स्टकहोम । सन् २०२५ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार यसवर्षको पुरस्कार वैज्ञानिकहरू सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । उहाँहरूलाई मेटल अर्गानिक फ्रेमवर्कको विकासमा दिएको योगदानको लागि प्रदान गरेको जनाइएको छ ।
उहाँहरूले ग्यास तथा अन्य रसायनहरू सजिलै प्रवाह गर्न सक्ने ठूला खाली ठाउँ भएको अणु संरचना निर्माण गर्नुभएको हो । यी संरचनाहरूलाई मेटल-अर्गानिक फ्रेमवर्क (एमओएफ) भनिन्छ, जसको प्रयोग गरेर मरुभूमिको हावाबाट पानी संकलन, कार्बन डाइअक्साइड संकलन, विषालु ग्यास भण्डारण वा रासायनिक प्रतिक्रिया प्रवद्र्धन गर्न सकिन्छ । कितागावा, रोबसन र यागीले अणुहरूको नयाँ प्रकारको संरचना विकास गर्नुभएको छ । उहाँहरूले बनाएका संरचनामा धातु आयनहरू ‘कर्नर स्टोन’ (मुख्य आधार) को रूपमा प्रयोग हुन्छन्, जसलाई लामो अर्गानिक (कार्बन आधारित) अणुहरूले जोडिएका हुन्छन् ।
धातु आयन र अर्गानिक अणुहरू मिलेर ठूलो खाली ठाउँ भएको क्रिस्टल संरचना बन्छन् । यी छिद्रपूर्ण पदार्थहरूलाई नै मेटल-अर्गानिक फ्रेमवर्क भनिन्छ । एमओएफ निर्माणमा प्रयोग हुने आधार ब्लक परिवर्तन गरेर वैज्ञानिकहरूले विशेष पदार्थहरूलाई सजिलै समात्ने वा भण्डारण गर्ने क्षमता भएको संरचना बनाउन सक्छन् ।
यिनै एमओएफले रासायनिक प्रतिक्रिया अगाडि बढाउन वा बिजुली प्रवाह गर्न पनि सक्दछन् । रसायनशास्त्र नोबेल समितिका अध्यक्ष हेइनर लिंके भन्नुहुन्छ, ‘मेटल-अर्गानिक फ्रेमवर्कहरूले विशाल सम्भावना बोकेका छन्, जसले नयाँ कार्यक्षमता भएका सामग्रीहरू तयार गर्ने अकल्पनीय अवसर खोलिदिएका छन् ।’
सन् १९५१ मा जापानमा जन्मिनुभएका कितागावा क्योतो युनिभर्सिटी जापानका प्राध्यापक हुनुहुन्छ । सन् १९३७ मा बेलायतमा जन्मिनुभएका रोबसन युनिभर्सिटी अफ मेलबर्न अस्ट्रेलियामा प्राध्यापन गर्नुहुन्छ । याघी भने सन् १९६५ मा जोर्डनमा जन्मिनुभएको हो । उहाँ युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापन गर्नुहुन्छ ।
सन् १९०१ देखि सन् २०२४ सम्ममा १९५ जना विज्ञलाई ११६ पटक रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार सियाटलस्थित वासिंटन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिश-अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था गुगल डिपमाइन्डका कम्प्युटर वैज्ञानिक डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।
यी तीन वैज्ञानिकलाई जीवनका आधारभूत निर्माण खण्ड-नयाँ प्रोटिन-डिकोड गर्ने र डिजाइन गर्ने शक्तिशाली प्रविधि विकास गरेको योगदानका लागि पुरस्कृत गरिएको थियो । उहाँहरूको अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्ससहित अत्याधुनिक प्रविधि प्रयोग गर्दै नयाँ औषधि र सामग्री उत्पादनमा क्रान्ति ल्याउने सम्भावना देखाएको थियो ।
सन् २०२५ का नोबेल पुरस्कारमध्ये पहिलो पुरस्कार सोमबार घोषणा गरिएको थियो । चिकित्साशास्त्रतर्फ परिधीय प्रतिरक्षा सहिष्णुतासम्बन्धी महत्वपूर्णआविष्कारका लागि प्रोफेसर मेरी ई.ब्रन्को, फ्रेड राम्सडेल र डा.शिमोन सकागुचीलाई सम्मान गरिएको हो ।
मंगलबार घोषणा गरिएको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम.मार्टिनिसलाई प्रदान गरिएको थियो । उहाँहरूलाई दैनिक डिजिटल सञ्चार र कम्प्युटिङ प्रविधिको शक्तिलाई नयाँ स्तरमा पुर्याउने उपआणवकि क्वान्टम टनेलिङसम्बन्धी अनुसन्धानका लागि सम्मान गरिएको हो ।
यसवर्षको नोबेल शृंखलामा बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार आगामी सोमबार सार्वजनिक गरिनेछ । नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । उक्त दिन पुरस्कारका संस्थापक तथा डायनामाइटका आविष्कारक धनी स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलको पुण्यतिथि पनि हो । नोबेलको सन् १८९६ मा निधन भएको थियो । एजेन्सी ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच