काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले अत्यन्त कठिन अवस्थामा राष्ट्र रहेकाले सही दिशा दिन सम्पूर्ण राजनीतिक दलहरूसहित आमनागरिक निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा प्रचण्डले निर्वाचन गर्न र संविधानमा संशोधन गर्न राष्ट्रिय सहमति हुनुपर्ने स्पष्ट धारणा राख्नुभयो । छलफलमा उहाँले संविधान संशोधनसहित परिमार्जन गर्न प्रस्ताव गर्नुभएको छ । वर्तमान संविधानले अहिलेकै रूपमा काम नगर्ने उहाँको जिकिर छ । ‘यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधन/परिमार्जन गरौँ,’ प्रचण्डले भन्नुभयो, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’
संविधान संशोधन ‘जेन-जी’ आन्दोलनले झन् आवश्यक भएको उहाँले बताउनुभयो । संविधान निर्माणकै बेला पनि १० वर्षपछि समीक्षा गर्ने भनिएको उहाँको भनाइ छ । अहिलेको आवश्यकता चुनाव समयमै गराउनुपर्ने प्रचण्डले बताउनुभयो । अहिलेको आवश्यकता सबै मिलेर निर्वाचन सफल पार्नु रहेको उहाँको भनाइ छ । चुनावपछि पनि सबैको सहमतिमा ‘जेन-जी’को माग सम्बोधन गर्नेगरी संविधान संशोधन गर्नुपर्ने उहाँले दोहो¥याउनुभयो । ‘अहिलेको आवश्यकता निर्वाचन सफल पार्न सबै एकजुट हुनु हो । भोलिको आवश्यकता सबै मिलेर संविधान संशोधन गरेर जेन-जीहरूको भावना र मागलाई पनि सम्बोधन गर्नेगरी सहमतिका आधारमा संविधान संशोधन गर्नु दोस्रो आवश्यकता हो’, उहाँले भन्नुभयो । नेकपा एमाले भने संसद् पुनस्र्थापनाको पक्षमा उभिएको छ । नेपाली कांग्रेस पनि दोधारमा छ । तर, प्रचण्ड भने संसद् पुनस्र्थापनाको पक्षमा खुल्नुभएन ।
राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको उहाँले बताउनुभयो । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप पहिले थिएन । राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो,’ उहाँले भन्नुभयो, ‘यो अवस्थामा आउनुमा भू–राजनीतिक कारण पनि हो । हामी भू-राजनीतिक अवस्थाकै कारण फस्यौँ ।’ राजनीतिक संकट पनि कायमै रहेको उहाँको भनाइ छ ।
‘२३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गते बाह्य पक्षको भूमिका’
प्रचण्डले सक्कली ‘जेन-जी’सँग सहकार्य गरेर नक्कली ‘जेन-जी’हरू सार्वजनिक गर्नुपर्ने बताउनुभयो । ‘जेन-जी’ आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको उहाँले बताउनुभयो । ‘जेन–जी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उहाँले भन्नुभयोे, ‘एक भारतीय बौद्धिकले जेन-जी आन्दोलन चटपटे हो भनेका छन् । राजावादीदेखि देशी विदेशीसमेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’ २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि उहाँको भनाइ छ ।
सेनाले सिंहदरबार-अदालत किन जोगाउन सकेन ?
नेपाली सेनाले आफूहरूलाई जोगाए पनि सिंहदरबार–अदालत नजोगाएकोमा प्रश्न उठाउनुभयो । भूराजनीतिक शक्ति सन्तुलन र चलखेलका कारण भदौ २४ मा आफू भौतिक रूपमा बाँच्न सफल भएको उहाँले दाबी गर्नुभयो । ज्यान जोगाएकोमा उहाँले सेनालाई धन्यवाद त दिनुभयो तर, आफूहरूलाई बचाउने सेनाले राष्ट्रिय सम्पदा किन बचाएन ? भन्ने प्रश्नसमेत गर्नुभयो । ‘हामीलाई जनताले बचाएको हो कि ? हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि ? कसले बचायो ? हेर्दा त सेनाले बचायो । हामीलाई बचाउने सेनाले सिंहदरबार, सर्वोच्च, राष्ट्रपति भवनजस्ता सम्पदा किन बचाउन सकेन ?’ उहाँले प्रश्न गर्नुभयो, ‘हेर्दा बडो अनौठो चित्र, विचित्र लाग्छ । हामीलाई बचायो त्यसकारण सेनालाई धन्यवाद त दिनैपर्यो । सेनाका हेडक्वार्टरमै बसेर बचेर निस्केर आइयो ।’
‘सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिशमा’
प्रचण्डले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिशमा भएको दाबी गर्नुभएको छ । राष्ट्रिय संकटको अवस्थामा आवश्यकताको सिद्धान्तअनुसार ‘जेन-जी’ युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिशकर्ता रहेको प्रचण्डले दाबी गर्नुभयो । ‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिश गर्ने उहाँ (केपी ओली) हो,’ प्रचण्डले भन्नुभयो, ‘केपी ओलीको लिखित सिफारिशको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो । अहिले यो सरकार हावामा बन्यो भन्न मिल्छ त ? उहाँ (ओली) नै सिफारिशकर्ता हो ।’ आफूहरू उक्त प्रक्रियाको साक्षी मात्रै रहेको प्रचण्डले बताउनुभयो ।
‘अहंकार अझै गएको रहेनछ’
प्रचण्डले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहंकारकै कारण देशले ठूलो राजनीतिक संकट व्यहोर्नुपरेको टिप्पणी गर्नुभयो । हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहंकार नगएको उहाँले कटाक्ष गर्नुभयो । ‘हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहंकार अझै गएको छैन । यो देख्दा मलाई दुःख लागेको छ,’ उहाँले भन्नुभयो । जनताको भावना र देशको आवश्यकताभन्दा आफ्नो मनोगत अहंकारलाई प्राथमिकता दिने प्रवृत्तिले नै संकट निम्त्याएको प्रचण्डको भनाइ छ । बिहीबार मात्रै एमाले अध्यक्ष ओलीले परिवर्तनलाई अस्वीकार गर्ने हिसाबले भक्तपुरबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो ।
‘तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने भाष्य बनेको देख्दा चित्त दुख्छ’
प्रचण्डले देशका प्रमुख तीन राजनीतिक दल र तिनका शीर्ष नेताहरूलाई एउटै डालोमा राखेर मूल्यांकन गर्ने भाष्य निर्माण भएकोमा गुनासो पोख्नुभयो । सुशासनका लागि लड्ने माओवादी र भ्रष्टाचारलाई संरक्षण गर्ने अर्को पक्षलाई उस्तै देखाइनु दुर्भाग्यपूर्ण भएको उहाँको तर्क छ । आफू र आफ्नो पार्टीले गरेका गल्ती स्वीकारेर आत्मालोचना गर्दा पनि सबैलाई एउटै नजरले हेर्ने प्रवृत्तिले आफूलाई चोट पुगेको बताउनुभयो । ‘एउटा भाष्य बनेको देख्दा हामीलाई चित्त त दुखिराखेकै छ । तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘तर सुशासनको निम्ति सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउन खोज्ने पनि उस्तै ? अनि तिनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने पनि उस्तै ?’
नयाँ भूमिकामा जान तयार
नेतृत्व हस्तान्तरणको विषयमा समेत आफू खुला रहेको प्रचण्डले बताउनुभयो । तर, अन्य नेताहरू त्यस्तो नदेखिएको भन्दै उहाँले सबैलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने तर्क गर्नुभयो । प्रचण्डले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभयो । आफू अध्यक्ष भइराख्नुपर्छ भन्नेमा नरहेको उहाँको भनाइ छ । ‘नयाँ भूमिकामा जान तयार भएर नै अधिवेशनमा जाने भनेको हो र अध्यक्ष छोडेर संयोजक बनेको हुँ,’ उहाँले भन्नुभयो । आफ्नो पार्टीले कमी÷कमजोरी भएको स्वीकार गर्दै केन्द्रीय समितिबाट आत्मालोचनाको दस्ताबेज नै पारित गरेर जनतासँग माफी माग्ने अभियान चलाएको उहाँले स्मरण गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच