलाई गर्नुस् भनेको छु ।’






हेटौँडामा ग्यासको चर्को अभाव, चार–पाँच
सीमा क्षेत्रबाट अवैध सामान तथा
संविधान संशोधन गर्दा संवेदनशीलता बुझ्नुपर्छ
पर्यटकको बसाइ लम्ब्याउन सुविधासम्पन्न होटल
सामाजिक सञ्जालको दुरुपयोग र वित्तीय
टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’