काठमाडौैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना पुनर्निर्माणमा सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताउनुभएको हो ।
इप्पानले २०८० जेठ ३२ र असार १ गते, २०८१ असार/साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त सबै आयोजनालाई मध्यनजर गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी), अनुमतिपत्र अवधि, कर्जा पुनर्तालिकीकरण, लङटम फाइनान्सिङ र भन्सार महसुलमा छुटलगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने माग गरेको छ ।
विभिन्न सातबुँदे मागमा बाढी प्रभावित आयोजनाको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आवश्यक मेसिनरी उपकरणहरू एक प्रतिशत भन्सारमा आयातको व्यवस्था गर्नुपर्ने, बाढीबाट क्षति पुगेका निर्माणाधीन आयोजनाको आरसिओडी म्याद तीन वर्ष र अनुमतिपत्र अवधि पाँच वर्ष थप गर्नुपर्ने, बाढी प्रभावित आयोजनाको कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, बाढी प्रभावित आयोजनाको रोकिएको आइपिओ र हकप्रद सेयर छिटो निष्कासनको व्यवस्था गर्नुपर्ने रहेका छन् ।
त्यस्तै, प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत् आयोजनालाई संकटग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने, बाढी प्रभावित आयोजनालाई लङटम फाइनान्सिङ व्यवस्था गर्नुपर्ने र आर्थिक वर्ष २०८२/८३-२०८४/८५ भित्र विद्युत् उत्पादन नगरे स्वतः टेक एण्ड पे पिपिएमा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने माग रहेका छन् ।
सो अवसरमा ऊर्जामन्त्री घिसिङले बाढी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिँदै वनसँग सम्बन्धित ऊर्जा आयोजनाका समस्या समाधानका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराउनुभएको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार असोज १७-१९ गतेको भारी वर्षाका कारण सञ्चालनमा रहेका २० जलविद्युत् आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएका छन् भने १५६ मेगावाटका तीन आयोजना आंशिक प्रभावित भएका छन् ।
निर्माणाधीन ५२० मेगावाटका १७ आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत् आयोजनाहरू बढी प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ जलविद्युत् आयोजनाहरूको उत्पादन बन्द भएको इप्पानले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच