तेह्रथुम । तेह्रथुम जिल्लामा पछिल्लो समयमा सामुदायिक विद्यालयहरूमा सञ्चालित बालकक्षा व्यवस्थित बन्दै गएका छन्। तीनदेखि चार वर्ष उमेर समूहका बालबालिकालाई विद्यालय जाने बानी बसाल्न स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घ–संस्थाको साझेदारीमा आवश्यक शैक्षिक सामग्रीसहित बालकक्षा कोठा आकर्षक बनाउन विद्यालयहरू जुटेका छन्।
विद्यालयको बालकक्षालाई हेर्न, सुन्न र खेल्दै पढ्ने वातावरणसहित सजाएपछि बालबालिका पनि खुशी देखिएका विद्यालयहरूले जनाएका छन्। छथर गाउँपालिका–२ खैरेनीस्थित जनज्योति आधारभूत विद्यालयको बालकक्षामा शैक्षिक सामग्रीले बालबालिका प्रफुल्ल हुने गरी सजावट गरिएको छ। बसाइ व्यवस्थापनसँगै बालबालिकालाई खेल्दै–पढ्दै गर्ने वातावरण मिलाइएपछि बालमैत्री कक्षाकोठा तयार गरिएको विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्काले जानकारी दिनुभयो।
उनका अनुसार विद्यार्थीहरूलाई सरल र सहज तरिकाले सिक्ने अवसर मिलेको छ। पहिले चकको प्रयोग गर्दा शिक्षक र विद्यार्थी दुवैको स्वास्थ्यमा असर पर्ने गरेको भए पनि अहिले प्रविधिसँगै सिकाइ र कक्षा व्यवस्थापन सहज बनेको बताउनुभयो।
हाल उक्त विद्यालयको बालकक्षामा तीनदेखि चार वर्ष उमेर समूहका १३ जना बालबालिका अध्ययनरत छन्। त्यस्तै, छथर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको बालकक्षा पनि त्यति नै आकर्षक र व्यवस्थित बनेको छ। स्मार्ट टिभीद्वारा प्रत्यक्ष हेरेर सिक्ने वातावरण निर्माणसँगै आवश्यक शैक्षिक सामग्रीको राम्रो व्यवस्था भएपछि बालबालिका देखेर–हेरेर सिक्ने गरेका छन्।
पहिले पेन्सिल समाउन सिकाउँदै लेख्न सिकाउनुपर्ने अवस्था रहे पनि अहिले स्मार्ट टिभी र भित्तामा लेखिएका अक्षरहरूको माध्यमबाट सजिलै सिक्न थालेको शिक्षक टिका गुरुङले बताउनुभयो।
स्थानीय सरकारले सामाजिक सङ्घ–संस्थाको साझेदारीमा बालकक्षालाई पहिलो प्राथमिकतामा राख्दै व्यवस्थित र बालमैत्री बनाउँदै आएको छ। गीत, चित्र, कथा, खेल र नाचगानमार्फत सिर्जना गरिएको रमाइलो वातावरणले बालबालिकामा विद्यालयप्रतिको आकर्षण बढाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…