समाचार सारांश
-
मुख्यमन्त्री सतिश कुमार सिंहले आज दिउँसो १ बजे मधेस प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ।
-
उहाँ अल्पमतमा रहनुभएको छ, किनभने जनमत, कांग्रेस, एमाले र लोसपाले समर्थन फिर्ता लिइसकेका छन्।
-
जेन–जी आन्दोलनपछि सिंहले राजीनामा घोषणा गरे पनि लिखित राजीनामा दिन अस्वीकार गर्नुभएको थियो।
-
कांग्रेस, एमाले र जनमत पार्टीहरूले कृष्णा यादवलाई मुख्यमन्त्री बनाउन ५८ सदस्यको समर्थनसहित दाबी प्रस्तुत गरिसकेका छन्।
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तय भएको छ ।
प्रदेशसभा सचिवालयले आइतबार जारी गरेको सूचनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा नेपालको संविधानको धारा १८८ (२) र प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ (४) बमोजिम बैठक आह्वान गरिएको उल्लेख गरिएको छ ।
जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बन्नुभएका सिंह अहिले स्पष्ट अल्पमतमा रहनुभएको छ । उहाँलाई आफ्नै पार्टी जनमतका साथै नेपाली कांग्रेस, नेकपा एमाले र महन्थ ठाकुर नेतृत्वको लोसपाले समेत समर्थन फिर्ता लिइसकेका छन् । यद्यपि यस्तो परिस्थितिमा पनि मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि प्रदेशसभा जाने तयारी गर्नुभएको हो ।
गत भदौ २३ र २४ गते जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको थियो । तर, परिस्थिति सामान्य भएपछि उहाँले लिखित राजीनामा नदिने निर्णय गर्नुभएको हो ।त्यसपछि जनमत पार्टीले आफ्ना मुख्यमन्त्रीमाथि समर्थन फिर्ता लिएर संसदीय दलमार्फत कारबाहीको सिफारिससमेत गरेको थियो ।
यसबीच, मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच सहमति बनेको छ । ती दलहरूले संयुक्त रुपमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री नियुक्त गर्न ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबीपत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच