काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफ्ना अध्यक्ष पञ्कजविक्रम नेम्वाङसँग फुटबलप्रति आस्था र चिन्ता नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका छन् ।
नक्सालमा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले वर्तमान अध्यक्ष नेम्वाङको राजीनामा माग गरेका हुन् । फुटबलमा सुशासन कायम गर्न असफल भएको र यसको विकासमा काम गर्न असमर्थ रहेकाले अध्यक्ष नेम्वाङले राजीनामा दिनुपर्ने वरिष्ठ उपाध्यक्ष खड्काको माग छ ।
वर्तमान अध्यक्ष पञ्कजविक्रम नेम्वाङको नेतृत्वमा पाँच शुक्रहरू समर्थक शक्ति, सामथ्र्य सदस्य संस्थाहरू, सामुहिक विश्वास, सम्पती, खेलाडी र सुशासन प्रतिवद्धता भन्ने एजेण्डासहित गत निर्वाचनमा होमिएको उल्लेख गरे । यही सूत्रमा निर्वाचित भएपनि त्यसअनुरूप काम गर्न नसकिएको उनको भनाइ छ ।
खेलाडी र समर्थकहरू लिग गर्न मागसहित एन्फामा आएपनि नेतृत्व भागिरहेको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप छ । उनले आफूहरूको जानकारी बिना नै ठूलो रकमको खेल सामग्री खरिद गरेको बताएका छन् । विश्वकप क्वालिफायरअन्तर्गत नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । होम म्याच भए पनि नेपालले बहराइनको भूमिमा नै त्यो खेल खेलेको हो । तर खेलको टिकट विक्रीबाट उठेको २० हजार डलर अहिलेसम्म नेपालीलाई प्राप्त नभएको एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का बताउँछन् । त्यसैले एन्फामा अहिले सुशासन कायम हुन नसकेको उनको आरोप छ ।
साथै उनले फिफाले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ पनि नहटेको उनी बताउँछन् । एक लाखभन्दा मुनिको रकम मात्र एन्फाले खर्च गर्न पाउने र त्योभन्दा माथिको रकमका लागि फिफाबाट स्विकृति लिनुपर्ने अवस्था खेपिरहेको एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले उल्लेख गरेका छन् । उनले जसरी पनि शहीद स्मारक ‘ए’ लिग गर्नुपर्ने औंल्याएको छ । लिग आयोजनाको दायित्व आफूहरूको पनि रहेकाले यसको आयोजना गर्नबाट नभाग्ने बताउँछन् । लिगको तयारी गर्नुपर्ने अवस्थामा अध्यक्ष नेम्बाङ विदेश पलायन भएको उनले उल्लेख गरे । यदि फुटबलप्रति आस्था र चिन्ता नभए राजीनामा दिन पनि उनले आग्रह गरेका छन् ।
अध्यक्षले बाटो खुला गरिदिए आपूmहरू त्यसमा काम गर्न तयार रहेको वरिष्ठ उपाध्यक्ष खड्काको दाबी छ । आफ्नो नेतृत्वमा पछिल्लो लिग गरेको र यसपल्ट पनि लिग गर्न तयार रहेको उनी बताउँछन् । आफूले काम गर्न नसकेको अवस्थामा फुटबल छाड्न तयार रहेको वरिष्ठ उपाध्यक्ष खड्काल बताए । उनले लिगको तयारीका लागि क्लवलाई पनि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । बाधा फुकुवा गर्न नसके अर्ली चुनाव गर्नुपर्ने उनको धारणा छ ।
एन्फाका सदस्य रोबिन चन्दले पनि आफू रहेको समितिबाट बजेटबारे कुनै छलफल पनि नगरेको बताएका छन् । उनले वर्तमान लिगको संरचना पनि परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । पटकपटक आवाज उठाउँदा पनि सुनुवाई हुन नसकेको उनको आरोप छ । एन्फाले आन्तरिक श्रोत जुटाउन नसक्दा नै लिग गर्न नखोजिएको उनी बताउँछन् । आफूलाई बाइपास गरेर एन्फा नेतृत्वले काम गरिरहेको उनले बताए ।
उक्त पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्य रूपेश अधिकारी उपस्थित थिए । उनीहरूले लिग गराउने विषयमा आफूहरू सबै एक हुने पनि धारणा राखेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच