काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकादेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘वरिष्ठ बलराम’को सार्वजनिक गीत ‘न्यौली वनैमा’ यतिबेला चर्चामा छ । प्रशान्त शिवाकोटीको शब्द र संगीतमा तयार भएको गीत ‘न्यौली वनैमा’ मा प्रशान्त शिवाकोटी र शान्तीश्री परियारको स्वर छ । गीतले विशेषगरी टिकटक र युट्युबमा लोकप्रियता हासिल गरिरहेको छ । सार्वजनिक भएको दुई साता नपुग्दै गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज पाएको छ ।
गीतमा विजय बराल र समृद्धि अर्याल युगल प्रेमीको भूमिकामा देखिन्छन्, जसमा शंकाबीच प्रेम र सहमतिको कथा प्रस्तुत गरिएको छ । विशेषगरी विजय बरालको अभिनय र नृत्यले दर्शकबाट अत्यधिक प्रशंसा पाइरहेको छ ।
यसैबीच, चलचित्रको ट्रेलरले चार दिनमै १३ लाख ९६ हजारभन्दा बढी भ्युज पाउँदै सकारात्मक चर्चा बटुल्न सफल भएको छ । ट्रेलरमा देखिएको दयाहाङ राई र विजय बरालबीचको टकरावले दर्शकलाई आकर्षित गरेको छ । दयाहाङको फरक गेटअप र दुवै कलाकारको दमदार अभिनयले दर्शकलाई प्रभावित बनाएको छ । चलचित्र सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको हो । कथा र सम्पादन पनि निर्देशक पौडेलकै रहेको चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको हो ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।
आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुनुहुन्छ । राम विष्ट लाइन प्रोड्युसर रहनुभएको छ । चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन र प्रशान्त शिवाकोटीको संगीत छ । चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच