सियोल । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए)ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारी पनि उपस्थित थिए । परेडमा नेता किम जोङ उनले व्यक्तिगतरूपमा नेतृत्व गर्नुभएको थियो । हालै युक्रेनमा भइरहेको युद्धले उहाँलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रुसको सेनासँगै लड्न हजारौं सैनिक पठाइसकेको र त्यसको प्रतिफल स्वरूप रुसबाट महत्त्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।
रूसी सुरक्षा परिषद्का उप-प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी हुनुभएको थियो । केसिएनएले प्रकाशित तस्वीरमा सबैजना किमको छेउमै बसेका देखिनुभएको थियो ।
उक्त परेडमा देशका अत्याधुनिक हतियार प्रदर्शन गरिएको थियो, जसमा नयाँ ह्वासोङ-२० आइसिबिएम पनि समावेश थियो । केसिएनएले यस मिसाइललाई ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेको छ । राजधानी प्योङयाङमा राति सम्पन्न सो कार्यक्रम अत्यन्त रंगीन बनेको थियो ।
परम्परागत पहिरनमा सजिएका हजारौं नागरिकले राष्ट्रिय झण्डा फहराउँदै उत्साहपूर्वक हर्षोल्लास प्रकट गरेका थिए । मुख्य सडकमा आधुनिक हतियार प्रदर्शन भइरहेका दृश्य टेलिभिजन प्रसारणमार्फत देखाइएका थिए । केसिएनएका अनुसार लामो दूरीका रणनीतिक क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारीसाधन, भूमिदेखि-हावा र भूमिदेखि-भूमि मिसाइललगायत विशेष हतियार क्रमशः परेडमा देखाइएका थिए ।
नेता किम जोङ उनले सम्बोधन गर्दै देशको ‘अजेय’ सेनाले हरेक कठिनाइ पार गरेर उज्ज्वल भविष्यको निर्माणमा पार्टीका प्रयासलाई दोब्बर शक्ति थपेको बताउनुभयो । उहाँले युक्रेनविरुद्धको युद्धमा रुसको सेनासँगै लडिरहेका उत्तर कोरियाली सैनिकको वीरता र बलिदानको खुलेर प्रशंसा गर्नुभयो ।
‘अन्तर्राष्ट्रिय न्यायका लागि विदेशी भूमिमा हाम्रा क्रान्तिकारी सशस्त्र सेनाले प्रदर्शन गरेको अदम्य लडाइँको भावना र जितले वैचारिक तथा आध्यात्मिक पूर्णता देखाएको छ’, उहाँले भन्नुभयो । दक्षिण कोरियाको दाबीअनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।
केसिएनएले परेडलाई ‘देशको अतुलनीय रक्षा प्रविधि क्षमता र तीव्र विकासगत प्रगतिको प्रदर्शन’ भनेर वर्णन गरेको छ । यसले विश्वलाई अब उत्तर कोरियालाई बेवास्ता गर्न नसक्ने सन्देश दिएको जनाइएको छ । दक्षिण कोरियाले यस वर्षको एपेक शिखर सम्मेलनको अवसरमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबिच सम्भावित बैठकलाई ‘अस्वीकार गर्न नसकिने’ बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो र एकपटक ‘हामी प्रेममा पर्यौं’ भन्दै असामान्य टिप्पणी गर्नुभएको थियो । तर ती भेटघाटबाट स्थायी आणविक सम्झौता हुन सकेन । त्यसयता उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय आणविक राज्य’ घोषित गरेको छ ।
गत महिना बेइजिङमा आयोजित विशाल सैन्य परेडमा किम, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ उपस्थित हुनुभएको थियो । यसै हप्ता केसिएनएले मस्को र प्योङयाङबीच जारी संयुक्त वक्तव्यमा रुसको सत्तारूढ पार्टीले उत्तर कोरियाको रक्षा क्षमता विस्तारका लागि चालेका कदमलाई दृढ समर्थन जनाएको उल्लेख गरेको थियो ।
हार्वर्ड विश्वविद्यालयको एसिया सेन्टरका भिजिटिङ स्कलर सेओङ-ह्योन लीका अनुसार यो परेडलाई पृथक घटनाको रूपमा नभई, क्षेत्रीय भूराजनीतिक संरचनामा भइरहेको गहिरो परिवर्तनको चरम रूपका रूपमा बुझ्न जरुरी छ । उहाँ भन्नुहुन्छ, ‘यो परेड वासिंटन र सियोलबीचको बलियो गठबन्धनलाई प्रत्यक्ष चुनौती दिने कडा चेतावनी हो, किनभने अब यसको ढोकामा चीन, रुस र उत्तर कोरियाको समेकित तथा शक्तिशाली त्रिपक्षीय ब्लक तयार भइसकेको छ ।’ रासस/एएफपी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच