इलाम । इलाम-झापालाई जोड्ने महत्वपूर्ण केचना-कञ्चनजङ्घा सडकखण्डअन्तर्गत पर्ने पुवाखोलामा स्थानीयवासीको पहल र सक्रियतामा अस्थायी काठे पुल निर्माण गरिएको छ। गत असोज १८ गते आएको बाढीले खोलामा रहेको बेलिब्रिज बगाएपछि अवरुद्ध बनेको यस खण्डमा काठको पुल बनेपछि मोटरसाइकलसहित पैदल यात्रुहरूलाई आवतजावत गर्न सहज भएको छ । पुल निर्माणपछि इलाम सदरमुकाम र सोयाक क्षेत्रबीचको सम्पर्क पुनःस्थापित भएको छ ।
पुवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि इलामको सोयाक क्षेत्रका स्थानीयवासी र इलाम सदरमुकामबीचको सीधा सम्बन्ध विच्छेद भएको थियो । दैनिक कामकाज, सामान ढुवानी र स्वास्थ्य सेवाका लागि आवतजावतमा समस्या भएपछि स्थानीयवासीले मिलेर अस्थायी समाधान खोजेका हुन् । सोयाकका स्थानीय रोशन राईका अनुसार, स्थानीयवासीको पहलमा १५ मिटर लामो काठको पुल निर्माण गरिएको हो । यसले दैनिक आवतजावत र सामान ढुवानीमा ठूलो राहत मिलेको उहाँले बताउनुभयो ।
अस्थायी काठे पुल निर्माण कार्यमा स्थानीयवासीको श्रमदानसँगै इलामस्थित नेपाली सेना र इलाम नगरपालिका-९ को सहयोग रहेको वडा अध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो ।
केचना-कञ्चनजङ्घा सडकखण्डले इलामका बासिन्दालाई झापा पुग्न छोटो र सहज मार्ग प्रदान गर्ने गरेको भए पनि हाल अन्य अवरोधहरूका कारण ठूला सवारीसाधन सञ्चालनमा भने समस्या यथावत् छ । माईखोलास्थित बेलासेमा रहेको पुलमा बाढीले क्षति पुर्याएकाले ठूला सवारीसाधन चल्न सकेका छैनन् । हाल बेलासेकोको पुलबाट मोटरसाइकल मात्र चलिरहेका छन् भने अन्य सवारीसाधनलाई खोलाको वारी–पारीबाट सेवा दिनुपर्ने बाध्यता छ
यसबाहेक, करिब एक सातादेखि मेची राजमार्गको राजदुवाली क्षेत्रमा पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा थप समस्या देखिएको छ । यसकारण यात्रुहरू माईखोलाको राजदुवाली र बेलासे पुल हिँडेरै पार गर्न बाध्य भएका छन् । इलाम-राजदुवाली सडकखण्डमा पहिरोका कारण तत्काल सञ्चालनमा ल्याउन नसकिने बताइएको छ ।
स्थानीयवासी ठाकुर नारायण श्रेष्ठले पुवाखोलामा निर्माण गरिएको अस्थायी काठे पुलले तत्कालका लागि समस्या टारे पनि यो दीर्घकालीन समाधान नभएको बताउनुभयो । उहाँले यस सडकखण्डको महत्वलाई ध्यानमा राख्दै स्थायी पुल निर्माणका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्य र प्राथमिकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
बाढीले क्षति पुर्याएका सबै पुल र सडक संरचनाहरूको शीघ्र मर्मत तथा स्थायी पुनर्निर्माणका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउनुपर्ने देखिएको छ
केचना-कञ्चनजङ्घा सडकखण्ड जस्ता महत्वपूर्ण मार्गमा अस्थायी काठे पुलले मात्र यातायातलाई दिगो बनाउन सक्दैन । त्यसैले पुवाखोला र माईखोलास्थित बेलासेमा क्षति पुगेका बेलिब्रिज र पुलहरूको स्थानमा पक्की पुल निर्माण गर्न तत्काल बजेट विनियोजन गरी कार्य अगाडि बढाउनुपर्ने देखिन्छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर