जम्मा ४८ घण्टाको कहाली लाग्दो अनिश्चय, वर्वादी र आतंकको भयानक रौद्र रूपको धूँवा अझै साम्य भएको छैन । एक महिना पहिले धमिलिएको राजनीतिक क्षितिज अझै राम्ररी संलिएको छैन । एकाएकको आँधीहुरी अकल्पनीय त छँदै थियो त्यसपछि पनि यो के भएको हो भनेर अहिलेसम्म सही ढंगले अवस्थाको विवेचना कसैले पनि गर्न सकेका छैनन् । पञ्चायत फालेर प्रजातन्त्रको पुनस्र्थापना भएको सुरुका दिनहरूमा पञ्चायती मण्डलेहरू भनेपछि जहाँको त्यही भौतिक कारबाही गरिहाल्ने त्रासदी थियो तर लोकतन्त्रको अभ्यास र सहमतिको राजनीतिले त्यसो हुन दिएन । पञ्चायत समाप्ति हुनासाथ नेताहरू भन्ने गर्थे : यो सबैको जित हो । लोकतन्त्रमा कसैको जय वा पराजय हुँदैन । हालको जेन-जी आन्दोलनपछि पार्टीका कार्यकर्ता र भ्रातृ संगठनका सदस्यहरूको मनोदशा पनि त्यस्तै बनेको देखिन्छ । जेन-जीहरू वार्ता गर्न सेनाको मुख्यालयमा गएको बेला के हुँदैछ भनेर चासो राखेर त्यहाँ पुगेका विद्यार्थी संगठनका सदस्यहरू लखेटिएका थिए । तर, अब भने बिस्तारै पार्टी र पार्टीका कार्यकर्ताहरू अगाडि आउन थालेका छन् । वास्तविक जेन-जीहरू कता छन् कता ? कुनै जिम्मेदार आधिकारिक औपचारिक संगठन नभएको र आवश्यकताले सिर्जना गरेको देखिएको हुनाले तिनीहरूको यो अवस्था स्वाभाविक होला ।
राजनीतिक नेतृत्वसम्म तिनको पहुँच पुग्नसकेको छैन । सरकारका सदस्यहरू सिफारिश गर्न र अन्य राजनीतिक व्यवस्थापन मिलाउनका लागि अरू नै अग्रसर भइरहेका छन् । जेन-जी पुस्ताभन्दा बढी उमेरका अरू व्यक्ति नै एकाएक वर्तमान राजनीतिको मूलधारमा आएर सरकारलाई सल्लाह-सुझाव दिने र विभिन्न विषयमा अग्रसर हुँदै आएको कुरा धेरैलाई मन परेको छैन । हैसियतबिनाको व्यक्तिहरू अगाडि आएर जेन-जी आन्दोलनलाई अपहरण गरी नेतृत्व हडपेको भन्ने आक्षेप लागेको मात्र होइन विदेशी संस्थाहरूको सहयोगमा सञ्चालन हुँदै आएका संस्थाहरूको सदस्यसमेत भएको आरोप लागिरहेको छ । भदौ अन्तिमको संहारको जिम्मेवार तत्कालीन सरकार जस्तै गरी उहाँहरू पनि हो भन्नेमा सबैको आशंका छ ।
वर्तमान मन्त्रिमण्डलका धेरैजसो सदस्य अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सदस्य तथा पदाधिकारीहरू नै रहेको कुनै संयोग हो भन्न कोही तयार छैन । तिनै अन्तर्राष्ट्रिय संस्थाहरूमा आबद्धहरूकै सिफरिशका मन्त्री नियुक्त भएको संयोग हुनसक्दैन । त्यसैले हाल सार्वजनिक रूपमा आउन सफल बन्दै गएका पार्टीका कार्यकर्ता र विद्यार्थी संगठनका नेताहरूले त्यस्ता पृष्ट परिचालकहरूलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर उजुरी दर्ता गरेका छन् । अर्कातिर जेन-जीका नाममा प्रकट नेतृत्व गरिरहनुभएका सुजन गुरुङलगायतले तत्कालीन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले जेन-जी आन्दोलनमा गोली चलाउन निर्देशन दिएर विद्यार्थीहरूको हत्या गरेका हुन् भनेर उहाँहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ भनी उजुरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको हुँदा गुरुङले पुनः आन्दोलन गरेर देखाइदिने धम्की दिएको र पछि प्रहरीले उक्त उजुरी छानबिन समितिमा पठाएको भनिएको छ ।
छानबिन भइरहेको विषयमा उजुरी लिन मिल्दैन भनेर प्रहरीले सुरुमा उजुरी लिएको थिएन । यस घटनापछि प्रहरी पनि सतर्क भएको छ ।
आन्दोलनका क्रममा प्रहरीका हातहतियार, गोली गठ्ठा र पोशाकहरू लुटिएका र फिर्ता गर्न आग्रह गर्दा फिर्ता गर्न कोही पनि नआएको त्रासदीपूर्ण अवस्था एकातिर छ भने अर्कातिर उक्त आन्दोलनका क्रममा जेलहरू तोडिएका र ठूलो संख्यामा कैदीबन्दी फरार भएको अवस्था छ । आपराधिक मनोवृत्तिका ती कैदीबन्दीहरू पुनः अन्य आपराधिक कार्यमा संलग्न नहोलान् भन्ने प्रत्याभूति छैन । जेलबाट फरार एकजनाले आफ्नै पत्नीलाई मारेकोदेखि जेन-जी आन्दोलनका भाइरल एक युवाले आफ्नै आमालाई क्रूरतापूर्वक मारेको घटना सार्वजनिक भएकाले सुरक्षा चिन्ता बढेको हुनुपर्छ । जेन-जीको नाममा नेतृत्व गर्नेहरू आगामी तिहारपछि पुनः आन्दोलित हुने भन्ने छ तर वास्तविक जेन-जीहरू त्यस प्रकारको योजना छैन भनिरहेका छन् । त्यसैले अब गर्ने भनिएको आन्दोलन नक्कली जेन-जीहरूको हुनसक्ने आशंका छ । अहिले आएर जेन-जीहरूमा पनि फुट पैदा भएको जस्तो देखिएको छ ।
जेन-जी पुस्ता पनि पार्टीहरूका भ्रतृ संगठनका कार्यकर्ता जस्ता भएका छन् । सबैलाई धमिलो पानीमा माछा मार्नु छ । एक थरी जेनजीहरू राजावादी बनेर आएका छन् । राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भनेर पनि अगाडि आएका छन् । एकातिर जेन-जीहरू छरपष्ट भएको र तिनको नेतृत्व अरूकै हातमा पुगेको अवस्था छ भने अर्कातिर पार्टीहरू अगाडि आएर कुनै निश्चित व्यक्ति तोकेर तिनलाई पक्राउ गर्नुपर्छ भनी उजुरी दर्ता गरेको अवस्थाका कारण पुनः मुठभेड हुने हो कि भन्ने आशंका कारण भोलिका दिनहरू उज्याला होलान् भन्ने आशा गर्ने ठाउँ छैन । यस्ता आपसी भिडन्तका कारण यसरी धमिलिएको राजनीतिक वातावरणमा देशीविदेशी तत्वहरूले आगोमा घ्यू थप्ने मौका पाउन सक्छन् ।
पार्टीका कार्यकर्ता पनि आक्रामक र अराजक छैनन् भन्ने होइन । अर्कोतिर कर्मचारी वर्गको मनस्थिति अझै पनि पुरानै खालको छ । आगजनी भएर खरानी बनेका कार्यालयहरूमा त्यही खरानीको थुप्रोमाथि बसेर सेवा दिँदै आएका कर्मचारीको व्यवहार अहिले पनि परिवर्तन भएको पाइँदैन । पहिलेकै मानसिकता लिएर सेवाग्राहीमाथि झर्कोफर्को गर्ने, रूखो बेल्ने, सोधेको कुराको जवाफ नदिने जस्ता व्यवहार आजका दिनमा पनि उस्तै छन् । प्रहरी हतास मनस्थितिमा छ भने सेना पनि अराजक अवस्थालाई नियन्त्रणमा लिन अग्रसर नभएका कारण धेरैको आलोचनाको अचानोमा परेको छ ।
अहिले सुरक्षा निकायहरूले दिएको स्पष्टीकरणमा जनताले विश्वास गर्न सकेका छैनन् । यस्तो अवस्थामा नेपालको राजनीतिक भविष्य उज्ज्वल देखिएको छैन । दशैँ र तिहार जस्ता पर्वहरू सकिएपछि आन्दोलन गर्ने भनाइ जेन-जीतर्फको छ भने विभिन्न राजनीतिक पार्टीहरू र तिनका भ्रातृ संगठन पनि सडकमा उत्रिने भन्ने चर्चा चलिरहेको छ । यदि यस्तै हुने हो भने साँढेहरू जुध्दा बाछाहरू मिचिए जसरी उनीहरूको जुधाइमा जनता मिचिने कुरा निश्चित छ । जे भए पनि दुख्ने भनेको देशलाई हो । आगजनीबाट खरानी भएको देश प्राकृतिक प्रकोपबाट पनि थिल्थिलिएको छ । यस्तो अवस्थामा पार्टीका, व्यक्तिका र नेताका स्वार्थहरू छोडेर देशको स्वार्थमा केन्द्रित हुनु आफ्नो कर्तव्य हो भन्ने सबैले सोच्नु आवश्यक छ ।







न्यायपूर्ण भाडादर र हकहितको माग
मनहरी खोलामा बेपत्ता भएका युवकको
वर्तमान सरकारले उत्पीडित वर्गको भावना
काँग्रेस बलियो भए मात्र लोकतन्त्र
ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे
प्रचण्ड बहुमतको अहंकारले शासकीय अराजकता