काठमाडाैं । इजरायलले हमासद्वारा बन्धक बनाइएका नेपालका विपिन जोशीसहित २२ जनालाई जीवितै रहेको विश्वास जनाएको छ। वासिङ्टन पोस्टले समाचार संस्था एपीको हवाला दिंदै इजरायलले ती बन्दीहरू जीवित रहेको विश्वासका आधारहरू प्रस्तुत गरेको उल्लेख गरेको छ।
तेल अभिभबाट एपीका पत्रकार मेलानी लिडम्यान र स्याम मेट्जले तयार पारेको रिपोर्टमा २४ वर्षीय नेपाली नागरिक विपिन जोशीको अवस्थाबारे पनि चर्चा गरिएको छ। उहाँको नाम यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’मा समेत देखिएको थियो।
गाजामा शुक्रबारदेखि सुरु भएको युद्धविरामले करिब दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्यतर्फ महत्त्वपूर्ण कदम चाल्यो। स्मरण रहोस्, यो युद्ध ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो, जसमा करिब १,२०० जनाको मृत्यु र २५१ जनाको अपहरण भएको थियो।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा ६७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा आधा महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसंघले पनि यी तथ्याङ्कलाई गाजाको वास्तविक क्षतिको भरपर्दो अनुमान मान्ने गरेको छ।
हाल ४८ जना बन्धकहरू अझै हमासको कब्जामा रहेका छन्।इजरायलले तीमध्ये केही बन्दीहरू जीवितै रहेको र युद्धविराम अन्तर्गत ७२ घण्टाभित्र फिर्ता गरिने अपेक्षा गरेको बताएको छ। यसको बदलामा करिब २,००० जना प्यालेस्टिनी कैदीहरू रिहा गरिनेछ।
हमासले भने सबै बन्धकहरू हस्तान्तरण गर्न थप समय आवश्यक पर्ने बताएको छ। नेपालका विपिन जोशी अपहरणमा परेको आज ३३७ दिन पुगेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच