समाचार सारांश
-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्, नोभेम्बर १ देखि लागू हुने।
-
चीनले अधिकांश वस्तुहरूमा निर्यात नियन्त्रण लगाउने घोषणा गरेपछि ट्रम्पले यस्तो कदम उठाएका हुन्।
-
अमेरिका पनि प्रमुख सफ्टवेयर र प्रविधिमा निर्यात नियन्त्रण गर्ने तयारीमा छ।
-
यसले अमेरिका–चीन व्यापारिक तनाव झन् चर्काउने र विश्व अर्थतन्त्रमा असर पार्ने अनुमान।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा कदम उठाउँदै १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गर्नुभएकाे छ। उहाँले चीनको “अत्यधिक आक्रामक व्यापारिक नीतिको प्रत्यक्ष प्रतिक्रिया स्वरूप” यस्तो निर्णय गरेको बताउनुभएकाे छ। नयाँ ट्यारिफ आगामी नोभेम्बर १ देखि लागू हुनेछ र यसअघि चीनमाथि लगाइएका सबै शुल्कमा थप रूपमा लागू हुने जनाइएको छ।
ट्रम्पको यो घोषणा चीनले विश्वव्यापी रूपमा निर्यात नियन्त्रण कडा पार्ने तयारी गरेको सूचना सार्वजनिक भएपछि आएको हो। ट्रम्पले आफ्नो वक्तव्यमा चीनले अन्तर्राष्ट्रिय बजारमा असमान खेल मैदान सिर्जना गरिरहेको आरोप लगाउँदै यस्तो नीतिले “विश्व व्यापार प्रणालीमा अस्थिरता ल्याउने खतरा” रहेको बताउनुभएकाे छ ।
उहाँका अनुसार चीनले १ नोभेम्बरदेखि प्रायः सबै वस्तुहरूमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने निर्णय गरेको छ, जसको असर विश्व अर्थतन्त्रमा प्रत्यक्ष पर्नेछ। ट्रम्पले चीनको कदमलाई “अन्तर्राष्ट्रिय नियम र नैतिक मूल्यहरूविरुद्धको कार्य” भन्दै आलोचना गर्नुभयाे । उहाँ अनुसार अमेरिकाको नयाँ ट्यारिफ नीति पूर्ण रूपमा राष्ट्रिय हितको सुरक्षा र उद्योगहरूको संरक्षणका लागि हो।
यसै क्रममा, अमेरिकी प्रशासनले पनि नोभेम्बर १ देखि सबै महत्वपूर्ण सफ्टवेयर र प्रविधिसम्बन्धी वस्तुहरूमा निर्यात नियन्त्रण गर्ने तयारी गरेको छ।
चीनले भने आफ्नो कदमलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित भन्दै बचाउ गरेको छ। चीनको वाणिज्य मन्त्रालयले दुर्लभ धातु र प्रविधिसम्बन्धी वस्तुहरूमा नियन्त्रण आवश्यक रहेको र यो कदमले अन्तर्राष्ट्रिय दायित्व उल्लंघन नगर्ने दाबी गरेको छ।
दुर्लभ धातुहरू आधुनिक इलेक्ट्रोनिक्सदेखि लिएर सैन्य उपकरणसम्मका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। यसअघि पनि चीनले इलेक्ट्रिक सवारीसाधनका लागि प्रयोग हुने खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो।
यी पछिल्ला निर्णयहरूले अमेरिका र चीनबीचको व्यापारिक तनाव पुनः चर्काएको छ। विश्लेषकहरूका अनुसार यो संघर्षले केवल दुई देशबीचको सम्बन्ध मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रमा पनि नयाँ चुनौती निम्त्याउने सम्भावना देखिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच