काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगोसहित पूरक अभियोगपत्र काठमाडौं जिल्ला अदालतमा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महराविरुद्ध संगठित अपराध र भन्सार ऐन अन्तर्गत पूरक अभियोगपत्र पेश गरेको हो।
अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार अभियोगपत्रमा ३ वर्षभन्दा बढी कैद सजायको मागदाबीसहित ८ करोडभन्दा बढीको आर्थिक बिगो कायम गरिएको छ।
श्रेष्ठले भन्नुभयाे, “सोमबार महराविरुद्ध अनुसन्धान तथा बयान सकेर पूरक अभियोगपत्र अदालतमा पेश भएको हो। अब भोलि मंगलबार अदालतमा महराको बयानपछि थुनछेक बहस हुनेछ।”
तीन वर्षअघिविद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी गरेको आरोपमा महरा संलग्न भएको भनिएको छ।
२०७९ सालमा सुरु भएको उक्त प्रकरणमा पहिले प्रहरी र सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति दिएको थियो। तर सीआईबीले पुनः अनुसन्धान गर्नुपर्ने आधार देखाउँदै आइतबार महरालाई खुमलटारस्थित निवासबाट पक्राउ गरेको हो।
२०७९ मा पक्राउ परेका महरा र उनका छोरा राहुल महरामाथि चिनियाँ नागरिक दावाजिन वाङसँग मिलेर अवैध सुन तस्करी गरेको आरोप लागेको थियो।
उक्त प्रकरणमा चिनियाँ नागरिक ली हानसोङ २०७९ पुस १० गते फ्लाई दुबईको विमानमार्फत नेपाल आउँदा भेपका ७३ बट्टामा ७३० थान भेप भित्र ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन फेला परेको थियो।
भेपहरू भन्सारका नायब सुब्बा रेवन्त खड्कालगायतको मिलेमतोमा भेप स्टोरमा राखेर बिक्री गरिएको आरोप छ।
सुन छुटाउनका लागि महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारी र बिचौलियासँग सक्रिय समन्वय गरेको अनुसन्धानमा देखिएको छ।
त्यस प्रकरणमा महराको बिचौलिया र तस्करसँगको फोन संवाद पनि सार्वजनिक भएको थियो। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगले समेत भेप प्रकरणमा महराको भूमिका “सन्दिग्ध” रहेको र पुनः अनुसन्धान गर्नुपर्ने राय दिएको थियो।
त्यतिबेला महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारीहरूसँग मात्र २५६ पटक फोन वार्तालाप गरेको तथ्य पनि बाहिरिएको थियो।
त्यसमध्ये दावाजिन वाङले महरासँग ११ पटक र राहुलसँग २८ पटक कुराकानी गरेको विवरण सार्वजनिक भएको थियो।
अब अदालतले मंगलबार महराको बयान लिएपछि थुनछेक बहसमार्फत उनको हिरासत वा रिहाइबारे निर्णय लिनेछ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच