उहिल्यैको कुरा हो हामी भुराभुरी केटाकेटी छँदा बेलुकाको भात खाएपछि कोही तमाखे तमाखु भर्थे, सुर्ती खाने सुर्तेलीले बास्सा खोलेर चुँडेर फाँको मार्थे, आमाहरू कपास/पिउरी लिएर मूलछ्यानमा बसेर बत्ती कात्थे, गोठालाहरू भिजाएको बाबियाको तोस्रोमा दाम्ला बाट्थे, कोही नाम्लो बुन्ने डोरीका लागि पाट तोस्रोमा लगाइरहेका हुन्थे । हामी भुरा जाडोको बेला अगेनामा वरिपरि बसेर आगो खाने भनेर जिस्किन्थ्यौँ । उता आमा भाउजू दिदीहरू धेरै आगो नखेलावो है भुरा हो भरै राती ओच्छ्यानमा पिसाब फेरौला फेरि भन्थे । हामी सुनेको नसुन्यै गरी बस्थ्यौँ । बुर्लुके हामी सबैको नाइके थियो ।
एउटा सिन्कामा आगो लिएर भन्थ्यो ल हेर म आगो खाम है भनेर अरूलाई देखाउने । ल खा त हेरौँ भनेपछि “ल सबैले मेरो मुखमा हेरिरहो है त भनेर बिस्तारै एक हातले मुखतिर फिलिङ्गो/अगुल्टो लाने सबै त्यतै हेरिरा’को बेला तलबाट अर्को हातले अर्को अगुल्टो नजिकै बस्ने साथीतिर लाने र आफ्नो मुखैमा अगुल्टो पुर्याएर आँ गरेर भित्र लगे झैं गर्दा तल बस्ने साथीलाई च्वास्स पारीदिने त्यसपछि कुरै नगरौँ हाहाकार र हाँसो एकै चोटी हुन्थ्यो बुर्लुके बुरुक्कै उफ्रेर कहाँ पुगीसक्थ्यो । हाम्रो रुवाबासी काँकाँ र कुँकुँ ।
आमाले भन्नु भयो हेर हामी नेपालीको गाउँघरमा साउन लाग्यो भैंसीका कुरा, तिज आयो चेलीका कुरा, दशैँ आयो खसी बोकाका कुरा, तिहार आयो जुवाका कुरा, हिउँद लाग्यो बिहाबारीका कुरा, बर्खा लाग्यो खेतीपातीका कुरा यी मौसमी सवाल हुन् मौसमानुसार गरिने काम । नलमा र भलमा बिहा नगर्नु, चित्रे पाथीले तील नभर्नु भन्ने परम्परागत उक्ति छ ।
आगो खाको हेर्ने काले बिचरा पोलेको मसार्दै रुदै गरिरह्यो । ठूलाबढा जति सबै एक मुखले भन्दैथे अगि नै आगो नखेल भन्या होइन ।’ कालेले रुँदै भन्यो खेल्या होत पोल्या होइन ? ‘हो त्यही भएर भनेको बुर्लुके यहाँ आयो कि एउटा न एउटा भाँती गरेर भागी हाल्छ देख्यौ त ? अनि फेरि भोलि नै बुरे दाइ भन्छौ फेरि उसैसँग टाँसिन पुग्छौँ भनेर आमाले भन्दै सान्त्वना दिँदै हातमा बत्ती कात्दै भन्नुभयो ल बरू रात लामो छ म तिमीहरूलाई आज एउटा नौलो तर तिमीहरूले बुझेजस्तो अनि अलि नबुझे जस्तो कस्तो कस्तो कथा सुनाउँछु सबै नबोली सुन है त ? हुन्छ हजुर आमा हुन्छ हामी नकराइकन सुन्छौें ।’
आमाले भन्नु भयो हेर हामी नेपालीको गाउँघरमा साउन लाग्यो भैंसीका कुरा, तिज आयो चेलीका कुरा, दशैँ आयो खसी बोकाका कुरा, तिहार आयो जुवाका कुरा, हिउँद लाग्यो बिहाबारीका कुरा, बर्खा लाग्यो खेतीपातीका कुरा यी मौसमी सवाल हुन् मौसमअनुसार गरिने काम । नलमा र भलमा बिहा नगर्नु, चित्रे पाथीले तील नभर्नु भन्ने परम्परागत उक्ति जस्ता लोकवेदका कुरा पनि हामी गाउँले जनजीवनमै धेरै पाउँछौँ । कान्छी बुहारीले धाराबाट पानी ल्याएर पिँडीमा बिसाउने अनि दैलो कसिंगर गर्ने र दैलो पोत्नु/लिप्नु त दैनिकी नै भयो कान्छी बुहारीको । किनभने सासूको त बुहारीहरू भएपछि कुरै भएन ।
आमाजू नन्दले यसै लिप्न हुन्न भएन । तसर्थ बुहारीहरूमा पनि जुन कान्छो हो उसैले दैनिकी दैलो पोत्नुपर्ने लोकको नियम नै हो । बेला बेला सासू बुढी भन्थिन्–‘बिहानै उठी सासू पानी लेवैला, बुहारी सुति रहोइला, झर्ने छैन मत्र्य लोकैमा । बिहानै उठी सासू दैलोलिपैला, बुहारीले कुल्चला, झर्ने छैन मत्र्य लोकैमा । देउरानी छँदै जेठानी दैलो लिपैला, झर्नेछैन मत्र्यलोकैमा ।’ यस्तै लामा लामा मागल गीत गाएर आफ्नो मर्यादित संस्कारका कुरा सिकाउँथे सासू भइखाका बुढीहरू हाम्रा पालामा ।’
एउटी नयाँ दुलही दिन गरेर घर आइन् । नौलो घर परिवार उनलाई बुझ्न अलि समय लाग्ने नै भयो । गाउँघर छरछिमेक वस्तुभाउ खेतबारी सबैसँग चिनाजान गर्नैपर्ने हुनाले बुहारीलाई जे पनि नौलो र नयाँ नै लाग्थ्यो तैपनि बिस्तारै सिक्दै बुझ्दै थिइन् । चैत महिना लागिसकेकोले बर्खे खेती लाउने बेला भइसकेको हँुदा त्यही बाँझो जोतिसकेको पाखाबारीमा उक्लाउनुअघि घँसेटा झ्यासझुस टिपटाप गरेर पोल्नुपर्ने हुनाले नयाँ दुलहीलाई सासूले लगेर साँधसिमाना र काम बताइदिएर फर्किन् र भान्सामा लागिन् । दुलहीले नि खुरुखुरु सासूले भनेझैं राम्रोसँग बटुलेर ठाउँठाउँमा थुप्रा लाउँदै पोल्दै गरिन् । काम गर्दैगर्दा घरबाट अलिपर छेउमा निस्किएर सासूले’ भात खाने बेला भयो दुल्है घर आऊ’ भनिन् तर दुलहीले’ अलिकति बाँकी छ सबै सकेर आउँछु’ भनेर काममा लागिरहिन् । हाँसे बुढाको दुई हलको मेलो झ्याइथलीको पटाहाको सबै पोलपाल गरी सकेर घर जाँदा दिन त छक्काल भइसकेको थियो ।
घरमा आएर हातगोडा धोएर चुलाको चौकीमा बसेकी दुलहीलाई सासूले ‘जाऊ माथि नै मैले पनि तिमीलाई बोलाको आइनौ जेठानी दिदी पनि मल बोकेको पर्म तिर्न जाने भनेर मसँगै खाइन् मैले नि बुबाको थालमा भात चिसो होला भनेर गाँस टिपिहालेँ अब तिमीमात्रै हौ माथि नै चुलाको गालामा बसेर आरामसँग चिसो भए भुङ्ग्रो छ तताएर खाऊ ।
जेठाजुले सोधे दुलही घँसेटा सबै टिपटाप गरेर पोल्यौ त ? पोलेँ जेठाजु । ससुरा बाले हाँस्दै भने चिसो थिएन र ? ‘थेन र त पोलेँ नि ।’ ‘सुकेका घँसेटा बले जेठाजु उत्तिभन्दा हाँसे ससुरा’ भनेर नयाँ दुलहीले जवाफ दिइन् । पातली कान्छी आमै घोसे मुन्टो लाएर हाँसिन् घरका परिवार सबै दङ्ग परेर चुप्प लागे ।
बढी भए दिउरेमा राखीदेऊ अलिखेरमा पातले कान्छी आउँछे भाँडा माझ्न पनि सघाउँछे उसैले खान्छे बरु दूध नखन्याऊ है त्यो त एक डाडु भने नि दूध खोज्छे नि । हवोस् हवोस् । म खाऊँ त उसो भए ?’ खाऊ खाऊ भोक लागिसक्यो के नखाने नि । खाऊ ।’ दुलही भात खाएर लोहोटाउने गोबर लिन गोरुका थलातिर गएकी पातले कान्छी त्यहीँ जम्काभेट भएर भन्न लागी दुलही नानी किन हतार गरेकी ? म आउँदै त थिएँ नि । होइन आमै गोबर लिन आएकी जुठो त लोहोटाउँदै गरुँ कि भनेर । ए भो छोड्नुस् म लान्छु । होइन होइन तपाईं बरू गएर यसो खाइहाल्नु म गोबर लिएर आउँदै गर्छु हो र ? हो नि जानु आमै जानु अहिले चिसो हुन्छ तातो चुलैमा छ । ल त म गएँ भन्दै पातली कान्छी आमै घरतिर लागिन् ।
कान्छी खान लागिन् दुलहीले चुलोचौकी मझेरी सबैतिर लोहोटाइन् र पोत्न लागेकिथिइन् कान्छी आमाले पोतारी तानिन् र भनिन् बरू भाँडा बाहिर निकाल्नु दुलही नानी म पोतेर आउँछु भनेर पोत्न थालिन् । दुलहीले भाँडाहरू चुठेल्ना (रछ्यान) तिर लिएर गइन् । कान्छी आमै पोतीसकेर बाहिर आइन् । दुबै भएर भाँडा माझी सकेरभित्र लगेर थन्क्याए । दुलही पनि बाहिर आँगनमा सासू, ससुरा र जेठाजू श्रीमान् बसिराखेकाले पिँडीको छेउमा टुसुक्क बसिन् । त्यतिखेरै हातमा दुईवटा चकटी लिएर आएर कान्छीआमै पनि एउटा दुलहीलाई दिएर अर्को सँगै ओछ्याएर बसिन् । सुस्तरी सोधिन् दुलही नानी दाजुभाइ दिदीबहिनी कति छन् ? भनेर एकै पटकमा प्रश्नको पेटारो खोलिन् । दुलहीले पनि बिस्तारै उत्तर दिइन् ।
यति खेरै जेठाजुले सोधे दुलही घँसेटा सबै टिपटाप गरेर पोल्यौ त ? पोलेँ जेठाजु । ससुरा बाले हाँस्दै भने चिसो थिएन र ? ‘थेन र त पोलेँ नि ।’ ‘सुकेका घँसेटा बले जेठाजु उत्ति भन्दा हाँसे ससुरा’ भनेर नयाँ दुलहीले जवाफ दिइन् । पातली कान्छी आमै घोसे मुन्टो लाएर हाँसिन् घरका परिवार सबै दङ्ग परेर चुप्प लागे । आमाले भन्नुभयो-यो कथा अड्का कथा पनि हो भनेको अड्को थाप्ने (प्राश्निक) कथा भएकोले प्रश्नको अड्को कथाभित्रैबाट श्रोता र पाठकमा फुनुपर्छ र त प्रश्न जान्छ । दुलहीले जेठाजुलाई दिएको जवाफभित्र कति प्रकारका रहस्य लुकेका छन् ?
एकछिन घोत्लिएर कथाभित्र पसेर आफैँलाई उत्तर दिनुपर्ने हुन्छ । तिमीहरू भन त प्रश्नले खोजेको उत्तर केहो ? भनेर आमाले हामीलाई नै भन्दा सानुकान्छाले भन्यो-पोइ सुके, जेठाजु बले, ससुरा हाँसे र सासूको नाम उत्ति जोडेर उत्तर देको ।’ तब सबै ना स्याबास् भनेर गलल हाँसे । आमाले फेरि भन्नुभयो बुहारी कति बाठी रैछ ? किनभने पोइको नाम सुके, जेठाजुको नाम बले, सासूको नाम उत्ती अनि ससुराको नाम हाँसे ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…